ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

 मंसिर १, २०७९ बिहिबार १३:१८:५५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो ।

अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्थ्यो भने अहिले गठबन्धनको साथ राणालाई छ । यसकारण पनि राणा विजयी हुनेमा कांग्रेसका नेता कार्यकर्ताहरुको विश्वास छ ।

एमालेले यस क्षेत्रमा खानेपानी, खेलकुद मैदान र गोदावरीमा एमालेले आफ्नो विधान महाधिवेशन सम्पन्न गरेका नेपालको सबैभन्दा ठूलो सभाहल सनराइज हल निर्माण गरेको बताए पनि खानेपानी, बाटो लगायत अन्य पूर्वाधार निर्माणमा पाँच वर्षमा खासै केही नगरेको आरोप छ कांग्रेसीहरुको । यसकारण पनि सिलवालसँग वितृष्णा भएका मतहरु राणालाई आउने अनुमान छ उनीहरुको ।

तर, यसको विपरीत मजबुत जनसंगठन अनि जुझारु कार्यकर्ता साथै गठबन्धन भने पनि कांग्रेस भित्र आफैँमा गुट उपगुट र माओवादीले कांग्रेसलाई हत्पति भोट नहाल्ने पुरानो  अभ्यासले पनि एमाले विजयी हुने आधार रहेको तर्क छ एमाले कार्यकर्ताको ।

महांकाल, वाग्मती र कोन्ज्योसोम गरी ३ गाउँपालिका अनि गोदावरी नगरपालिकाको १ देखि ११ तथा १३ वडा गरी १२ वटा वडा यस क्षेत्रमा पर्छ । गएको पालिका चुनावमा यस क्षेत्रमा पालिका अध्यक्ष तथा मेयर गरी कांग्रेसले २७ हजार ५ सय ३४ मत प्राप्त गरेको छ भने एमालेले २५ हजार २ सय ७६ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाका १२ वटा वडामा कांग्रेसले ९ वटा वडा जितेको छ भने माओवादीले २ वटा तथा एमालेले एउटा जितेको छ । पालिका चुनावको यो मत अनि गठबन्धनको समीकरणका कारण पनि कांग्रेसीहरु जित सुनिश्चित भएको बताउँछन् ।

ललितपुर क्षेत्र नम्बर २ मा पहिलेका मित्रबीच प्रतिस्पर्धा

विभिन्न दलका १४ तथा स्वतन्त्र ८ गरी कुल २२ जना उम्मेदवार रहेको क्षेत्र नम्बर २ मा मुख्य प्रतिस्पर्धा भने नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमबहादुर महर्जनबीच हुने देखिन्छ ।

निवर्तमान सांसद कृष्णलाल यस पटक जित हासिल गर्दै ह्याट्रिक गर्ने सोचमा हुनुहुन्छ भने पहिले एमालेमा रहँदा सँगैका मित्र अनि कृष्णलाललाई मत माग्दै हिँडेका प्रेमबहादुर भने पुराना मित्रलाई पराजित गरी संसद जाने तयारीमा हुनुहुन्छ ।

२०५६ सालमा कांग्रेसका जगतराज शाक्यलाई पराजित गरेका कृष्णलालले २०७४ सालमा एमालेका तर्फबाट वाम गठबन्धनको उम्मेदवार बन्दै कांग्रेसका चन्द्र महर्जनलाई हराउनु भएको थियो । तर, पार्टी परिवर्तन गरी यस पटक नेकपा एकीकृतका समाजवादीका तर्फका उम्मेदवार कृष्णलाललाई चुनाव यसअघिको जस्तो सजिलो छैन । तर, समाजवादीका कार्यकर्ता भने पहिलेदेखि यसै क्षेत्रमा लागेर राजनीति तथा समाजसेवा गरेको साथै यसै क्षेत्रको निवर्तमान सांसदसमेत भएको र यसमा सत्तागठबन्धनको पनि साथ भएका कारण चुनाव जित्न केही पनि अप्ठेरो नहुने बताउँछन् ।

तर, पार्टी परिवर्तन गर्नु, आफ्नो सांगठनिक प्रभाव नहुनु र केवल गठबन्धनको भर परेर चुनाव जितिन्छ भन्दा भने जस्तो नहुने सोझो अनुमान लगाउन सकिन्छ । त्यसमा पहिले उहाँलाई चुनाव जिताउन मुख्य भूमिका खेलेका प्रेमबहादुर नै अहिले प्रतिस्पर्धीको रुपमा आएकोले पनि चुनाव समाजवादीका कृष्णलालका लागि त्यति सजिलो देखिँदैन ।

महालक्ष्मी नगरपालिकाको पूरै भाग १० वटा वडा र ललितपुर महानगरपालिकाको ६, ७, ८, ९ ११, १२, १६, १७ र १९ गरी १९ वटा वडा रहेको यस क्षेत्रमा गएको पालिका चुनावको मत हेर्दा कांग्रेसले २१ हजार ८ सय १९, एमालेले १६ हजार २ सय ३७ तथा माओवादीले ५ हजार ८ सय ८६ तथा समाजवादीले २ हजार ५ सय ६० मत प्राप्त गरेका छन् । यसरी हेर्दा सत्ता गठबन्धनको भोट ३० हजार २ सय ६५ हुन आउँछ भने एमालेको १६ हजार २ सय मात्र हुने देखिन्छ । तर, पालिका चुनाव र संसदीय चुनावमा निकै अन्तर हुने गर्छ । त्यसैले यसैका आधारमा सत्तागठबन्धनका उम्मेदवार बलियो भन्ने तर्क गरिहाल्न नमिल्ने एमाले कार्यकर्ताको बुझाइ छ ।

दुवै प्रतिस्पर्धी उम्मेदवार ज्यापु समाजको पदाधिकारी भएकोले समाजको भोट कस्लाई जान्छ भन्ने कुराले पनि चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण हुने स्थानीयको धारणा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया