पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना नलागेपछि स्याङ्जाका किसान चिन्तित

 कात्तिक १६, २०७९ बुधबार १८:१६:१९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना (बाला) नलागेपछि स्याङ्जाकाे वालिङका किसान चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ हुल्काङका किसानले यस वर्ष लगाएका उन्नत जातको धान 'यूएस ३१२' मा दाना नलागेको हो । 

राम्रो फल्ने भन्दै एग्रोभेटबाट बिउ ल्याएर रोपेको धानमा दाना नलागेपछि किसान चिन्तित बनेका हुन् । यसअघि स्थानीय जानको धान लगाउँदै आएका यस क्षेत्रका किसानले धेरै फल्ने आशमा यसपालि 'यूएस ३१२' धान रोपेका थिए । 

किसानले १७ रोपनी खेतमा लगाएको धानमा दाना नै लागेको छैन । अन्य जातका तुलनामा दोब्बर फल्ने र हावाहुरीमा पनि बाेट नढल्ने भन्दै आफूहरूले त्याे धान लगाएको किसान घनश्याम डुम्रेले बताउनुभयाे ।उहाँले चार रोपनी खेतमा त्याे धान लगाउनुभएको छ । यस्तै रामप्रसाद डुम्रेको तीन रोपनी, टेकप्रसाद डुम्रेको सात रोपनी र धनमाया डुम्रेको तीन रोपनी खेतमा लगाइएको धानमा दाना नलागेको हो । परालमात्रै भए पनि काटेर सुकाएकाे र अब वर्षभरि कसरी गुजारा गर्ने भन्ने चिन्ता बढेकाे धनमाया डुम्रेले गुनासाे गर्नुभयाे । 

वालिङ नगरपालिका कृषि शाखाका प्राविधिक केशबहादुर थापाका अनुसार 'यूएस ३१२' जातको धान उपल्लो भेगमा फल्दैन । याे जातकाे धानले तराई, भित्री मधेस, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिने उहाँले बताउनुभयाे । समुद्री सतहबाट सात सय मिटरको उचाइसम्म राम्रो फल दिने याे जातको धान अग्लो ठाँउमा लगाइएका कारण नफलेको हुन सक्ने उहाँले बताउनुभयाे । 

ढिलो धान रोप्नु र लगातार पानी परेका कारण धानमा दाना नलागेको थापाको भनाइ छ । धानमा दाना नलाग्नुको अन्य कारणबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

कुन ठाँउमा कुन धान लगाउने भन्ने ज्ञानको अभावमा किसान मर्कामा परेको वालिङ वडा नम्बर १४ का अध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो । मारमा परेका किसानलाई आवश्यक राहत उपलब्ध गराउनका लागि धानको बिउ बेच्ने एग्रोभेट तथा सरकारी निकायसँग समन्वयको काम भइरहेको उहाँले बताउनुभयाे । वडाध्यक्ष कुँवरसहितको प्राविधिक टोलीले किसानकाे खेतमै नै गएर नमुना सङ्कलन गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया