अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटनमा भोलि पाेखरामा सार्वजनिक बिदा, साँझ दीपावली मनाइने

 पुस १६, २०७९ शनिबार १७:५६:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा निर्माण सकिएको पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भाेलि हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने तय भएको छ ।

विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिएकाे छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । 

उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पाेखरा महानगरले लिएको छ । पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभुषासहितको र्‍यालीको आयोजना गर्नेछ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयाे ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ ।  बुद्ध एअरले १ महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्‍याएर केही महिनाभित्र उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयाे ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया