जसले प्रतिनिधि सभा चुनावमा ५ सयभन्दा कम मतान्तरले हारे

 मंसिर २२, २०७९ बिहिबार २०:१९:१४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – यसपालिको चुनावमा ११ जना नेताले पाँच सयभन्दा कम मतान्तरले हारेका छन् । पाँच सयभन्दा कम मतान्तरले हार्नेमा सबैभन्दा धेरै नेकपा एमालेका छ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका एक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना उम्मेदवार छन् ।

१) सबैभन्दा थोरै मतले हार्नेमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे हुनुहुन्छ । निकटतम प्रतिस्पर्धी उहाँले पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट ३२ हजार ८९ मत पाउँदा एमालेका वसन्तकुमार नेम्वाङले ३२ हजार एक सय ३५ मत प्राप्त गरि विजयी हुनुभयो । आङदेम्बे ४६ मतको झिनो मतान्तरले पराजित हुनुभयो ।

२) इलाम क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का पनि थोरै मतले पराजित हुनेमा पर्नुहुन्छ । उहाँ एक सय १४ मतान्तरले पराजित हुनुभएको हो । खड्काले पूर्वसभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग पराजय भोग्नुभएको हो । नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार नाै सय छ मत प्राप्त गर्नुभयो ।

३) राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले पनि एकदमै थोरै मतान्तरमा हार्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएका मिश्रले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजय बेहाेर्नुभएकाे हो । मिश्रले सात हजार १८ मत ल्याएर पराजित हुँदा सिंहले सात हजार एक सय ४३ मत ल्याएर विजयी हुनुभएको हो । मिश्रले सिंहसँग एक सय २५ काे मतान्तरमा हार्नुभयो । २०७४ सालको चुनावमा पनि मिश्र सिंहसँगै पराजित हुनुभएको थियाे । त्यस बेला आठ सय १८ मतान्तरले पराजित हुनुभएका मिश्र विवेकशील साझा पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । मिश्रले २०७४ सालको चुनावमा १० हजार एक सय १८ मत ल्याएर पराजित हुँदा सिंहले १० हजार नाै सय ३६ मत ल्याएर विजयी हुनुभएको थियो ।

४) नेकपा एमालेका उमाशंकर अरगरिया पनि अत्यन्त थोरै मतले पराजित हुने उम्मेदवारमा पर्नुहुन्छ । उहाँ एक सय ५७ मतन्तरले पराजित हुनुभएको हो । धनुषाको क्षेत्र नम्बर २ का उम्मेदवार अरगरियाले १९ हजार नाै सय ५५ मत प्राप्त गर्दा विजयी उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण यादवले २० हजार एक सय १२ मत पाउनुभयाे ।

५) कांग्रेसका सुरेन्द्र चौधरीले पनि झिनो मतान्तरले पराजय भाेग्नुभयाे । पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौधरीले २४ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । त्यस क्षेत्रका विजयी उम्मेदवार एमालेका राजकुमार गुप्ताले २४ हजार तीन सय १९ मत प्राप्त गर्नुभयाे । चौधरी एक सय ६७ मतन्तरले पराजित हुनुभएको हो ।

६) नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल पनि दुई सयभन्दा कम मतान्तरले पराजित हुनेमा पर्नुहुन्छ । दैलेख निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले २० हजार १६ मत प्राप्त गर्नुभयाे । विजयी नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीले २० हजार एक सय ८३ मत प्राप्त गर्नुभयाे । पोखरेल एक सय ६७ मतान्तरले पराजित हुनुभएको हो ।

७) नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि थोरै मतान्तरबाट पराजित हुनेमा पर्नुहुन्छ । दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका पोखरेल एक सय ९३ मतको अन्तरले माओवादी केन्द्रकी रेखा शर्मासँग हार्नुभयो । पोखरेलले २६ हजार छ सय ८७ मत ल्याएर पराजित हुँदा शर्माले २६ हजार आठ सय ८० मत ल्याएर विजयी हुनुभयो ।

८) माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री पनि दुई सयभन्दा कम मतान्तरमा पराजित हुनुभएको हो । ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत ल्याउँदा एमालेका योगेशकुमार भट्टराई २१ हजार नाै सय ४३ मत ल्याएर विजयी हुनुभयो । बुढाक्षेत्री दुई सय आठ मतान्तरले भट्टराईसँग पराजित हुनुभएको हो ।

९) दोलखामा एमालेका बालकृष्ण शिवाकोटी तीन सय १५ मतान्तरले पराजित हुनुभयो । नेकपा माओवादीका गंगा कार्कीले ३६ हजार आठ सय २० मत ल्याएर विजयी हुँदा शिवाकोटीले ३६ हजार पाँच सय पाँच मत ल्याएर पराजय भोग्नुपर्‍याे ।

१०) एकमात्र क्षेत्र रहेको मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ पनि झिनो मतान्तरबाट पराजित हुनेमा पर्नुहुन्छ । उहाँ तीन सय २८ मतले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङसँग पराजित हुनुभएको हो । पाल्देनले दुई हजार दुई सय ४७ मत ल्याएर पराजित हुँदा टेकबहादुरले दुई हजार पाँच सय ७५ मत ल्याएर विजयी हुनुभयो । तर विजयी भए पनि टेकबहादुरले भने शपथ लिन पाउनुहुन्न । भृकुटीमण्डपमा रहेको फनपार्क ठेक्कामा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेकोले गुरुङ शपथ लिन तथा संसदमा उपस्थित हुन पाउनुहुन्न ।

११) मोरङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार घनश्याम खतिवडा पनि पाँच सयभन्दा कम मतान्तरले हार्नेमा पर्नुहुन्छ । उहाँ चार सय ३० मतले कांग्रेसका डिगबहादुर लिम्बुसँग पराजित हुनुभएको हो । लिम्बुले २७ हजार दुई सय ९७ मत ल्याएर विजयी हुँदा खतिवडाको २६ हजार आठ सय ६७ मत आएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया