सुनसरीमा चार क्षेत्र : गच्छदार र चौधरीको प्रतिस्पर्धा रहेको क्षेत्र बढी चर्चामा

 कात्तिक २१, २०७९ सोमबार १०:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीमा प्रतिनिधि सभाका लागि चारवटा क्षेत्र रहेकोमा क्षेत्र नम्बर १ मा एमाले–जसपाबाट अशोक राई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी पुनः प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियत प्रतिस्पर्धामा छन् । चारवटा क्षेत्रमध्ये पनि सुनसरी ३ को चर्चा धेरै छ ।

सुनसरी ३ मा तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरी चुनावी मैदानमा छन् । २०७० र ०७४ को चुनावमा पनि उनीहरूबीच नै प्रतिस्पर्धा भएको थियो। ०७४ मा गच्छदारले चौधरीलाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो । गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीको ३८ हजार ६ सय ५१ मत आएको थियो । गच्छदार कांग्रेसका पुराना हस्ती मानिनुहुन्छ । गच्छदार ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारमा मुछिएकाले एमालेले यसलाई चुनावी मुद्दा बनाउने भएको छ । 

२०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छोडे पनि उहाँको मुद्दा किनारा लागेको छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा कांग्रेस एक्लैले चुनाव जितेका कारण गच्छदार यसपटक गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा हुनुहुन्छ । २०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदारले यसपटक पनि चुनाव जितेर आफू ललिता निवास जग्गा प्रकरणमा निर्दोष रहेको देखाउन खोज्नुभएको छ । ‘एमाले सरकार रहँदा फसाइएको र नागरिकको अभिमतबाट पुनः निर्वाचित भएपछि आफू निर्दोष रहेको पुष्टि गर्नका लागि पनि चुनाव जित्ने तयारीमा रहेको’ बताउँदै आएका गच्छदार अहिले निर्वाचन क्षेत्रमै खटिरहनुभएको छ ।

गच्छदार २०४८ पछि निरन्तर सत्ता र शक्तिमा रहने नेतामध्येमा पर्नुहुन्छ । २०४८ मा नेपाली कांग्रेसबाट चुनाव जितेका उहाँ सञ्चार राज्यमन्त्रीबाट सरकारमा सहभागी हुनुभएको थियो ।  १२ पटक मन्त्री बनेका गच्छदारले धेरैपटक चाहिँ भौतिक योजना तथा निर्माण मन्त्रालयको नेतृत्व सम्हाल्नुभयो । गच्छदारसँग पाँचपटक उपप्रधानमन्त्री बनेको अनुभव छ । 

उहाँ सुनसरीबाट २०४८, ०५१ र ०५६ को संसदीय चुनाव, ०६४ र ०७० को संविधान सभा चुनाव र ०७४ मा सङ्घीय संसदमा  विजयी हुनुभएको थियो । कांग्रेसबाट राजनीतिमा उदाएका गच्छदारले २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा  फोरम (लोकतान्त्रिक) बाट चुनाव जित्नुभएको थियो ।

गच्छदार २०६४ मा फोरम प्रवेश गर्नुभएको थियो । फोरममा रहँदा पनि उहाँले उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी पाउनुभएको थियो । ०७४ मा कांग्रेसमा फर्किएका उहाँले कांग्रेसबाटै चुनाव जित्नुभएको थियो । 

३१ वर्षदेखि उही अनुहार दोहोरिएका कारण कांग्रेसका नयाँ पुस्ता भने दिक्क छन् । पछिल्लो समय गच्छदारको प्रभाव घट्दै गएको छ । सुनसरी ३ मा गच्छदारका पुराना सहयोग प्रदीप चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि उहाँलाई असर गर्ने सङ्केत देखिएको छ । 

एमालेकी भगवती चौधरीले भने गच्छदारलाई इङ्गित गर्दै केही हप्ताअघि भन्नुभएको थियो ‘नागरिकको मतलाई सुरक्षित रूपले गन्न नदिने काम गरियो भने त्यसको परिणाम अथवा जवाफ दिनको लागि हामी तयार छौँ, गोली नै ठोक्नुपर्‍यो भने छुरै हान्नुपर्‍यो भने भगवती चौधरी त्यो पनि तयार छु ।’

उहाँ यसपटक जसरी पनि चुनाव जित्ने कसरतमा हुनुहुन्छ । त्यसैले पार्टीको प्रतिष्ठा र आफ्नो इज्जतका लागि भए पनि चौधरीले विगतमा गरेका कामको प्रचार गर्दै आउनुभएको छ । तर चौधरीको प्रभाव पनि अघिल्लो चुनावभन्दा घटेको छ । भगवतीले कार्यकर्तालाई सङ्गठित नगरेको र सम्मान नगरेको भन्दै एमालेभित्रकै कार्यकर्ता रुष्ट छन् । 

सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा धेरैजसो ग्रामीण भेग पर्छ । यहाँ आर्थिक अवस्था कमजोर र चौधरी समुदायको बाहुल्यता छ । धेरैजसो नागरिक मजदुरी पेसामा निर्भर छन् । १ लाख २५ हजार ४ सय ३२ मतदाता रहेको यो क्षेत्रमा इटहरीको ६ देखि १५ नं. वडा, दुहबीका १ देखि १२ (सबै वडा), बर्जु गाउँपालिकाका सबै वडा, गढी गाउँपालिकाका १ देखि ६ (सबै वडा) इनरुवा नगरपालिकाको ७ नम्बर वडा समावेश छन् । 

यीमध्ये इटहरी उपमहानगर, दुहबी नगरपालिका र इनरुवा नगरपालिकामा गएकाे स्थानीय चुनावमा नेपाली कांग्रेस विजयी भएको छ भने बर्जु र गढी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया