स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फूल बिक्रीबाट राम्रो आम्दानी

 कात्तिक १७, २०७९ बिहिबार १०:१८:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेको छ । यस गाउँपालिकामा तिहारलाई लक्षित गरी फूल खेती गरिएको थियो ।

गाउँपालिकाले फूलखेतीका लागि अनुदान उपलब्ध गराएको छ । तिहारका लागि फूल किन्न व्यापारी गाउँमा नै पुगेका थिए । यसअघि माला खरिद गर्ने किसानले गएको वर्षदेखि आफैँले फुलाएको फूल उपयोग गर्नुको साथै विभिन्न ठाउँमा बिक्रीका लागि समेत पठाएका छन् ।

गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उद्देश्यले सयपत्री रोपण अभियान नै चलाएको अध्यक्ष खीमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाका १५ ठाउँका झण्डै ६० रोपनी क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । ११ जनाले व्यक्तिगत रुपमा, होमस्टे एक र तीन वटा महिला समूहले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । फूल खेतीका लागि पालिकाकाे ५० प्रतिशत अनुदान रहेको थापाको भनाइ छ । 

निरन्तरको वर्षा र तिहार छिटो परेकाले फूल फुल्ने क्रम ढिलो भए पनि किसानले राम्रो आम्दानी गरेका कालीगण्डकी गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो । तिहारको समयमा फूल बिक्रीबाट मात्रै पालिकामा ८ लाख रुपैयाँ भित्रिएको छ । 

फूलखेतीमा आम्दानी हुने देखेर सुरु गरेको अभियान सफल भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । सिप र जाँगर भराउन पालिकाले सहयोग गरिरहेको उहाँको भनाइ छ । यसबाट किसान आत्मनिर्भर बनेका छन् ।

सयपत्री फूलबाट कम समयमा राम्रो आम्दानी लिन सकिन्छ । विभिन्न चाडपर्व, पूजा, कर्मकाण्ड र विवाहमा पनि सयपत्रीको माग धेरै हुने भएकाले चासो बढाएको गाउँपालिकाले जनाएको छ । गएको वर्षसम्म खाली र उपयोगविहीन जग्गा अहिले फूलले रङ्गीन बनेका छन् ।

किसानले फूलरोपण सम्बन्धी ज्ञान पाएका छन् । बेरोजगार युवालाई आयआर्जन र होमस्टेका लागि प्रयोग हुने फूल उत्पादन गर्न सहज बनेको छ । चिसो हावापानी र घमाइलो ठाउँ भएकाले फूलखेती निकै राम्रो भएको छ ।

एउटा बाेटबाट सामान्यतयाः दुई वटा माला बन्ने फूल फुलेकाे किसानको भनाइ छ । कालीगण्डकी गाउँपालिकामा उत्पादित फूल र माला बुटवल, पोखरा र स्थानीय बजारमा बिक्री गरिने गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । पालिकाले कर्मा ५ सय ५५ जातको सयपत्रीको बिउ ल्याएर जमाएर रोपेको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया