कुन प्रदेशमा कस्तो सरकारको सम्भावना ?

 मंसिर २०, २०७९ मंगलबार १२:२६:२१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने देखिन्छ ।

नेपाली कांग्रेसमा गगन थापा, शेखर कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहे पनि अहिले कांग्रेसबाट प्रतिनिधि सभातर्फको निर्वाचित सांसदको संख्या हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनसक्ने चर्चामा रहेका कुनै पनि अनुहार देखिँदैन ।

अझ कुनै एक दलको स्पष्ट बहुमत नभएका कारण गठबन्धनको सरकार निर्माणका लागि अन्य दलको पनि समर्थन लिनुपर्नेमा अहिलेको प्रधानमन्त्रीको दौडमा प्रधानमन्त्री देउवाको विकल्पमा गठबन्धन दलले कांग्रेसबाट अरु कोहीलाई समर्थन नगर्ने अनुमान गर्न सकिन्छ । अझ प्रदेशका मुख्यमन्त्रीको आकांक्षी धेरै तथा गठबन्धनका कारण पनि कुन प्रदेशमा को मुख्यमन्त्री बन्छ भन्न गाह्रो छ ।

प्रदेश नम्बर १ मा एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना

प्रत्यक्षमा ५६ र समानुपातिकमा ३७ सिट गरी कुल ९३ सिट रहेको प्रदेश नम्बर १ मा सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । अहिलेसम्मको आँकडामा एमाले बलियो देखिएको छ । प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सिट रहेको एमालेलाई सरकार गठनका लागि केवल ७ सिटको जरुरी देखिन्छ । त्यसका लागि एमालेसँग चुनावमा तालमेल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सघाउने देखिन्छ । राप्रपाको प्रत्यक्षमा २ र समानुपातिकमा ४ सिट गरी कुल ६ सिट छ । 

यसरी हेर्दा सरकार गठनका लागि एमालेलाई १ सिटको मात्र कमी देखिन्छ । त्यसका लागि उसले चुनावमा गठबन्धन रहेका जसपाको सहयोग लिन सक्छ । तर, चुनावसँगै तालमेल पनि सकियो भनेर जसपाका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति आएको हुँदा शंका गर्न त सकिन्छ । तर, जसपासँग यदि ठूलो सिट सङ्ख्या भएको भए त्यसको लागि बार्गेनिङ हुन सक्थ्यो । तर, केवल १ सिटको कुरा भएका कारण र चुनावी तालमेल पनि भएका कारण यसका लागि एमालेलाई त्यति अप्ठयारो नपर्ने देखिन्छ ।

त्यसैगरी कांग्रेसले प्रत्यक्षमा १७ तथा समानुपातिकमा १२ गरी २९ सिट, माओवादी केन्द्रले प्रत्यक्षमा ९ तथा समानुपातिकमा ४ गरी १३, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकमा १/१ सिट प्राप्त गरेका छन् । सत्ता गठबन्धनको कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सिट जोड्दा केवल ४३ मात्र हुने हुँदा प्रदेश १ मा सत्ता गठबन्धन सरकार बनाउने खेलबाट टाढा देखिन्छन् । 

कुल ३३ लाख ९६ हजार ८ सय ६५ मतदाता रहेको प्रदेश नम्बर १ मा एमालेले ६ लाख ६५ हजार ४ सय ६० मत प्राप्त गरेको छ । प्रतिशतमा भन्नुपर्दा यो ३५ दशमलव शून्य ४ प्रतिशत हुन आउँछ । प्रत्यक्षमा एमालेले १५ दशमलव १५ प्रतिशत मत प्राप्त गरेको छ ।

कांग्रेसले भने समानुपातिकमा ६ लाख ६२ हजार ९ सय ६५ मत प्राप्त गरेको छ । प्रतिशतका हिसाबमा यो ३४ दशमलव ९१ हुन आउँछ । प्रत्यक्षमा कांग्रेसले १० दशमलव ३ प्रतिशत मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले १ लाख ८१ ह्जार २ सय ४५ मत प्राप्त गरेको छ । प्रतिशतमा यो ९ दशमलव ५४ हुनआउँछ । प्रत्यक्षतर्फ भने उसले ९ दशमलव ४५ प्रतिशत मत प्राप्त गरेको छ ।

एकीकृत समाजवादीले समानुपातिकतर्फ ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । जुन २ दशमलव ९५ प्रतिशत हुन आउँछ । प्रत्यक्षतर्फ उसले प्राप्त गरेको मतको प्रतिशत भने १ दशमलव ८२ छ ।

त्यस्तै राप्रपाले १ लाख ९८ हजार ५ सय ११ मत प्राप्त गरी १० दशमलव ४५ प्रतिशत मत प्राप्त गरेको देखिन्छ । प्रत्यक्षतर्फ भने राप्रपाले १ दशमलव ८२ प्रतिशत मत प्राप्त गरेको छ ।

प्रदेश १ मा २ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् । कुल ३१ जना महिला प्रतिनिधित्व हुनुपर्ने देखिएकोमा अब समानुपातिकबाट दलहरुले २९ जना महिलाको प्रतिनिधित्व गराउनु पर्ने कानुनी बाध्यता रहन्छ ।

मधेस प्रदेशमा जनमत पार्टी निर्णायक हुनसक्ने

मधेस प्रदेसमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकमा ४३ गरी कुल १ सय ७ सिट रहेको छ । सरकार गठनका लागि आवश्यक पर्ने ५४ सिटका लागि सत्ता गठबन्धन तथा विपक्षी गठबन्धन दुवै प्रयासरत देखिन्छन् ।

तर, मधेस प्रदेशको अहिलेको अवस्था हेर्दा सत्ता गठबन्धनले सरकार बनाउन सक्ने अवस्था देखिन्छ । यसका लागि भने हालको सत्ता गठबन्धनको सिट मात्र पर्याप्त नभएर यसमा जनमत पार्टीको भूमिका महत्वपूर्ण देखिन्छ । किनकि कांग्रेसको प्रत्यक्षमा १३ सिट तथा समानुपातिकमा ९ गरी कुल २२ सिट छ । माओवादी केन्द्रको प्रत्यक्ष तथा समानुपातिकमा समान ४/४ सिट गरी कुल ८ सिट छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रत्यक्षमा ७ तथा समानुपातिक २ गरी ९ सिट छ । एकीकृत समाजवादीको प्रत्यक्षमा ४ तथा समानुपातिकमा ३ सिट गरी ७ सिट छ । भने संघीय समाजवादीको प्रत्यक्षमा कुनै सिट नभए पनि समानुपातिकमा १ सिट छ ।

सरकार गठनका लागि सत्ता गठबन्धनकातर्फबाट कांग्रेस २२, माओवादी ८, लोसपा ९, एकीकृत समाजवादी ७ तथा संघीय समाजवादीको १ सिट जोड्दा ४७ सिट पुग्छ । तर, सरकार गठनका लागि सत्ता गठबन्धनलाई अझै ७ सिट नपुग्ने देखिन्छ । यसका लागि जनमत पार्टीसँग रहेको प्रत्यक्षको ६ तथा समानुपातिकको ७ सिट गरी कुल १३ सिट सत्ता गठबन्धनले प्राप्त गर्ने देखिन्छ ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटघाटमा सरकार गठनका लागि सहयोग गर्ने कुरा बाहिर आइसकेको हुनाले मधेस प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने देखिन्छ । हुनत जनमत पार्टीले मुख्यमन्त्रीको दाबी गरेको बताएको छ । यदि मुख्यमन्त्रीमा बार्गेनिङ नमिलेका खण्डमा पनि एमालेसँगको सहकार्य चुनावसम्मको लागि मात्र भएको बताएर जसपाले सरकारमा सामेल हुने संकेत गरेको छ । जसपासँग प्रत्यक्षमा ९ तथा समानुपातिकमा ६ गरी कुल १५ सिट छ । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा कुनै सिट प्राप्त नगरे पनि समानुपातिकमा भने १/१ सिट प्राप्त गरेका छन् ।

बाग्मती प्रदेशमा सत्ता गठबन्धनको सरकार

बाग्मती प्रदेशमा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ सिट गरी १ सय १० कुल सिट रहेकोमा बहुमतका लागि ५६ सिट आवश्यक पर्ने देखिन्छ । 

बाग्मती प्रदेशमा भने सत्ता गठबन्धनको सरकार स्पष्ट बहुमतमा देखिन्छ । कांग्रेसले प्रत्यक्षमा २५ तथा समानुपातिकमा १२ गरी ३७ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादीले प्रत्यक्षमा १४ तथा समानुपातिकमा ७ गरी २१ सिट प्राप्त गरेको छ । कांग्रेस र माओवादीको सिट संख्या जोड्दा ५८ हुन्छ जुन बहुमतका लागि पर्याप्त हुन्छ अझ सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको प्रत्यक्षमा ५ सिट भएकोले यहाँ सत्ता गठबन्धनका लागि बहुमतका लागि अन्य दलहरुलाई समेट्नु पर्ने जरुरी देखिँदैन ।

बाग्मती प्रदेशमा एमालेले प्रत्यक्षमा २५ तथा समानुपातिकमा १२ गरी कुल ३७ सिट प्राप्त गरेको छ । त्यस्तै राप्रपाले प्रत्यक्ष तथा समानुपातिकमा समान ७/७ सिट गरी कुल १४ सिट प्राप्त गरेको छ । नेमकिपा तथा हाम्रो नेपाली पार्टीले प्रत्यक्ष तथा समानुपातिकमा १/१ गरी कुल २/२ सिट प्राप्त गरेका छन् ।

बाग्मतीमा महिला सिट ३६ पुर्याउने अहिलेको अवस्थामा केवल ५ जनामात्र प्रत्यक्षमा निर्वाचित भएकोले अब बाँकी ३१ सिट समानुपातिकबाट दलहरुले छुट्याउनुपर्ने देखिन्छ ।

गण्डकीमा सत्ता गठबन्धनलाई सहज बहुमत

प्रत्यक्षमा ३६ तथा समानुपातिकमा २४ गरी कुल ६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट चाहिन्छ । यसरी हेर्दा यहाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिन्छ ।

गण्डकीमा कांग्रेसले प्रत्यक्षमा १८ तथा समानुपातिकमा ९ गरी कुल २७ सिट जितेको छ । त्यस्तै सत्ता गठबन्धनको अर्को घटक माओवादीले प्रत्यक्षमा ५ तथा समानुपातिकमा ३ गरी कुल ८ सिट जितेको छ । बहुमतका लागि ३१ सिट चाहिनेमा यहाँ सत्ता गठबन्धनको सिट जोड्दा ३५ देखिन्छ । यसकारण पनि यहाँ सत्ता गठबन्धनलाई सरकार गठनमा कुनै चुनौती देखिँदैन ।

यदि सत्ता गठबन्धन नभएका खण्डमा भने यहाँ एमाले, माओवादी तथा राप्रपाको सरकार बन्ने सम्भावनालाई पनि नकार्न भने सकिन्न । किनकि यहाँ एमालेको प्रत्यक्षमा १२ तथा समानुपातिकमा ११ सिट गरी कुल २३ सिट हुने देखिन्छ । माओवादीको ८ सिट जोड्ने हो भने यहाँ बहुमत पुग्ने देखिन्छ । अझ राप्रपाले पाएको समानुपातिकतर्फको २ सिट पनि विपक्षी गठबन्धनमा सामेल हुने हो भने यहाँ विपक्षी गठबन्धनको सरकार बनेमा पनि त्यसलाई असम्भव नठान्दा हुन्छ । यहाँ हाम्रो नेपाली पार्टीको पनि समानुपातिकमा १ सिट छ ।

गण्डकी प्रदेशमा कांग्रेसले समानुपातिकमा ३ लाख ४४ हजार ५४ मत पाएको छ । प्रतिशतका हिसाबले यो ३५ दशमलव २७ हुन आउँछ भने प्रत्यक्षमा कांग्रसले १० दशमलव ९१ प्रतिशत मत पाएको छ ।

एमालेले यहाँ समानुपातिकमा ३ ला ६४ हजार ४ सय ५१ मत पाएको छ जुन ३७ दशमलव ३६ प्रतिशत हो । प्रत्यक्षमा भने एमालेले ७ दशमलव २७ प्रतिशत मत पाएको छ ।

त्यस्तै माओवादी केन्द्रले समानुपातिकमा १ लाख १६ हजार ७ सय ४८ मत प्राप्त गरेको छ । प्रतिशतका हिसाबले यो ११ दशमलव ९७ प्रतिशत हो । प्रत्यक्षमा भने माओवादीले ३ दशमलव शून्य ३ प्रतिशत मत प्राप्त गरेको छ । यसैगरी स्वतन्त्रले शून्य दशमलव ६१ प्रतिशत मत प्राप्त गरेको छ ।

गण्डकीमा २ जना महिला मात्र प्रत्यक्षमा निर्वाति भएका कारण आवश्यक २० मध्ये १८ जना भने समानुपातिकबाट छुट्याउनु पर्ने हुन्छ ।

लुम्बिनीमा मिलिजुली सरकारको सम्भावना बलियो

लुम्बिनी सरकारमा अहिले दलहरुले प्राप्त गरेको सिट हेर्दा यहाँ सत्ता र विपक्षी गठबन्धन दुवैलाई सरकार बनाउन पुग्ने बहुमत देखिँदैन । त्यति मात्र होइन यहाँ सरकार बनाउनका लागि दुवै गठबन्धनका लागि अहिले भएका गठबन्धन दल बाहेक अरु दलको पनि सहयोग लिनुपर्ने देखिन्छ । यसकारण पनि यहाँ मिलिजुली सरकारको सम्भावना अत्यधिक देखिन्छ ।

प्रत्यक्षमा ५२ तथा समानुपातिक ३५ गरी कुल ८७ सिट रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । यहाँ कांग्रेसले प्रत्यक्षमा १७ तथा समानुपातिकमा १० गरी कुल २७ सिट प्राप्त गरेको छ । बहुमतका लागि अझै १७ सिट आवश्यक पर्ने हुँदा सत्ता गठबन्धनका अरु घटक जुटाउँदा पनि त्यति सिट पुग्ने देखिन्न ।

सत्ता गठबन्धनको घटक लोसपाले यहाँ प्रत्यक्षमा २ तथा समानुपातिकमा १ गरी कुल ३ सिट प्राप्त गरेको छ । अहिलेलाई सत्ता गठबन्धनमा सामेल हुने कुरामा सहमति जनाएको जनमत पार्टीको पनि यहाँ प्रत्यक्षमा १ तथा समानुपातिकमा २ गरी कुल ३ सिट छ । भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समानुपातिकमा १/१ सिट छ । यो सबै जोड्दा पनि केवल ३५ सिट मात्र हुन आउने हुँदा यहाँ सरकार बनाउनका लागि सबै साना दललाई समेट्नुपर्ने देखिन्छ ।

विपक्षी गठबन्धनको कुरा गर्दा यहाँ एमालेको प्रत्यक्षमा १८ तथा समानुपातिकमा ११ गरी कुल २९ सिट छ । त्यस्तै जसपाको प्रत्यक्षमा २ तथा समानुपातिकमा १ गरी कुल ३, नागरिक उन्मुक्ति पार्टीको प्रत्यक्ष तथा समानुपातिकमा समान २/२ गरी ४ र राप्रापाको पनि प्रत्यक्ष तथा समानुपातिकमा समान २/२ गरी ४ सिट नै छ । यसरी हेर्दा विपक्षी गठबन्धनका लागि पनि अरु दललाई समेट्नु पर्ने देखिन्छ । धेरै साना दललाई समेट्नु पर्ने कारण यहाँ कांग्रेस र एमाले मिलेर सरकार बनाउने विकल्प पनि नकार्न सकिँदैन ।

लुम्बिनीमा छनौट हुनुपर्ने २९ महिलामध्ये १ जना मात्र प्रत्यक्षमा निर्वाचित भएको हुँदा बाँकी २८ भने समानुपातिकबाट चयन गर्नुपर्ने हुन्छ ।

कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई आरामको बहुमत

कुल ४० सिट रहेको कर्णाली प्रदेशमा बहुमतका लागि चाहिने २१ सिटका लागि कांग्रेस र माओवादीले पाएको सिट पर्याप्त देखिन्छ ।

प्रत्यक्षमा २४ तथा समानुपातिकमा १६ सिट रहेको यस प्रदेशमा कांग्रेसले प्रत्यक्षमा ९ तथा समानुपातिकमा ५ गरी १४ सिट प्राप्त गरेको छ । भने माओवादीले प्रत्यक्षमा ९ तथा समानुपातिकमा ४ गरी १३ सिट पाएको छ । कांग्रेसभन्दा केवल १ सिट मात्र कम रहेको माओवादीले एमालेसँग मिलेर सरकार बनाउन सक्ने विकल्प पनि यहाँ खुला देखिन्छ । किनकि यहाँ एमालेले प्रत्यक्षमा ५ तथा समानुपातिकमा पनि ५ गरी कुल १० सिट पाएको छ । यसकारण यहाँ एमाले र माओवादीलाई पनि सरकार बनाउने वैकल्पिक अंकगणित पर्याप्त छ ।

कर्णालीमा कांग्रेसले समानुपातिकमा १ लाख ७० हजार ७ सय ५६ मत पाएको छ जुन २९ दशमलव ५५ प्रतिशत हो । त्यस्तै कांग्रेसले प्रत्यक्षमा ५ दशमलव ४५ प्रतिशत मत प्राप्त गरेको छ ।

एमालेले भने समानुपातिकमा १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरी ३१ दशमलव ८३ प्रतिशत मत पाएको छ । प्रत्यक्षमा भने एमालेले ३ दशमलव शून्य ३ प्रतिशत मत पाएको छ ।

त्यस्तै माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ मत प्राप्त गरी २३ दशमलव ८२ प्रतिशत मत प्राप्त गरेको छ । प्रत्यक्षमा भने माओवादीले ५ दशमलव ४५ प्रतिशत मत प्राप्त गरेको छ ।

कर्णालीमा आवश्यक महिला सिट १३ मा कुनै पनि प्रत्यक्षबाट निर्वाचित नभएको हुँदा सबै सिट दलहरुले समानुपातिकबाट परिपूर्ति गर्नुपर्नेछ । 

सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनकै सरकार

प्रत्यक्ष र समानुपातिक गरी कुल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षमा ३२ तथा समानुपातिकमा २१ सिट छ । यहाँ कांग्रेस र माओवादीले पाएको सिट संख्या हेर्दा सत्ता गठबन्धनका लागि आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ ।

यहाँ कांग्रेसले प्रत्यक्षमा १२ तथा समानुपातिकमा ७ गरी १९ सिट पाएको छ । त्यस्तै माओवादीले प्रत्यक्षमा ८ तथा समानुपातिकमा ३ सिट गरी कुल ११ सिट पाउने देखिन्छ । सरकार गठनका लागि आवश्यक पर्ने २७ सिट कांग्रेस र माओवादीको सिट संख्या जोड्दा ३० हुन आउने हुँदा बहुमतका लागि अरु दलसँग सहकार्य गर्नु नपर्ने देखिन्छ ।

सुदूरपश्चिममा एमालेले प्रत्यक्षमा ३ तथा समानुपातिकमा ७ गरी १० सिट पाउने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया