आम चुनाव २०७९ : कांग्रेसलाई तुलनात्मक लाभ, एमाले र माओवादीलाई घाटा

 मंसिर २३, २०७९ शुक्रबार १२:३८:३६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

२०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सिट गरी कुल ६३ सिट ल्याएर दोस्रो भएको कांग्रेस यसपटकको चुनावमा भने सबैभन्दा ठूलो दल बनेको छ । यसपटक कांग्रेसले प्रत्यक्षमा ५७ तथा समानुपातिकमा ३२ सिट गरी कुल ८९ सिट ल्याएको छ । २०७४ सालमा एक्लै चुनावी प्रतिस्पर्धामा गरेको कांग्रेसले अहिले भने माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेको हो ।

समानुपातिकतर्फको मतको कुरा गर्दा कांग्रेसले २०७४ को तुलनामा ४ लाख १३ हजार १ सय ६४ मत गुमाएको छ । अहिले १ करोड ५ लाख ६० हजार ८२ कुल सदर मतमध्ये कांग्रेसले समानुपातिकमा २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको छ । कांग्रेसले २०७४ सालको चुनावमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो ।

यसपटकको चुनावमा सबैभन्दा क्षति नेकपा एमालेले व्यहोरेको छ । २०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले प्रत्यक्षमा ८० तथा समानुपातिकमा ४१ गरी १ सय २१ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो । तर, अहिले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटमा समेटिँदै संसदमा दोस्रो ठूलो दल बनेको छ । सिट संख्याका हिसाबले एमालेलाई सबैभन्दा धेरै ४३ सिटमा नोक्सानी पुगेको छ ।

एमालेले यसपटक समानुपातिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेर समानुपातिकतर्फ पहिलो भए पनि २०७४ को तुलनामा एमालेको ३ लाख २७ हजार ८ सय ५३ मत गुमाएको छ ।

२०७४ सालको चुनावमा प्रत्यक्षमा ३६ तथा समानुपातिकमा १७ गरी कुल ५३ सिटका साथ तेस्रो भएको माओवादी यसपालिको चुनावमा २१ सिट कम प्राप्त गरे पनि तेस्रो भएको छ । अहिले प्रत्यक्षमा १८ तथा समानुपातिकबाट १४ सिट प्राप्त गरी माओवादीले ३२ सिट प्राप्त गरेको छ ।

समानुपातिकमा २०७४ सालमा माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत ल्याएकोमा अहिले भने ११ लाख ७५ हजार ६ सय ८४ मत प्राप्त गरेको छ । अहिले माओवादीको २१ सिट घट्नुका साथै समानुपातिकमा १ लाख २८ हजार ३७ कम मत पाएको छ ।

प्रत्यक्षमा कांग्रेसले आफनो सिट संख्यामा सुधार गरे पनि समानुपातिकमा भने ठूला भनिने कांग्रेस, एमाले र माओवादी तीन वटै पार्टीको मत घटेको छ ।

अहिले अस्तित्वमा नरहेका राष्ट्रिय जनता पार्टी (राजपा) ले १७ र सङ्घीय समाजवादी फोरमले २०७४ को चुनावमा १६ सिट जितेका थिए । टुट्दै जुट्दै र फुट्दै अहिले यी दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को रुपमा छन् ।

जसपाले प्रत्यक्षमा ७ सिट तथा समानुपातिकमा ४ लाख २१ हजार ३ सय १४ मत प्राप्त गरी समानुपातिकतर्फ ५ सिट प्राप्त गर्नेछ । कुल १२ सिट रहने जसपा संसद्को छैठौँ शक्तिको रुपमा रहने छ ।

प्रत्यक्षमा ४ सिट ल्याए पनि लोसपा १ लाख ६७ हजार ३ सय ६७ मत ल्याएर ३ प्रतिशतको थ्रेसहोल्ड नकटाएको कारण राष्ट्रिय पार्टी बन्न सकेको छैन । यसकारण उसले समानुपातिकतर्फ भने कुनै सिट पाउने छैन ।

यो चुनावमा पार्टीका रुपमा पहिलो पटक चुनावमा सहभागी भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने राम्रो उपलब्धि हासिल गरेको छ । रास्वपाले प्रत्यक्षमा ७ सिट जितेको छ भने समानुपातिकमा ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर समानुपातिकतर्फ १३ सिट पाउँदै आफ्नो सिट संख्या २० पुर्याएको छ । साथै संसदमा रास्वपा चौथो शक्तिको रुपमा देखा परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूलाई यो चुनावमा निकै सुधारेको छ । २०७४ सालको चुनावमा प्रत्यक्षमा १ सिट मात्र जितेको राप्रपाले ३ प्रतिशत मत कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्न सकेको थिएन । २०७४ को चुनावमा समानुपातिकतर्फ १ लाख ९६ हजार ७ सय ८२ मत ल्याएको राप्रपाले यस पटक समानुपातिकमा ५ लाख ८८ हजार ८ सय ४९ मत प्राप्त गरेको छ । राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ सिट गरी कुल १४ सिट सहित आफूलाई पाँचौँ शक्तिको रुपमा उभ्याएको छ ।

प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याउँदै आफूलाई राष्ट्रिय पार्टीको रुपमा उभ्याएको छ । समानुपातिकमा ५ र प्रत्यक्षमा १ सिट गरी समानुपातिकको ६ सिट हुने भएको छ । विखण्डनको राजनीति छोडेर पहिलो पटक संसदीय राजनीतिको मूलधारमा आएको जनमत पार्टीको सफलता कम रोचक छैन ।

प्रत्यक्षमा १० सिट जिते पनि पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्ने र समानुपातिक सिट पाउने अवसरबाट चुक्यो । २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको एकीकृत समाजवादीले १८ हजार ४ सय ११ कम प्राप्त गरेका कारण राष्ट्रिय पार्टी बनेन ।

यस पटक स्वतन्त्ररुपमा चुनाव जितेर प्रतिनिधि सभामा प्रवेश गर्ने ५ जना सांसद छन् । भने १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, र जनमत पार्टी भने पहिलो पटकको सहभागितामा नै राष्ट्रिय पार्टीको रुपमा रहनेछन् । पहिलो पटक चुनावमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ३ सिट जित्नुलाई पनि उसको राम्रै सफलता मानिएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा १/१ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका कारण राष्ट्रिय पार्टी बन्न सकेनन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ६५ सदस्यीय संसदमा बहुमतका लागि १ सय ३८ सिट चाहिन्छ । अहिलेको परिणाममा कुनै एक दललाई स्पष्ट बहुमत प्राप्त नभएका कारण सरकार गठनका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धन बनाएर चुनाव लडेका पार्टीहरुबीच तालमेल हुनुपर्ने देखिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया