चुनावमा हारेका कलाकारहरु भन्छन्, यो हाम्रो हार होइन, सुखद पलको सुरुवात हो

 मंसिर १२, २०७९ सोमबार १७:१२:५३ | सुजता सुनुवार
unn.prixa.net

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणाम आउने क्रम अन्तिम अन्तिम चरणमा पुगेको छ । विजयी हुनेहरु उत्साहित छन् । मत परिणाम आइसकेका ठाउँ माला, अबिर र विजयी जुलुससँगै, रंगिएका छन् । यस्ता ठाउँ मात्रै होइन, विजयीका रंगिन तस्बिरहरुले सामाजिक सञ्जालसमेत पुरै रंगिएका छन् । तर, सधैँ रंगिन देखिने कलाकारहरु यो चुनावमा रङ्ग विहीन बनेका छन् । चुनावको नतिजाले कलाकारहरुको रंगिन दुनियाँ खोसिएको छ, तर उनीहरु विरक्तिएका छैनन् । चुनावको नतिजा हार होइन, सुखद पलको सुरुवात हो । अवश्य पनि भोलिका दिनमा राम्रो नतिजा ल्याउनेछौँ भन्दै प्रतिबद्धता जनाएका छन् । यस्ता प्रतिबद्धता चुनावमा हार बेहोरेका सबै कलाकारहरुले विभिन्न शैलीमा सामाजिक सञ्जालमार्फत विजयीलाई शुभकामना दिँदै पोष्ट गरिरहेका छन् ।

यसपालिको चुनावमा कलाकार कोमल वलीसँगै मनोज पण्डित, रेखा थापा, रोज राणा, हिमेश पन्त, सीते बा भनेर चिनिने मधुसुदन पाठक र सञ्जय श्रेष्ठले प्रतिनिधि र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका थिए । भोट माग्दै गाउँ–गाउँ पुगे । आफ्नै पहिचान दिने खालका नारा समेत तय गरेका थिए । तर कलाकारितामा जस्तो राजनीतिमा उनीहरुलाई नागरिकले पत्याएनन् । सात जना उम्मेदवारमा कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) कांग्रेसबाट प्युठान प्रदेशसभा ‘ख’ मा विजयी हुनु भयो, तर बाँकी ६ जना भने पराजित हुनु भयो । 

कस्ले के भने ?

समृद्ध दाङ बनाउनेमा मेरो पनि सहयोग रहनेछ : कोमल वली

समाचार वाचन र गायनमा समेत खप्पिस कोमल वली एमालेबाट दाङ ३ को प्रतिनिधि सभामा उम्मेदवार हुनुहुथ्यो । कांग्रेसका दिपक गिरीले बढी मत ल्याउनु भएसँगै उहाँ पराजित हुनु भएको हो । २०७४ सालमा राष्ट्रिय सभा सदस्य बन्नु भएका वलीले कलाकारितामा जस्तो राजनीतिमा सफलता पाउन सक्नु भएन ।

नतिजा सार्वजनिक भएपछि उहाँले सामाजिक सञ्जालमा विजयी सबैलाई धन्यवाद दिनु भएको छ । यस्तै आगामी दिनमा दाङवासीलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लेख्नु भएको छ, ‘मैले देखेको समृद्ध दाङ बनाउने सपनाको अभिभारा विजयी उम्मेदवारले लिनु पर्नेछ, यसमा सधैँ मेरो साथ रहनेछ ।’

चुनावको शृङ्खला सकियो, अब कामको शृङ्खला सुरु भयो : मनोज पण्डित

दासढुंगा जस्ता चर्चित सिनेमाका निर्देशक मनोज पण्डित अब्बल फिल्ममेकरका रुपमा चर्चित हुनुहुन्छ । उहाँले चलचित्र एक, ग्रेटर नेपाल, छाया, बधशालालगायतका थुपै्र चर्चित चलचित्र निर्माण गर्नु भएको छ । फिल्ममा मज्जाले जम्न सफल मनोज राजनीतिक यात्रामा भने सफल हुन सक्नु भएन । उहाँले नेकपा एमालेका गोकुल प्रसाद बाँस्कोटाले जितेको क्षेत्र काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर जम्मा भोट १ सय ७३ आयो । यो मत प्रतिस्पर्धी कलाकारहरुमध्येकै कम मत हो ।

नतिजा सार्वजनिक भएपछि उहाँले आफ्नो फेसबुक वालमा मेरो लागि चुनावको श्रृंखला सकियो, अब कामको श्रृंखला शुरु भयो भन्दै आफूले गर्ने कामका बुँदाहरुलाई फेसबुकबाटै सबै सामु सार्वजनिक गर्नु भएको छ ।

उहाँले लेख्नुभएको छ, ‘काभ्रेपलान्चोकबाट खोसिएको आईटि पार्क फिर्ता ल्याउन जनदबाब दिनु, एमालेका गोकुल प्रसाद बास्कोटालाई भेटी फिर्ता ल्याउने पहल अगाडि बढाउन आग्रह गर्नु र सँगसँगै अघि पनि बढ्नुछ ।’ यो चुनाव मेरो लागि प्रारम्भ हो, अध्ययन हो । आफ्नो भूगोल र समाजसँगको मेरो पहिलो वार्तालाप हो, लेख्दै मतदान गर्ने सबैलाई कलाकार पण्डितले धन्यवाद दिनु भएको छ । 

निर्वाचित हुन नसके पनि गाउँवासीका सुखदुःखका साथी बनिरहनेछु : रेखा थापा

मोरङ्ग ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अभिनेत्री रेखा थापा फिल्म निर्माता मात्रै होइन गायिका पनि हुनुहन्छ । कलाकारिताका सबै विधामा चर्चित अनि सफल रेखा राजनीतिमा भने त्यति जम्न सक्नुभएन । १२ वर्षअघिदेखिको सक्रिय राजनीतिक यात्रा गरिसक्दा पनि अभिनेत्री रेखाको नेतृत्वमा पुग्ने सपना अधुरै रह्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा लाग्नुभएकी रेखाले पार्टीको महामन्त्रीमा जित्नुभएन, प्रतिनिधिसभा चुनावमा पनि असफल हुनुभयो ।

अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालबाटै नवनिर्वाचित कांग्रेसका सुनिल शर्मालाई बधाइ दिनु भएको छ । मोरङ ३ का मतदातालाई सम्बोधन गर्दै अभिनेत्री रेखा थापाले लेख्नु भएको छ, ‘यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाए पनि तपाईँका समस्याका आवाजलाई थप सशक्त बनाउने मान्छेका रुपमा अब तपाईँले मलाई पाउनुहुनेछ, हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।’ उहाँले यसैबाट सबै मतदातालाई धन्यवाद पनि दिनु भएको छ ।

साढे १२ हजार विश्वासको मतलाई 'इन्टु' ३ बनाउनेछु : हिमेश पन्त 

हँसाएर दर्शकको मन जित्न सफल कमेडियन हिमेश पन्तको राजनीतिक यात्रा सफल हुन सकेन । उहाँले कमेडीमा च्याम्पियन भएर इतिहास त रच्नु भयो तर राजनितिमा हारको तीतो अनुभव संगाल्नु भएको छ । उहाँ धादिङ १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अरु धेरै उम्मेदवारले जिते तर हिमेश भने असफल हुनुभयो ।

असफल भएपछि हिमेशले सामाजिक सञ्जालमा नेकपा एकिकृत समाजवादीकातर्फबाट विजयी राजेन्द्र प्रसाद पाण्डेलाई शुभकामना दिँदै लेख्नु भएको छ, ‘देश बनाउने परिकल्पना बोकेर हिँडेका हामी कत्ति पनि विचलित भएका छैनौँ, तपाईँले विश्वास गरेर दिनु भएको साढे १२ हजार विश्वासको मतलाई अर्को पटक ‘इन्टु’ ३ बनाउनेछु ।’ उहाँले यसैमा चुनावमा अहोरात्र खट्ने साथी, शुभचिन्तक र भोट दिने सबैलाई धन्यवाद पनि दिनु भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया