स्याङ्जा–२ मा धनराज र पद्माबीच राेचक प्रतिस्पर्धा, कसको अवस्था कस्तो ?

 कात्तिक २३, २०७९ बुधबार ९:२३:९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेबाट सचिव पद्माकुमारी अर्याल उम्मेदवार बन्नुभएको छ । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी प्रतिस्पर्धा छन् । 

कांग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापति बन्नुभएका गुरुङका लागि संसदीय चुनावमा याे पहिलाे प्रतिस्पर्धा हो । २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बन्नुभएको थियो । 

राष्ट्रियताको पक्षमा लिने अडान र भ्रष्टाचारविरुद्धको सक्रियताले गुरुङ निकै लाेकप्रिय रहनुभएको छ । अर्का नेता गोपालमान श्रेष्ठ समानुपातिकको बन्दसूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नुपरेन । अर्काेतर्फ उहाँ केन्द्रीय उपसभापतिसमेत भएकाले टिकटका अन्य प्रतिस्पर्धी सहजै पाखा लागेका हुन् । 

एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल २०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेसका नेता एवम् त्यतिबेलाका बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चामा आउनुभएको थियो । उहाँ केपी ओली नेतृत्वकाे सरकारमा भूमि सुधार र कृषि तथा पशुपक्षी मन्त्री बन्नुभएको थियो । पद्मा भूमिसुधार मन्त्री रहेको समयमा नेपालको नयाँ (चुच्चे) नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ पनि नापिएको थियो । 

मन्त्री हुँदा जिल्लाको विकासमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अर्यालको आलोचना हुने गरेको छ । अर्यालले मतदानका लागि आह्वान गर्दै सामाजिक सञ्जालमा गर्ने चुनावी पोस्टकाे कमेन्टमा आउने गरेका टिप्पणीले पनि यसलाई पुष्टि गर्दछ । 

गुरुङ र अर्याल दुवै जना पटक–पटक सांसद पुगे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । 

गएकाे वर्षको मङ्सिरमा चितवनमा भएको महाधिवेशनबाट अर्याल एमाले सचिव बन्नुभएको हो । त्यसअघि उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । एमाले स्याङ्जाको अध्यक्षसमेत बनेर काम गरिसक्नुभएकाे अर्याल छोटो समयमा राजनीतिक उचाइ प्राप्त गर्ने नेतामध्ये पर्नु हुन्छ । 

केही समय अघिसम्म अर्याल समानुपातिकमा बस्ने र अर्काे व्यक्तिलाई चुनावमा उठाउने चर्चा थियो तर पदाधिकारी अनिवार्य प्रत्यक्ष चुनावमा उठ्नुपर्ने नीति पार्टीले बनाएपछि उहाँ चुनावी अभियानमा लाग्नुभएको एमाले नेताको भनाइ छ । यसअघि चुनाव जितेको, पार्टी पदाधिकारी र महिला उम्मेदवार भएका कारण पार्टीबाट उहाँ नै याे क्षेत्रको उम्मेदवार बन्नुभएको हो ।

विगतमा स्याङ्जालाई कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र राज गरेको यो क्षेत्रमा २०७४ सालको चुनावमा एमालेले जित निकालेको थियो । कांग्रेसको आन्तरिक विवाद र टिकट वितरणमा समस्या देखिदा यसले याे क्षेत्रमा हार बेहोर्नुपरेको कांग्रेसकै नेताहरू बताउँछन् । अर्काेतर्फ एमाले र माओवादीको तत्कालीन तालमेलका कारण २०७४ सालको प्रतिनिधि सभामा स्याङ्जाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो । 

पद्मा अर्यालले ३५ हजार एक सय ४२ मत प्राप्त गर्दा गोपालमान श्रेष्ठले ३१ हजार चार सय ३६ मत प्राप्त गर्नुभएको थियो । तीन हजार सात सय छ मतान्तरले पद्मा विजयी हुनुभएको हो । 

२०७९ सालसम्म आइपुग्दा पाँच वर्षअघिको समीकरणमा फेरबदल भएको छ । एमाले विभाजनको असर यस क्षेत्रमा पनि देखिएको छ । पालिका चुनावकाे मत परिणामअनुसार स्याङ्जामा एमाले दोस्रो स्थानमा छ । पद्मा अर्यालकै जन्मथलो वालिङ नगरपालिका १४ मा अहिले समाजवादीको पकड राम्रो छ । याे वडामा कांग्रेसले वडाध्यक्ष र चार वटै सदस्य जित हात पारेको थियाे । कांग्रेसबाट वडाध्यक्ष जित्नुभएका राजु कुँवरले झन्डै आठ सय मतान्तरले एमालेबाट वडाध्यक्षका उम्मेदवार कृष्ण डुम्रेलाई पछि पार्नुभएको थियाे ।  

गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा वडा तहको मतको आधारमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार आठ सय ६ मत पाउँदा एमालेले ३४ हजार आठ सय नाै मत पाएको छ । माओवादीको एक हजार दुई सय ४३ र राप्रपाको पाँच सय ११ र नेकपा समाजवादीको एक हजार दुई सय ३३ मत रहेको छ । 

यो हिसाबमा हेर्दा गठबन्धनका उम्मेदवार अर्थात् कांग्रेसका धनराज गुरुङ अगाडि हुनुहुन्छ । पद्मा आफ्नो जित दोहाेर्‍याउने दाउमा हुनुहुन्छ भने धनराज इतिहास रच्ने दाउमा हुनुहुन्छ । 

याे क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेकपा एसको मत निर्णायक रहेको माओवादीका जिल्ला संयोजक प्रकाश न्यौपानेले बताउनुभयो । सत्ता गठबन्धनकातर्फ हुँदा पालिका चुनावमा जिल्लामा गरेको सशक्त प्रदर्शन र कांग्रेसको हाराहारी मत रहे पनि चुनाव जित्न पद्माका लागि चुनौती छ । 

मंसिर ४ गते हुने चुनावमा पार्टीका केन्द्रीय पदाधिकारीलाई जिताउने चुनौती भने जिल्लाका नेताहरूको काँधमा देखिएको छ । क्षेत्र नं २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • शिव लामिछाने

    Nov. 10, 2022, 3:25 a.m.

    व्यात्तिगत सम्बन्ध अनुसारको समाचार,सत्यता सुन्यप्राय।

  •  0 Reply

तपाईको प्रतिक्रिया