चुनावी परिणाम : प्रदेशहरूमा कुन पार्टीको अवस्था कस्तो ?

 मंसिर १४, २०७९ बुधबार १७:४७:४५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको परिणामले सबैभन्दा ठूलो दलको रूपमा देखिएको नेपाली कांग्रेस समानुपातिक मतमा एमालेभन्दा कमजोर छ । समानुपातिकको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छैन । समग्रमा कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा देखा पर्ने भएको छ । 

प्रदेशगतरूपमा दलहरूको अवस्था यस्तो छ :

प्रदेश नम्बर १

प्रदेश १ मा २८ प्रतिनिधि सभा र ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभामा आठ सिट जितेको छ भने प्रदेश सभातर्फ १५ सिटमा विजय हासिल गरेको छ ।

त्यस्तै एमालेले प्रतिनिधि सभामा १३ सिट प्राप्त गरेको छ भने प्रदेशमा २५ सिटमा विजय हासिल गरेको छ । यसैगरी माओवादीले तीन सिट जित्दा प्रदेश सभामा नाै सिट जितेको छ । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रले एक/एक सिट जितेका छन् । प्रदेशमा समाजवादीले तीन र राप्रपाले दुई सिट जितेका छन् ।

५६ सिट रहेको प्रदेश सभामा अहिलेसम्म ५४ सिटको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म प्राप्त मत परिणाम हेर्दा सत्ता गठबन्धनको २७ सिट देखिन्छ । प्रत्यक्ष र समानुपातिक दुवैको सबै मतपरिणाम अझै सार्वजनिक नभए पनि अहिलेसम्म समानुपातिकको झन्डै ९० प्रतिशत मतगणना भइ सकेको छ ।

समानुपातिकतर्फ अहिलेसम्म गणना भएको सदर मत १७ लाख १० हजार नाै सय ९७ मध्ये एमालेले सबैभन्दा धेरै पाँच लाख ९८ हजार एक सय ८०, कांग्रेसले पाँच लाख एक हजार सात सय तीन, राप्रपाले एक लाख ८२ हजार आठ सय ९८, माओवादीले एक लाख ६७ हजार छ सय २६, जसपाले ५५ हजार दुई सय ७६ र नेकपा एकीकृत समाजवादीले ५० हजार आठ सय ४९ मत पाएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६ हजार २८ मत पाएर 'थ्रेसहोल्ड' कटाएको छ ।

अहिलेसम्मको समानुपातिकमा प्राप्त मतपरिणामको रुझान हेर्दा प्रदेशको समानुपातिकतर्फको ३७ सिटमध्ये एमालेले १४, कांग्रेसले १२, माओवादीले चार, राप्रपाले चार, जसपाले एक, एकीकृत समाजवादीले एक र सङ्घीय लिम्बूवानले एक सिट पाउने देखिएको छ । जसमा सत्ता गठबन्धनको सिट सङ्ख्या १८ हुनेछ भने एमाले गठबन्धनको १९ हुनेछ ।

यसरी हेर्दा अहिलेको सत्तारूढ गठबन्धनको ४७ सिट र एमाले गठबन्धनको ४६ सिट हुने सम्भावना देखिएको छ । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउने बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।

यसरी हेर्दा सत्ता गठबन्धन प्रदेश १ सरकार निर्माणको नजिक देखिए पनि यहाँ विपक्षी गठबन्धनको सरकार बन्दै बन्दैन भन्ने ठोकुवा पनि गर्न सकिँदैन ।

मधेस प्रदेश 

धेरैजसो मधेसका भू–भाग समेटिएको मधेस प्रदेशमा ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । मधेस केन्द्रित राजनीति गर्ने पार्टीहरू यस पटक कमजोर हुँदा यहाँ पनि कांग्रेस, एमाले, माओवादीलगायतका प्रमुख दलहरू नै यस पटकको चुनावमा पनि हाबी देखिए ।

मधेस प्रदेशमा यस पटक अहिलेसम्मको परिणामअनुसार कांग्रेसले सात, एमालेले नाै, माओवादीले एक, नेकपा एकीकृत समाजवादीले दुई, जनता समाजवादीले छ, लोसपाले तीन र जनमत पार्टीले एक सिट जित्दा स्वतन्त्रले पनि तीन सिट जितेका छन् ।

प्रदेश सभाको कुरा गर्दा कांग्रेसले १३, एमालेले १५, माओवादीले चार, नेकपा एकीकृत समाजवादीले चार, जनता समाजवादीले नाै, लोकतान्त्रिक समाजवादीले सात, जनमत पार्टीले छ र स्वतन्त्र छ जनाले जित हासिल गरेका छन् ।

समानुपातिकतर्फको ४३ सिटमा कांग्रेसले नाै, एमालेले आठ, जनमतले छ, जसपाले छ, माओवादीले आठ, एकीकृत समाजवादीले छ, लोसपाले दुई, राप्रपाले एक, नागरिक उन्मुक्ति पार्टीले एक र सङ्घीय समाजवादी पार्टीले एक सिट जित्ने निश्चितजस्तै देखिएको छ । समानुपातिकतर्फको मतगणना चलिरहेकाले बाँकी तीन सिट कसले जित्ने भन्ने यकिन भइसकेको छैन ।

एक सय सात सिटमा अहिलेसम्म कसैको पनि स्पष्ट बहुमत देखिँदैन । यस कारण यहाँ सरकार बनाउनका लागि जनमत पार्टी र स्वतन्त्रलाई आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले दुवै पार्टी लागिपरेका छन् । तर मधेस प्रदेशमा अरूको सरकारलाई समर्थन गर्नेभन्दा पनि जनमत पार्टी आफैँ अरू पार्टीहरूसँग मुख्यमन्त्रीको माग गरिरहेको छ । 

वाग्मती प्रदेश

देशको सङ्घीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा प्रतिनिधि सभातर्फ ३३ र प्रदेश सभामा ६६ सिट रहेको छ । प्रतिनिधि सभातर्फ एक सिटको नतिजा आउन बाँकी रहेकोमा नेपाली कांग्रेसले सबैभन्दा धेरै १३, एमाले र माओवादीले चार/चार, एकीकृत समाजवादीले एक, राप्रपाले दुई, राष्ट्रिय स्वतन्त्र पार्टीले सात र नेमकिपाले एक स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेश सभातर्फको ६६ सिटमा नेपाली कांग्रेसले २४, एमालेले १२, माओवादीले १४, राप्रपाले सात, एकीकृत समाजवादीले पाँच, नेमकिपाले एक र हाम्रो नेपाली पार्टीले एक सिट जितेका छन् । समानुपातिकतर्फ ४४ सिट रहेको वाग्मती प्रदेशमा सत्ता गठबन्धनले ४३ सिट प्राप्त गरेको छ । यस आधारमा यहाँ सत्ता गठबन्धनले सरकार बनाउन पुग्ने सहज बहुमत प्राप्त गरेको छ । 

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कुरा गर्दा यहाँ प्रतिनिधि सभातर्फ १८ सिट सङ्ख्या रहेको छ । जसमा नेपाली कांग्रेसले नाै, एमालेले पाँच, माओवादीले दुई, एकीकृत समाजवादीले एक र जनमोर्चाले एक सिट जितेको छ ।

प्रदेश सभाको कुरा गर्दा ३६ सिटमा दुई सिटको नतिजा आउन बाँकी छ । नेपाली कांग्रेसले १६, एमालेले १२, माओवादीले चार, नेपाल समाजवादी पार्टीले एक र स्वतन्त्रले एक सिट जितेका छन् ।

प्रदेशका ३६ र समानुपातिकमा २४ सिट गरी ६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्नेमा सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिन्छ । 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभामा २६ सिट रहेको छ । जसमा कांग्रेसले छ, एमालेले ११, माओवादीले तीन, राप्रपाले तीन, लोसपाले एक र स्वतन्त्रले एक सिट जितेको छ । ५२ प्रत्यक्ष र ३५ समानुपातिक सिट रहेको प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्ने देखिन्छ ।

यहाँ प्रदेश सभामा नेपाली कांग्रेस १७, नेकपा एमाले १८, नेकपा माओवादी पाँच, जसपा दुई, लोसपा दुई, नागरिक उन्मुक्ति दुई, राप्रपा दुई, जनमत एक र स्वतन्त्र तीन सिटमा विजयी भएका छन् । समानुपातिकमा एमालेले ११, कांग्रेसले १०, माओवादीले चार, राप्रपाले दुई, जनमतले दुई, नागरिक उन्मुक्तिले दुई तथा जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाले एक सिट पाउने देखिन्छ । बहुमतका लागि आवश्यक पर्ने ४४ सिट अहिलेको अवस्थामा सत्ता गठबन्धनसँग रहेको देखिन्छ ।

कर्णाली प्रदेश 

प्रतिनिधि सभामा १२ सिट रहेको कर्णाली प्रदेशमा कांग्रेस र माओवादीले चार/चार सिट पाएका छन् । यहाँ नेकपा एमालेले भने आफ्नो खाता खोल्न सकेको छैन । एकीकृत समाजवादीले तीन सिट जितेर आफूलाई कर्णालीमा बलियो शक्तिको रूपमा उभ्याएको छ भने राप्रपाले पनि एक सिट जितेको छ ।

प्रदेश सभाको कुरा गर्दा २४ सिट रहेको प्रदेशमा नेपाली कांग्रेसले नाै, माओवादी नाै, नेकपा एमालेले पाँच र स्वतन्त्रले एक सिट जितेका छन् । प्रतिनिधि सभामा उपस्थिति नभएको एमालेले प्रदेश सभामा पाँच सिट जितेर उपस्थिति जनाएको छ ।

समानुपातिकको कुरा गर्दा कांग्रेसले पाँच, माओवादीले चार र एकीकृत समाजवादीले एक जना सांसद पाउने देखिन्छ । यस कारण बहुमतका लागि २१ सिट भए पुग्ने प्रदेशमा यहाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ । 

सुदूरपश्चिम प्रदेश 

१६ प्रतिनिधि सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सात, एमालेले दुई, एकीकृत समाजवादीले तीन र नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेका छन् । ३२ प्रदेश सभा सदस्य र समानुपातिकमा २१ सिट रहेको सुदूरपश्चिममा अहिलेसम्म नेपाली कांग्रेसले ११, माओवादीले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, समाजवादीले दुई र स्वतन्त्रले एक सिट ल्याएका छन् ।

समानुपातिकतर्फ २१ सिट रहेको प्रदेशमा पनि सत्ता गठबन्धनकै सिट बढी देखिन्छ । यस अर्थमा सरकार गठन गर्नका लागि आवश्यक २७ सिट सत्ता गठबन्धनले स्पष्टरूपमा पुर्‍याउने देखिन्छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया