अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

 पुस १०, २०७९ आइतबार ८:३६:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानको तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।

सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । महिलालाई काममा नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई सूचना पठाइएको छ ।

इस्लामी हिजाबको पालना नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको सूचनामा उल्लेख छ ।

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले यो आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै सङ्घसंस्थासँग आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तालिबान सरकारले केही दिन अघि मात्रै महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने निर्णय गरेको थियो ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला तथा किशोरीका अधिकारमाथि हस्तक्षेप हुँदै आएको छ । उनीहरुलाई धेरैजसो सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध छ । तालिबान सरकार महिला अधिकारका विषयमा झन् झन् अनुदार बन्दै गएको भन्दै आलोचना तथा प्रदर्शन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया