बुटवलमा जग्गाको कित्ताकाट खुल्यो

 मंसिर २०, २०७९ मंगलबार ९:२३:२१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ ।

उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको प्रवक्ता शिव रानाले जानकारी दिनुभयो । वडा नं १ देखि १३ र वडा नं १९ का जग्गालाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

वडा नं १४, १६ र १८ का ९५ वटा सडकका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गा गैरकृषि क्षेत्र कायम भएको छ । वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ।

स्वीकृत प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र सङ्घीय भू–उपयोग परिषद् पठाइने बुटवल उपमहानगरले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया