स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना हुने

 मंसिर १४, २०७९ बुधबार १८:३३:३० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । 

गएकाे मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन । 

यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । 

विवादका बीच मतगणना सुरु हुन लागेपछि वालिङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । 

नेकपा एमालेले चापाकोट नगरपालिकाकाे चार वटा बुथमा धाँधली गरी बुथ कब्जा भएकाे आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको थियो भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । दुवै दलले मतदान भएको दोस्रो दिनदेखि नै सडकमा धर्ना दिँदै आएका थिए । 

चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन दिएकाे थिएन ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया