काठमाण्डौ १० मा 'ह्याट्रिक' गर्ने दाउमा रहेका केसीलाई सत्ता गठबन्धनकै चुनौती

 मंसिर १, २०७९ बिहिबार २०:१४:३० | वैद्यनाथ पाैडेल
unn.prixa.net

२०७० सालको संविधान सभा चुनावमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेपछि चर्चामा आएको क्षेत्र हो काठमाण्डौ १० नम्बर । माओवादीको रापताप नसकिँदै संविधान सभाको चुनावमा उठेका प्रचण्डलाई नेपाली कांग्रेसका नेता राजन केसीले हराएपछि केसी र १० नम्बर क्षेत्र दुवै चर्चाको शिखरमा रहे । अझ २०७४ सालको वाम गठबन्धनका तर्फका उम्मेदवार माओवादीका हितमान शाक्यलाईसमेत पराजित गरेपछि केसीलाई हराउन मुश्किल पर्ने एउटा बुझाइ पनि बन्न गयो ।

२०७४ को संसदीय चुनावमा केसी २४ हजार १ सय ९० मत प्राप्त गरी विजयी हुँदा माओवादीका हितमान शाक्य २१ हजार ९ सय ७ मतका साथ मुख्य प्रतिस्पर्धीका रुपमा रहनु भयो । कठिन परिस्थितिमा पनि एक्लै चुनाव जितेका कारण केसीले यसपटक १० नम्बरमा प्रदेशमासमेत कांग्रेसलाई छोड्न आग्रह गरे पनि माओवादीले प्रदेश नछाेड्ने अडान लिएपछि गठबन्धनमा विवाद देखिएकाे थियाे । त्यसपछि माओवादीले त्यहाँ अन्जना विशंखेलाई उम्मेदवार बनाएको शमे । 

कांग्रेस र माओवादी दुवै सत्ता गठबन्धनबाट प्रतिस्पर्धा गरिरहे पनि माओवादीको आफ्नो सांगठनिक प्रभाव राम्रो नरहेको र विषम परिस्थितिमा पनि कांग्रेस राम्रो मत परिणामका साथ विजयी हुँदै आएको हुँदा यस पटक पनि १० नम्बरमा कांग्रेसले सजिलै जित्ने कार्यकर्ताको विश्लेषण छ । हुनत सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको खासै भोट नरहेको क्षेत्रका रुपमा बुझिएको १० नम्बरमा कांग्रेस तथा माओवादी दुवै सत्ता गठबन्धनमा रहेका कारण कसलाई मत दिने भन्ने दुविधा रहे पनि कांग्रेसलाई समाजवादीको केही मत मात्र प्राप्त हुने हो भने पनि सजिलै हुने विश्लेषण छ कांग्रेसीहरुको ।

यसमा थपिने अर्को बलियो आधार भनेको गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतलाई पनि लिन सकिन्छ । हुनत पालिका चुनाव र संसदीय चुनावमा धेरै अन्तर रहने भए पनि यस क्षेत्रमा कांग्रस निरन्तर बलियो शक्तिका रुपमा देखिएकोले यसलाई निराधार मान्न भने सकिँदैन ।

पालिका चुनावमा कांग्रसका वडाध्यक्षहरुले २४ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षहरुले १८ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका वडाध्यक्षहरुले ४ हजार ९ सय ४२ प्राप्त गर्दा राप्रपाले २ हजार ४ सय ९६ तथा एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् । यसले पनि कांग्रेस बलियाे रहेकाे देखाउँछ ।

१८ जना उम्मेदवार रहेको १० नम्बर क्षेत्रमा राजन केसीको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेले हिमेश केसीलाई उठाएको छ । पार्टी संगठन राम्रो रहे पनि कांग्रेसले विषम परिस्थितिमा पनि जित निकालेको क्षेत्र तथा वाम गठबन्धन हुँदासमेत २ हजार भोटको अन्तरमा जितेका कारण 'ह्याट्रिक' गर्ने सुरमा रहेका एउटा केसीलाई अर्को केसीले पराजित गरि हाल्ने किसिमको प्रतिस्पर्धा हुनेमा एमालेहरु पनि विश्वस्त छैनन् ।

त्यस्तै अर्को भनेको एमालेबाट टिकट पाउने र यस क्षेत्रमा लोकप्रिय पनि रहेका सुरेन्द्र मानन्धरलाई टिकट नदिइ केसीलाई टिकट दिएका कारण कतिपय एमालेहरु पनि असन्तुष्ट देखिन्छन् । यसकारण यहाँ एमालेको अवस्था राम्रो देखिँदैन ।

यस क्षेत्रका नागरिकले बाटोघाटो, खानेपानी, स्तरीयर सुलभ स्वास्थ्य शिक्षाका लागि आवाज उठाइरहे पनि कांग्रेसको मुद्दा भने स्थिर सरकार, आर्थिक समृद्धि र रोजगार जस्ता अमूर्त र गह्रुँगा कुरा छन् । यसमा एमाले तथा माओवादी केन्द्र पनि कम छैन । सहरी विकास, समृद्ध मानवजीवन, समृद्ध नेपाल सुखी नेपाली अनि कसैले नछुटाउने युवा भन्ने विषय पनि समावेश गरिएको छ ।

यस क्षेत्रमा दक्षिणकाली तथा कीर्तिपुर नगरपालिकाको सम्पूर्ण क्षेत्र पर्छ । त्यस्तै चन्द्रागिरि नगरपालिकाको १५ वडा वडाहरुमध्ये २ देखि ११ वडा पनि यसै क्षेत्रमा पर्छ । कीर्तिपुरमा कांग्रेसले यस पटक मेयरसहित ७ वडाध्यक्ष जितेको थियो । त्यस्तै दक्षिणकाली तथा चन्द्रागिरि नगरपालिकाको मेयरमा पनि कांग्रेसले विजय हासिल गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया