संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर, ८ जना मात्रै निर्वाचित

 मंसिर १०, २०७९ शनिबार ८:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सिटमा ८ जना मात्रै महिला निर्वाचित भएका छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ।  प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन हच्किँदा र जित्ने सम्भावना भएका ठाउँमा नउठाउँदा महिलाको उपस्थिति कमजोर बन्दै गएको छ ।

यसपालि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला थिए । अहिलेसम्म आठ जना महिला मात्रै निर्वाचित भएका छन् । एमालेबाट तीन जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी बाट एक– एक जना महिला उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट कास्की २ मा विद्या भट्टराई, धनुषा ३ मा जुलीकमारी महतो (महासेठ) र बारा ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनु भएको छ । एमालेले ११ ठाउँमा महिला उम्मेदवार उठाएका  थियो । अन्यमा पराजित भइसकेका छन् । कांग्रेसले प्रतिनिधि सभामा पाँच जनालाई मात्रै उम्मेदवार बनाएकोमा अहिलेसम्म एक जना निर्वाचित भएका छन् ।

तेह्रथुममा सीता गुरुङ कांग्रेसबाट विजयी हुनुभएको हो । गएराति आएको नतिजा अनुसार उहाँले एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गर्नुभयो ।  गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भयो । यस्तै, माओवादी केन्द्रमा पनि एक जना मात्रै विजयी हुनुभएको छ । दाङ २ बाट माओवादीकी रेखा शर्मा मात्रै विजयी हुनु भएको हो ।

माओवादीका चर्चित र प्रभावशाली नेतृहरु पूर्व सभामुख ओनसरी घर्ती, बहालवाला मन्त्री पम्फा भुसाललगायत पराजित भएका छन् । माओवादीले ७ जना महिलालालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उठाएको थियो । ६ जना पराजित भइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने ललितपुर २ मा डाक्टर तोसिमा कार्की र काठमाण्डौ २ मा सोबिता गौतम निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र पार्टीकै सुनसरी १ मा गोमा तामाङको अग्रता कायमै छ । स्वतन्त्र पार्टीले १२ जना महिलालाई उम्मेदवार बनाएको थियो । तर, अहिलेसम्म एकीकृत समाजवादी, राप्रपाबाट महिला उम्मेदवार निर्वाचित हुन सकेका छैनन् । एकीकृत समाजवादीकी रामकुमारी झाँक्री गुल्मी २ मा पराजित हुनुभयो । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानमा पराजित हुनुभयो । राप्रपाले आठ जनालाई प्रत्यक्षमा उठाएको थियो । नागरिक उन्मुक्ति पार्टीबाट भने  कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी हुनुभयो ।

प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व कम भए पछि समानुपातिकबाट कानुनी व्यवस्था अनुसार पूर्ति गर्नु पर्ने दायित्व दलहरुमा थपिएको छ । संविधानले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने हरेक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, यस पटक प्रत्यक्षमा सबै पुरुष मात्रै निर्वाचित हुने र समानुपातिकमा थ्रेस होल्डसमेत नकटाउने दलको सङ्ख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने सम्भावना देखिएको छ ।

प्रत्यक्षमा प्रतिनिधित्व घटे पछि दलहरुलाई कानुनी व्यवस्था अनुसार ३३  प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन अब समानुपातिकमा भर पर्नुपर्नेछ । समानुपातिकतर्फ दलले प्राप्त गरेको मत अनुसार अब दलहरुले प्रतिनिधित्व गराउनुपर्छ । जुन यसअघि निर्वाचन आयोगमा सिफारिस गरेको बन्दसूचीको क्रमअनुसार पूर्ति हुनेछ । निर्वाचन आयोगले चुनाव अघि नै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको थियो । तर यो निर्देशन दलहरुले अटेरी गर्दै थोरै सङ्ख्यामा मात्रै महिलालाई उम्मेदवार बनाएका थिए ।

यस्तै, महिला सांसदहरूले पनि प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । दलहरुले जित्ने सम्भावना बलियो भएको क्षेत्रमा पुरुष नै उम्मेदवार बनाउने र नजित्ने क्षेत्रमा महिला अगाडि सार्ने गरेकोले संसदमा महिलाको उपस्थिति सधैँ कमजोर हुने गरेको  महिला सांसदहरुको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया