रुपन्देही २ मा एमालेका पौडेल विजयी, प्रतिस्पर्धीद्वारा पुन: मतदानकाे माग

 मंसिर ९, २०७९ शुक्रबार २२:३४:३८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही  – रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी हुनुभएको छ । पौडेलले १ हजार ३६६ मतले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्नुभएको हो ।

एमालेका पौडेलले २७ हजार १४८ मत पाउनुभयो । निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले २५ हजार ७८२ मत ल्याउनुभयो । सत्ता गठबन्धनको समर्थन रहेको जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयाे  ।

उपाध्यक्ष पौडेलको यो चौथो कार्यकाल हो । मत गणनाको क्रममा लुम्बिनी वाणिज्य क्याम्पसको एक मतदान केन्द्रमा मुचुल्कामा उठाए भन्दा ३४ मत बढी फेला परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, सत्ता गठबन्धन तथा अन्य उम्मेदवारहरुले विरोध जनाएपछि मतगणना स्थगित भएको थियो । तर निर्वाचन आयोगले मतपेटिकामा खसेका मत नै आधिकारिक मान्दै गणना गर्न निर्देशन दिएपछि नेपाली सेना, प्रहरी, एमाले तथा अन्य २ जना स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रोहबरमा मतगणना गरिएको हो ।

मतगणना बहिष्कार गरेका दलहरुले रुपन्देही २ मा पुन: मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया