काठमाण्डौ ७ र ८ : एमाले र गठबन्धनलाई स्वतन्त्रको चुनौती

 कात्तिक ३०, २०७९ बुधबार १७:६:५१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

चुनाव प्रचारप्रसारको समय बिहीवारदेखि सकिँदैछ । यसकारण पनि उम्मेदवार तथा दलका कार्यकर्तालाई घरदैलोमा पुग्न तथा मतदाता भेटेर आफ्नो पक्षमा भोट माग्न भ्याइनभ्याइ छ । काठमाण्डौका अन्य क्षेत्र झैँ ७ नम्बर क्षेत्रमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २९ जनाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी ३६ वर्षीया मानुषी यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, यसो भनिरहँदा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई पनि कम आँक्न भने मिल्दैन । मानुषी र घिमिरे दुवै यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । घिमिरे पूर्व कर्मचारी तथा मानुषी नेता बाबुराम भट्टराईको छोरी हुनुहुन्छ ।

यस क्षेत्रका निवर्तमान सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि निकै लोकप्रिय मानिनुहुन्छ । पहिले यसै क्षेत्रमा काम गर्दा राम्रो जनमत निर्माण गरेको तथा आफ्नै जातीय भोट पनि अत्यधिक भएका कारण एमालेले टिकट नदिए पनि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । २०७० तथा २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित मानन्धर आफ्नो बलबुतामा ह्याट्रिक गर्ने सोचमा हुनुहुन्छ । यसकारण पनि यहाँ एमालेका लागि अवस्था त्यति सहज देखिँदैन । धेरैतिर मत बाँडिने कारणले उहाँका लागि अवस्था सहज बने पनि जितकै नजिक भने नरहेको एमालेका कार्यकर्ता टिप्पणी गर्छन् । यस अर्थमा पनि उहाँले राम्रै भोट ल्याउने अनुमान गरिन्छ । २०७० सालमा आमा हिसिला यमीलाई हराएका श्रेष्ठको अहिले छोरी मानुषीलाई पनि हराउने दाबी छ । तर, अवस्था भने सोचे जति सहज देखिँदैन ।

यस क्षेत्रमा आफ्नो सांगठनिक अवस्था राम्रो भएको र निरन्तर चुनाव पनि जित्दै आएकोले अहिले घिमिरेको अवस्था राम्रो भएको एमालेजनको विश्वास छ । तर, पार्टी फुटेको तथा बागी उम्मेदवार मानन्धरका कारण अवस्था सहज नरहेको सजिलै बुझ्न सकिन्छ ।

सत्तागठबन्धनकी उम्मेदवार मानुषी हिसिला यमी र बाबुराम भट्टराईको छोरी भएका कारण हुने चर्चा छँदैछ । साथै २०६५ सालमा सर्वाधिक मतसहित त्रिवि कीर्तिपुरको स्ववियु सचिव तथा राजनीतिक शास्त्रको स्नातकोत्तर प्रथम श्रेणीमा प्रथम भएका कारण पनि लोकप्रियता राम्रो छ । तर, माओवादीको कमजोर सांगठनिक प्रभाव तथा सत्तागठबन्धको भर पर्नु पर्ने कारणले अवस्था सहज देखिँदैन ।

काठमाण्डौ महानगरपालिकाको १६, १७, १८ र २५ तथा तारकेश्रर नगरपालिकाको ३, ४ र ५ साथै नार्गाजुन नगरपालिकाको १,२ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन् । ६१ हजार २ सय ९१ कुल मतदाता रहेको यस क्षेत्रमा गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतको आधारमा नेपाली कांग्रेस १४ हजार १ सय ६७ मतसहित पहिलो, एमाले १२ हजार २ सय ८२ मतसहित दोस्रो तथा एकीकृत समाजवादी ३ हजार ८ सय ३९ मतसहित तेस्रो र माओवादी ५ सय ७६ मतसहित चौथो स्थानमा रहेको छ ।

नेताहरुले आफ्नो योजना, पहिले गरेको काम अनि पालिका चुनावको मतको आधारमा आफ्नो जितको दाबी गरिरहे पनि यस क्षेत्रका मतदाताको भने आफ्नै समस्या छ । बाटो, खानेपानी र स्वास्थ्यको परम्परागत समस्या अझै समाधान नभएर सधैँ त्यही समस्या चुनावमा सुनाउने र नेताहरुले आश्वासन बाँडेर चुनाव सकिने गरेको गुनासो छ यहाँका मतदाताको ।

काठमाण्डौ वडा नम्बर १८ का समिर राई यस क्षेत्रमा समस्या त कति छ्न कति भन्नुहुन्छ । खानेपानी तथा ढलको यहाँ मुख्य समस्या रहेको र आफूले कर तिर्न जाँदा पनि भिड भएका कारण कर तिर्न नसकेको, पार्किङमा समस्या रहेको र रोजगारी नभएका कारण विदेशिनु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

यसै क्षेत्रकी विना बज्राचार्यको गुनासो पनि उस्तै छ । खानेपानी नभएका कारण जारको पानी किनेर खानुपर्ने र काम नहुँदा पैसा नभएका कारण पानीसमेत किनेर खानुपर्दा धेरै नै समस्या भएको उहाँको गुनासो छ ।

क्षेत्र नम्बर ८ मा पुराना सहकर्मीबीच प्रतिस्पर्धा, नयाँको चुनौती पनि उस्तै

यसपटक काठमाण्डौ क्षेत्र नम्बर ८ मा सत्ता गठबन्धन तथा एमालेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसमा स्वतन्त्र उम्मेदवारको चुनौती पनि सँगै छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तथा एमालेका नेता शिवसुन्दर राजवैद्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको चुनावमा एमालेका श्रेष्ठका लागि मत माग्दै हिँड्ने राजवैद्य अहिले भने प्रतिस्पर्धीको रुपमा देखिनु भएको छ । काठमाण्डौका नेवार समुदायको मुद्दा उठाउँदै चर्चित हुनु भएका सुमन सायमी पनि हाम्रो नेपाल पार्टीबाट उम्मेदवार बन्नु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । सायमी र श्रेष्ठ जीवनराम तथा राजवैद्य दुवैका लागि चुनौती बनेर देखापर्नु भएको छ ।

निवर्तमान सांसद तथा बहालवाला मन्त्रीसमेत रहेका श्रेष्ठ यस क्षेत्रमा आफूले धेरै काम गरेको र गठबन्धन पनि साथमा रहेकोले चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ । तर, एमाले कार्यकर्ता भने एकीकृत समाजवादीको आफ्नो सांगठनिक प्रभाव राम्रो नरहेको र कांग्रेसले पनि गठबन्धनलाई सोचेजस्तो भोट नदिने कारणले आफ्नो जित हुनेमा आशावादी देखिन्छन् । एमालेको संगठनका कारण श्रेष्ठले चुनाव जितेकाे र अहिले पनि एमालेको संगठन राम्रो भएका कारण राजवैद्यले चुनाव जित्ने उनीहरुको विश्लेषण छ ।

अभियन्ता तथा हाम्रो नेपाली पार्टीका उम्मेदवार सायमीका कार्यकर्ता भने अहिले सायमीको चर्चा तथा प्रचारप्रसार सुस्त रुपमा देखिए पनि काठमाण्डौ महानगरमा बालेनको जस्तो प्रभाव रहेको र मतदानको समयमा त्यो देखिनेमा ढुक्क देखिन्छन् । पुराना नेताले काम नगरेको र काठमाण्डौको सभ्यता तथा सम्पदालाई अभियानकारुपमा लिएर हिँडेका कारण पनि धेरैको रोजाइमा सायमी पर्ने उनीहरुको विश्वास छ ।

काठमाण्डौ क्षेत्र नम्बर ८ मा काठमाण्डौ महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ तथा नार्गाजुन नगरपालिकाका ४ र ५ नम्बर वडा रहेका छन् । गएको पालिका चुनावमा पाएको मत हेर्दा एमालेले १४ हजार ३ सय ३२, कांग्रेसले १२ हजार ४ सय ३२ तथा एकीकृत समाजवादीले ५ हजार ९८ छ । पालिका चुनावमा एमालेले धेरै मत पाए पनि सत्ता गठबन्धनको मत जोड्दा ३ हजार ७ सय मतले गठबन्धन अगाडि देखिन्छ । यही मतका आधारमा पनि गठबन्धन ढुक्क देखिन्छ । तर, पालिका चुनाव र संसदीय चुनावमा धेरै अन्तर रहने गर्छ । यसकारण पनि सत्तागठबन्धन र एमालेले दाबी गरे जस्तो सहज जित भने दुवैलाई नहुने देखिन्छ ।

एमाले तथा सत्तागठबन्धन आफूले गरेको कामको मूल्यांकनका आधारमा विजयी हुने दाबी गरिरहँदा ढल, खानेपानी, सार्वजनिक स्थलको संरक्षण, विकास निर्माणका कुरालाई लिएर अहिले पनि मतदाताको गुनासो भने उस्तै रहेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ की लक्ष्मी कपाली वर्षौँदेखि यहाँ खानेपानीको समस्या रहेको र मेलम्चीको पानी आउँछ आउँछ भने पनि नआएको गुनासो गर्नुहुन्छ । साथै यस क्षेत्रमा पसल राख्ने मानिसलाई कुनै सुविधा नभएको र भ्याट र करका नाममा धेरै पैसा उठाउने र कुनै सुविधा नदिने गरेकोमा उहाँ रुष्ट देखिनुहुन्छ ।

त्यस्तै यसै क्षेत्रका बासिन्दा बुद्धरत्न बज्राचार्य खानेपानी, ढल, पार्किङलगायत यहाँको नागरिकको समस्या रहेको बताउनुहुन्छ । मेलम्ची आउने भनेर पाइप राख्न लगाए पनि अहिलेसम्म पानी नआएको र यस क्षेत्रको मुख्य समस्याकारुपमा रहेको खानेपानी समस्या कसैले समाधान नगरेको उहाँको गुनासो रहेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया