स्थिर समयमा आचारसंहिता उल्लङ्घन : कतै भोज कतै मध्यरातमा मागियो भोट

 मंसिर ३, २०७९ शनिबार १०:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चुनावको स्थिर समयमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । भोलि हुने मतदानका लागि ४८ घण्टा अगाडि अर्थात् बिही‍वार मध्यराति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरु भएको थियो । तर विभिन्न जिल्लामा दल तथा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका छन् ।

धादिङको क्षेत्र नम्बर–२ (ख) प्रदेश सभाका उम्मेदवार राप्रपाका डम्बर तामाङ, नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले मतदाता जम्मा पारेर मत माग्दै हिँडेको गुनासो छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले बेनिघाट रोराङ, नेकपा माओवादी केन्द्रका प्रदेश सभा उम्मेदवार शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिकामा मतदातासँग मत मागेको स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा लेखेका छन् । रुबिभ्याली गाउँपालिका–५ तीनचेतमा मतदातालाई जम्मा गरेर भोज समेत गरिएको छ । 

त्यस्तै, दैलेखमा मतदाता प्रभावित पार्न रातको समयमा मतदातालाई भेला पार्ने, सामाजिक सञ्जालमा प्रचार गर्ने र पोस्टर टाँस्ने काम भइरहेका छन् । नारायण नगरपालिका–८ को दलित बस्तीमा पालिका अध्यक्ष र उपाध्यक्षले स्थानीयलाई भेला पारेर नेकपा एमालेको उम्मेदवारलाई जिताए मात्र युवा रोजगारी र दलित समुदायको उत्थानका लागि कार्यक्रम दिइने प्रलोभन देखाएको भिडियो सार्वजनिक भएको छ ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार राप्रपाका महासचिव कुन्तीकुमारी शाहीले ठाउँठाउँमा १५ वर्ग फिटका पोस्टर टाँस्नुभएको छ ।

त्यस्तै, उम्मेदवार धर्मराज रेग्मीले फेसबुक स्टाटस लेखेर मत माग्नुभएको छ । तर उहाँले आफैँले नभइ कार्यकर्ताबाट गल्ती भएको प्रतिक्रिया दिनुभएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले कांग्रेसको पक्षमा मत माग्ने गरेको भन्दै जिल्लास्तरीय आचारसंहिता अनुगमन समितिलाई सूचना आएअनुसार उहाँलाई त्यस्तो नगर्न भनिएको छ ।

दल तथा उम्मेदवारले टाँगेका ब्यानर प्रहरी लगाएर हटाउने तयारी भइरहेको दैलेखको आचारसंहिता अनुगमन अधिकृत कोष तथा लेखा नियन्त्रक मोहन जैसवालले बताउनुभयो । प्रमाणसहित उजुरी आएमा कारबाही गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभएको छ । 

स्थिर समयमा चुनाव प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले हिजो तीन जना उम्मेदवार र आठ जना सरकारी कर्मचारीलाई स्पष्टीकरण समेत सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा आचारसंहिता उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन समेत दिएको छ ।

धादिङ : सीताराम अधिकारी 

दैलेख : अमर सुनार 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया