जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

 पुस १८, २०७९ सोमबार १६:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । 

आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो परराष्ट्र नीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरक–फरक भए भने फरक–फरक हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘सचिव, सहसचिवहरू पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेर हद बनाएर आफू त्यो ठाउँमा हुन चाहन्छ । ६० वर्ष भएको मान्छे राेकेर आफू नै बस्न चाहन्छ । म त तपाईँको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन् । त्यसपछि के हुन्छ ? हाम्रोमा व्यावहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका पाँच वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आउँदा दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताउनुभयो । उहाँले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापर्बाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने बताउनुभयो । 

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया