नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भोलि सकिँदै

 पुष ९, २०७९ शनिबार ११:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न दलहरुलाई भोलि बेलुका ५ बजेसम्मको समय दिनुभएको छ । बहुमत पुर्याउने दलले भोलि बेलुकी ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ । कांग्रेस र एमालेबाहेक कुनै पनि दुई दल मिल्दा बहुमत पुग्ने अवस्था छैन । तर सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र निरन्तर छलफलमा भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

हिजो बेलुकाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आज फेरि छलफलको तयारी छ । गठबन्धनकै सरकार गठनका लागि आज दिउँसो ३ बजे पुनः छलफल हुने नेताहरुले बताएका छन् ।  

देउवा र प्रचण्डबीच हिजो भएको छलफलमा नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसँग पनि छलफल भइरहेको बताउनुभएको छ ।

बाँकेको नेपालगञ्जमा आज भएको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपतिले दिएको समयसीमा भोलिसम्ममा सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया