बर्दिया–१ : गठबन्धनबाट कांग्रेसका गौतम र एमालेबाट ज्ञवालीबीच प्रतिस्पर्धा

 कात्तिक ३०, २०७९ बुधबार १३:५८:३२ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेता तथा लुम्बीनी प्रदेश सहइन्चार्ज/जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली र कांग्रेसका नेता तथा पूर्व सिँचाइ मन्त्री सञ्जयकुमार गौतम प्रतिस्पर्धामा हुनुहुन्छ ।

वि.स.२०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई सञ्जयकुमार गौतमले ७ सय ५३ मतान्तरले हराउँदै जित हात पार्नुभएको थियो । यस्तै उहाँले २०७० को चुनावमा पनि जित्नुभएको थियो । अहिले फेरि सञ्जयकुमार उम्मेदवार बन्नुभएको छ । 

यसपटक भने कांग्रेसका गौतम र नेकपा एमालेका लक्ष्मण ज्ञवालीबीच प्रतिस्पर्धा हुने देखिन्छ । उसो त नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, स्वतन्त्र लगायतका पार्टीका उम्मेदवारहरु पनि चुनावी प्रतिस्पर्धीका रुपमा उत्रिएका छन् ।

यसअघिको प्रतिनिधिसभा चुनावमा निर्वाचित हुनुभएका सञ्जयकुमार गौतमको उम्मेदवारीले बर्दिया क्षेत्र नम्बर १ मा चुनावी परिणामलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । सत्ता गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमसँग नेकपा एमालेका लक्ष्मण ज्ञवाली पनि कमजोर प्रतिस्पर्धी नभएको स्थानीय मतदाताहरु बताउँछन् । 

यस क्षेत्रमा यी दुवै जना उम्मेदवारको आलोचना र प्रशंसा दुवै छ । कतिपयले गौतम विरुद्ध विगतका चुनावमा दिएको आश्वासन पूरा नगरेको आरोप लगाउने गरेका छन् । तर राजनीतिक अस्थिरताले विकासमा केहि पछि परे पनि बर्दियामा बाढी र कटान नियन्त्रणका लागि धेरै काम भएकाले आफूले जित्ने दाबी गर्नुहुन्छ सञ्जयकुमार । पालिका चुनावका आधारमा सत्ता गठबन्धनको मत र मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मतलाई हेर्दा धेरै फरक भएकाले पनि यसपटक आफू जित्नेमा उहाँ ढुक्क हुनुहुन्छ । 

त्यस्तै आँकलन छ, नेकपा एमालेको पनि । ‘अबको चुनावमा प्रतिस्पर्धा भनेकै गठबन्धन र एमालेबीच हो । तर सत्ता गठबन्धन पछाडि छ’, एमालेका लक्ष्मण ज्ञवालीले भन्नुभयो । बर्दियाका विकास निर्माणका समस्या समाधान गर्दै बबई नदीको जब्दीघाटमा पुल र तटबन्धन गर्न, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न, जनताको घरवासको व्यवस्था लगायत काम गर्न आफ्नो उम्मेदवारी भएकाले आफूलाई मतदाताले जिताउने उहाँको दावी छ ।

प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसबाहेक नागरिक उन्मुक्तिबाट ठाकुरसिंह थारु, राष्ट्रिय स्वतन्त्रबाट प्रवेश भुसाल, राप्रपाबाट सूर्यबहादुर सिंह, जनमतबाट सोहराव पठान, जनता समाजवादीबाट रेशम बहादुर खत्री, नेश्नलिष्ट पिपल्सबाट रामरतन थारु, नेमकिपाबाट हरिलाल न्यौपाने र स्वतन्त्रबाट देवीप्रसाद तिवारी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै प्रदेशसभातर्फ बर्दिया क्षेत्र नम्बर १ को १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट भुवनेश्वर थारु, नेकपा एमालेबाट शालिकराम अधिकारी, नागरिक उन्मुक्तिबाट खेमबहादुर थारु, समाजवादीबाट दिलबहादुर केसी, राप्रपाबाट रामलाल बुढाथोकी लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा पनि प्रदेशसभामा सत्ता गठबन्धन र नेकपा एमाले पार्टीबीच कडा प्रतिस्पर्धा देखिन्छ । 

यस्तै, प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट अन्जु दहित, नेकपा एमालेबाट भक्तबहादुर बिक, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, राप्रपाबाट दत्ते थारु, स्वतन्त्रबाट सुभाष पोखरेल लगायतका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । 

बर्दियामा प्रतिनिधिसभा तर्फ २ र प्रदेश सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेका छन् । बर्दियामा ३ लाख १५ हजार २ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । पालिका तह चुनावपछि बर्दियामा तीन  हजार ८ सय ७४ नयाँ मतदाता थपिएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा १९३ र क्षेत्र नम्बर २ मा १८३ गरि कुल ३७६ मतदान केन्द्र रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया