राष्ट्रिय सहमतिकाे सरकार बनाउनुपर्छ : रामचन्द्र पाैडेल

 पुस १९, २०७९ मंगलबार १३:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो । 

उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिकलगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । लामो सङ्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘आज देशमा के भइराखेको छ । अर्थतन्त्र यत्रो खतरनाक अवस्थामा छ भन्ने छ । विश्वको मन्दी यहाँ पनि घुम्दै आइराखेको छ । चीनमा देखिएको कोरोना फेरि घुम्दै घुम्दै इन्डिया हुँदै नेपाल आउँदैछ भनिएको छ । यस्तो बेलामा आफ्ना लागि उपयुक्त बाँच्ने उपाय के हो त ? मलाई अझै पनि लाग्छ राष्ट्रिय सहमतिको खोजी गरौँ । ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन, व्यवस्था, यो संविधानको स्वार्थमा एक पटक फेरि हामीले राष्ट्रिय सहमति खोज्ने हो कि ?’

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन 'हाइज्याक' भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताउनुभयो । विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशका लागि दुर्भाग्य भएको उहाँको जिकिर छ । देशमा अस्थिरताको शृङ्खला अगाडि बढेको नेता पौडेलको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ । हाम्रो हिसाबकिताबले यहाँ काम गरेकै छैन । कुन हिसाबकिताबले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्कोथोक भइराखेको हुन्छ । कांग्रेसले माओवादीलाई हँसिया हथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नो विपरीत सिद्धान्तलाई पनि अङ्गीकार गरेर चुनाव सम्पन्न भयो । त्यो गठबन्धन एकाएक हाइज्याक भयो । यो देशका लागि दुर्भाग्य हो । अस्थिरताको शृङ्खला अत्यन्त तीव्रताका साथ अगाडि बढ्यो । यसले फेरि देशलाई गरिखान दिँदैन ।’

वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानुन बनाउनका लागि नागरिकको प्रतिनिधिको रूपमा पठाइने भए पनि सांसदहरू विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताउनुभयो । नागरिकले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको उहाँले बताउनुभयो । नागरिकले सांसदले कति विकास ल्यायो–ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

उहाँले संविधानले दिएजति अधिकार पालिकाले पाउन नसकेको गुनासो गर्नुभयो । केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण पालिकाले अधिकार नपाएका उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया