अन्न र मल निर्यातबारे संयुक्त राष्ट्र सङ्घ र रुसबीच छलफल

 कात्तिक २५, २०७९ शुक्रबार १९:४३:५४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले आज शुक्रवार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि 'ब्ल्याक सी' सम्झौतामा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौतामध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ ।  

संयुक्त राष्ट्र सङ्घ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्र सङ्घ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रुसी उप–विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।  

संयुक्त राष्ट्र सङ्घका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रहेको संयुक्त राष्ट्र सङ्घको प्यालेस डेस नेसन्सको मुख्यालयमा वार्ता भइरहेको पुष्टि गर्नुभएको छ । ‘उनीहरूले जुलाई २२ मा इस्तानबुलमा हस्ताक्षर गरेका दुई मुख्य सम्झौताको पूर्ण कार्यान्वयनका लागि महासचिव एन्टोनियो गुटेरेसको प्रयासको समर्थनमा थप परामर्श जारी राख्नेछन्’, उहाँले भन्नुभयो । 

‘यो आशा छ कि छलफलले रुसी सङ्घबाट विश्व बजारमा उत्पन्न हुने खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहज बनाउनका लागि भएको प्रगतिलाई अगाडि बढाउनेछ’, वार्तापछि सार्वजनिक टिप्पणीमा यो कुरा सार्वजनिक गरिएको छ। 

एक करोड बीस लाख टन निर्यात 

संयुक्त राष्ट्र सङ्घ र टर्कीले मध्यस्थता गरेका दुई सम्झौता जुलाई २२ मा हस्ताक्षर गरिएको थियो । युक्रेन–रूस युद्धले रोकिएको भएको युक्रेनी अन्नको निर्यातलाई अनुमति दिन र युक्रेनमा आक्रमण गरेपछि मस्कोमा पश्चिमी प्रतिबन्धहरूको बाबजुद रुसी खाद्यान्न र मलको निर्यात गर्न यो सम्झौता गरिएको थियो ।  

एक सय २० दिने ब्ल्याक सी ग्रेन इनिसिएटिभ नोभेम्बर १९ मा समाप्त हुँदैछ र संयुक्त राष्ट्र सङ्घले एक वर्षको लागि सम्झौता नवीकरण गर्न खोजिरहेको छ । यद्यपि मस्कोले त्यसमा सहमति जनाउने वा नजनाउनेबारे केही बताएको छैन ।

तीन वर्षसम्म चल्ने गरी आफ्नो मलमा छुट दिने दोस्रो सम्झौताको पनि पालना नभएको गुनासो छ । युक्रेन विश्वको शीर्ष अन्न उत्पादकहरूमध्ये एक हो र रुसी आक्रमणले सुरक्षित मार्ग सम्झौता नभएसम्म यसको बन्दरगाहहरूमा दुई करोड टन अन्नको निर्यात रोकिएको थियो ।  

हिजो बिहीवारसम्म सम्झौताअन्तर्गत युक्रेनबाट एक करोड २० लाख टन अन्न र अन्य खाद्यान्न निर्यात गरिएको छ जसले विश्वव्यापी खाद्य सुरक्षा सङ्कटको गहिरो हुँदै गएको डरलाई कम गरेको टिप्पणी गरिएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले यो सम्झौता नवीकरण नभए विश्वव्यापी खाद्य सुरक्षाका लागि गम्भीर असर पार्ने बताएको छ । ‘हामीले यसलाई खाद्यान्न उपलब्धतामा सुधार ल्याएको एउटा महत्त्वपूर्ण पहलका रूपमा हेरेका छौँ’, एफएओको बजार तथा व्यापार विभागका निर्देशक बौबेकर बेन–बेलहासेनले भन्नुभएको छ ।   

निर्देशक बेन–बेलहासेनले रोमबाट भिडियो लिङ्कमार्फत पत्रकारहरूलाई सम्झौता नवीकरण नभए गम्भीर असर पर्ने र त्यस्को असर कसैले देख्न नचाहेको पनि बताउनुभएको छ । उहाँले विशेष गरी विश्वव्यापी खाद्य सुरक्षा, मूल्य, उपलब्धता र खाद्यान्नको अवस्थाबारे गम्भीर टिप्पणी गर्नुभएको छ ।   

बेन–बेलहासेनले छोटो अवधिमा विशेष गरी गहुँ, मकै र सूर्यमुखीको तेलको मूल्य बढ्ने र विश्व बजारमा अन्नको उपलब्धतामा व्यापक गिरावट आउने बताउनुभएको छ । मध्य पूर्व र उत्तर अफ्रिकामा विशेष गरी कृष्ण सागर आयातमा निर्भर देशहरूमा यसको ठूलो प्रभाव पर्ने उहाँको दाबी छ । 

बेन–बेलहासेनले सम्झौताहरू नवीकरण नगरे युक्रेनभित्रै पनि असर पर्ने चेतावनी पनि दिनुभएको छ । युद्धग्रस्त देशका किसानहरूलाई भविष्यको लगानी र अर्को बाली लगाउन र राजस्व प्रवाहमा पनि सम्झौता नवीकरण नभए गम्भीर दबाब पर्ने उहाँले बताउनुभएको छ ।  

जारी रुस–युक्रेन युद्धले विश्वव्यापीरूपमा खाद्यान्न र ऊर्जाको गम्भीर सङ्कट देखिएको छ । यो सङ्कटलाई कम गर्न संयुक्त राष्ट्र सङ्घले छलफललाई तीव्रता दिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया