कोरोनाविरुद्धको बुस्टर डोज लगाएकालाई थप खोप दिने सरकारको तयारी : १५ लाख डोज खोप आउँदै

 पुष १०, २०७९ आइतबार ११:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने तयारी छ । अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपको लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन आग्रह गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।

छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन समेत स्वास्थ्य र गृह मन्त्रालयले आग्रह गरिसकेका छन् । तर नेपालमा अहिलेसम्म नयाँ प्रजातिको बीएफ–७ देखिएको छैन ।

कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो । मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया