दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने सरकारको तयारी

 पुष २२, २०७९ शुक्रबार ११:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।

नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । दादुरा सर्ने रोग हो । दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छन् ।

सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुबेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । तर नेपालगञ्जमा सङ्क्रमित २९ जनामध्ये २५ जनाले खोप नलगाएको समेत पाइएको छ ।

नेपालगञ्ज उपमहानगरभित्र एक हजार ७७ जनाले खोप नै नलिएको समेत पाइएको छ । कतिपयले दोस्रो मात्रा खोप लगाएका छैनन् । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसङ्ख्या धेरै भएका नेपालगञ्ज जस्ता अरु ठूला सहरमा जोखिम उच्च छ । यो चिन्ताको विषय बनेको डा. विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार ज्यान गुमाएका बालकलाई सङ्क्रमण भएपछि ७/८ दिन घरमै राखेको र गम्भीर अवस्थामा मात्र अस्पताल पुर्याएको जानकारीमा आएको छ । त्यहाँ सुरुमा ५ जनाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्दा ४ जनामा दादुरा पुष्टि भएको थियो । अहिले जिल्ला स्वास्थ्य कार्यालय, उपमहानगरको टोली र डब्ल्यूएचओको खोप कार्यक्रममा सहयोग गर्दै आएको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

पहिलो चरणमा प्रकोप देखिएका ७ वटा वडामा दादुरा रुबेलाको खोप अभियान चल्नेछ । त्यसपछि उपमहानगरभित्रका अरु वडामा पनि अभियानकै रुपमा खोप कार्यक्रम चलाउने परिवार कल्याण महाशाखाका प्रमुख डा.लालले जानकारी दिनुभयो । प्रकोप नै देखिएको ठाउँमा खोप अभियान सञ्चालन गर्दा यसअघि खोप लगाउन छुटेका १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया