खुलामञ्चलाई 'पार्किङ' स्थल बनाउन लागिएको भन्दै महानगरपालिकाको कार्यालय अगाडि विरोध

 पुष १८, २०७९ सोमबार १५:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खुलामञ्चलाई पार्किङ स्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । 

काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरूले आज सोमवार महानगरको निर्णयको विरोध गरेका हुन् । उनीहरूले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । 

अभियन्ताहरूले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व मासिने गरी पार्किङ बनाउन नहुने बताएका छन् ।स्थानीयवासी र संरक्षण अभियन्ताहरूले सोमवार विरोध जनाउँदै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङको सोच नै गलत रहेको बताउँदै आएका छन् । 

विरोध कार्यक्रममा बोल्दै अक्युपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले नागरिकदेखि जनप्रतिनिधि सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिका सार्वजनिक जग्गाको संरक्षक भए पनि मालिक नभएको टिप्पणी गर्नुभयो । 

त्यस्तै अभियानका कार्यक्रममा सहभागी बन्नुभएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाण्डौजस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभाबी संरचना बनाउन नमिल्ने बताउनुभयो । उहाँले टुँडिखेलजस्तो ऐतिहासिक ठाउँमा अन्डरग्राउन्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिन नहुने बताउनु भयो । पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अन्डरग्राउन्ड पार्किङ बनाउन उहाँको सुझाव छ । 

ज्ञापनपत्र बुझ्दै काठमाण्डौ महानगरपालिकाकी उपमेयर डंगोलले जनचाहना विपरीत टुँडिखेलमा अन्डरग्राउन्ण्ड पार्किङ नबनाइने बताउनुभएको छ । उहाँले अन्डरग्राउन्ण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएरमात्रै काम अघि बढाइने बताउनुभयो ।

गएको कात्तिकमा काठमाण्डौ महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा 'ट्रिपल बेसमेन्ट' पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको त्यो निर्णय विवादित बनेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया