जुद्ध शम्शेरकी पत्नीले कलधारा बनाउन लगाएर पुरिएको इनार भेटिएपछि...

 पुस २४, २०७९ आइतबार ८:४६:५८ | कुमार रञ्जित
unn.prixa.net

राणा शासकहरुबाट नजरबन्दी जस्तै रहेका राजा त्रिभुवनले राज्यारोहण गरेको पच्चिसौँ वर्ष पुगेको अवसरमा तत्कालीन नेपालका सर्वशक्तिमान श्री ३ जुद्ध शम्शेरले “रजत जयन्ती समारोह” धुमधामका साथ सम्पन्न गराए । त्यो विक्रम सम्वत् १९९३ साल फागुन २५ गतेको दिन थियो । त्यसैको खुशीयालीमा अघिल्लो दिन नै राजकुमार महेन्द्रलाई राजदरबारमै “ओजस्वी राजन्य” नामक सर्वोच्च पदकबाट विभूषित गरियो ।

“श्री ३ हरुको तथ्य वृत्तान्त” पुस्तकका लेखक पुरुषोत्तम शम्शेर जबराले “श्री ३ महाराज प्रधानमन्त्री तथा मार्शल जुद्ध शम्शेर जंग बहादुर राणा” अध्यायमा लेख्नुभएको छ : “२५ गते सबेरै “रजत तुलादान” गरियो । त्यसै अवसरमा बेलायती सम्राट र भारतमा रहेका भायसरायले श्री ५ त्रिभुवनलाई बधाई सन्देश ज्ञापन गरेर पठाए । त्यसको २४ दिनपछि अर्थात् चैत्र १९ गतेका दिन राजा त्रिभुवनले बेलायती सम्राट षष्टम जर्जलाई प्रदान गर्न नेपालको सर्वोच्च “ओजस्वी राजन्य” पदकसहित केशर शम्शेरलाई बेलायत पठाइयो ।”

१९९० सालको विनाशकारी महाभूकम्पबाट छिन्नभिन्न भएको दूर्दान्त अवस्थामा पनि विदेशी सहयोग चन्दा नलिने घोषणा गरेका श्री ३ जुद्धले तीन वर्षपछि नै बेलायती सम्राटप्रति यत्रो सदाशयता किन देखायो होला भन्ने प्रश्नको उत्तरका रुपमा देशभित्र दन्किन लागेको जनआक्रोशको ज्वालाबाट तर्सिएका राणा शासक जुद्ध शम्शेर विदेशी सहयोगको आशामा पदक र उपहार लिएर भौँतारिरहेका भेटिन्छन् । राणा इतिहासका व्याख्याता जबराले लेख्नुभएको छ : “वि.सं. १९९३ को आखिरी अथवा ९४ सालको सुरुतिर “नेपाल नागरिक अधिकार समिति” स्थापना गरेबापत काठमाण्डौमा शुक्रराज शास्त्रीलाई पक्रेर कैद गरियो ।” 

ठीक त्यसै समय जुद्ध शम्शेरका प्रिय बडामहारानी पद्म कुमारी देवी नागरिकका सेवामा समर्पित भएर लागेकी देखिन्छन् । उनले आफ्नो नाम र समाजसेवी काम सहित उल्लेख गरेर काठमाण्डौको टोखाको मूल चोकमा राख्न लगाएको शिलापत्रमा यस्तो कुँदिएको छ :  

“श्री मङ्गलमूर्तय नमः ।। टोखा सहरमा सफा पानी नभई कुलो र इनारको पानी खान परी त्यहाँका वासिन्दालाई र त्यसै गाउँको बाटो गरी आउने जाने प्रजा प्राणीलाइ समेत बेसुविधा भएको कुरा ओजस्वी राजन्य प्रोज्वल नेपाल तारा अति प्रवल गो्रखा दक्षिण बाहु पृथुलाधीश श्री श्री श्री महाराज जुद्ध समसेर जङ्ग बहादुर राणा प्रायमिष्टिर एण्ड सुप्रीम कमाण्डर इन चीफका धर्मपत्नी हामी श्री श्री श्री बडामहारानी पद्म कुमारी देवीका हजूरमा जाहेर भएकोले हामीबाट सो सहरमा कलधारा तयार गराइ प्रतिष्ठा समेत गरी.... 

भूयो भूयो भावितो भूमि पाला नत्वा नत्वाया वते रामचन्द्र ।।
सागात्योप धर्म सेतुनं राणाकाले पात्वनी यो भवद्मी ।। 
भन्ने यो पुरानो श्लोकलाइ दोहोर्याउँदै पछि हुने स्वज्जनहरु सित प्रार्थना गरी प्रतिष्ठा गरिएका कलधाराहरुले सबैको सुख शान्ति मिलोस् भन्ने पवित्र कामनाले आजको शुभ दिनमा कलधारा खोली सर्वसाधारणको उपयोगका निमित्त उत्सर्ग गरिबक्सेको छ । इती सम्बत् १९९४ साल सम्बत् बैशाक २२ गते रोज शुभम् ।”

 
शिलापत्रमा उल्लेखित वाक्यले तत्कालीन अवस्थामा टोखामा रहेका इनारहरु साथै कुलोहरुका पानी खान हुने गरी सफा नभएको र स्थानीय नागरिकबाट त्यसको विकल्पका रुपमा आफूकहाँ जाहेर गर्न आएको देखाइएको छ । त्यसताका प्राचीन नेवाः बस्ती टोखामा दर्जनभन्दा बढी इनार साथै कुलो रहेको स्थानीय ज्येष्ठ नागरिकहरुका स्मृतिमा रहेका छन् । स्थानीय ८१ वर्षीय पूर्णमान डंगोललाई उल्लेख गर्दै उहाँका पुत्र मुक्तिमान डंगोलले दिनुभएको जानकारी अनुसार टोखामा त्यतिबेला कुनै सार्वजनिक कलधारा थिएन, तलेजु पूजाका लागि त्यस परिसरमा शुद्ध जल र खानेपानीका लागि चारकुने आकारको एकमात्र मान्छे छिर्न मिल्ने इनार थियो र त्यसै इनारबाट पानी लिएर उपभोग समेत गर्ने गरेको थियो । साथै पानीका लागि कलधाराहरुको प्रयोग साथै पुराना इनारहरु पुरिँदै र लोप नै हुँदै गएको स्थानीयले प्रत्यक्ष अनुभव गरेका छन् ।
टोखा उत्तरी काठमाण्डौको उचाइमा रहेको भू–भागमा अवस्थित प्राचीन सहर हो । त्यहाँको थःनेलाछि (माथिल्लो चोक) मा संवत् ५१७ उल्लेखित लिच्छविकालीन शासकहरु शिवदेव र अंशुवर्मा दुवैको नाम कुँदिएको शिलापत्र रहेको छ । त्यस शिला अभिलेखमै पनि कुलो, पानी, खोलो जस्ता शब्दहरुको प्रयोग प्राथमिकताकासाथ अत्यधिक भएको पाइएकाले त्यस ठाउँमा पानीको व्यवस्थापन लिच्छविकालदेखि नै कठिनतापूर्वक हुँदै आएको प्रष्ट हुन्छ । 

शिला अभिलेखको विवरण अनुसार खोलाको पानी कुलोमार्फत् नागरिकका घर आँगनमा पुर्‍याउँदै आएको टोखामा समयको कालक्रमसँगै इनारहरु बनेको र जुद्ध शम्शेरकी पत्नीमार्फत् नयाँ कलधाराहरु बनाइएपछि ती इनारहरु पनि मासिँदै गएको प्रष्ट हुन्छ । 

गएकाे महिना मात्रै टोखाको “क्वाख” भनिने तलेजु लगायत अन्य धार्मिक तथा सांस्कृतिक परिसरमा जमिन खन्दा अन्यत्रभन्दा भिन्न आकार प्रकारको चारकुने इनार आकृति भेटिएको हो । त्यस इनार जुद्धपत्नी पद्म कुमारी देवीले कलधारा निर्माण गराउनुभन्दा अघि तलेजु पूजासित सम्बन्धित रहेकोमा द्विविधा रहेन । तर पुरिँदा भएका कुलो र इनारहरुलाई पानी खान अयोग्य घोषणा गर्दै नागरिकका उपभोगबाट पन्छाइएको थियो भन्ने पनि शिलापत्रमा कुँदिएको अभिलेखबाट प्रष्ट भएको छ । 

शुक्रराजलाई पक्राउ गरिएपछि १९९४ सालको असोज २ गतेका दिन श्री ३ जुद्धले आफ्नो शालिक काठमाण्डौको नयाँ सडकको मध्य भागमा ठड्याउन लगाए, जो अद्यापि रहेको देख्न सकिन्छ । त्यसको केही महिनामै जुद्धले ललितपुरको जावलाखेलमा नेपालभरि भेटिएसम्मका जिउँदा जनावर र चराहरु राखेर चिडियाखाना उद्घाटन गरे । त्यसको तीन वर्षअघि नै जुद्धले टोखाभन्दा माथि शिवपुरी जंगलबीच क्षयरोगीहरुलाई राख्ने भवन उद्घाटन गरिसकेका थिए ।   

वीर शम्शेरदेखि देव शम्शेर, चन्द्र शम्शेर, भीम शम्शेर लगायतका पालामा पनि कलधाराहरु उपत्यकाका विभिन्न बस्तीका टोल र चोकहरुमा राखिएका भेटिन्छन् । तर यसरी शिलापत्रमै कुँदेर कुलो र इनारहरु विस्थापित गर्ने काम जुद्धपत्नी पद्म कुमारी देवीबाट मात्रै भएको देखिन्छ । त्यसपछि पनि थुप्रै कलधारा लगायत अन्य प्रकारका आधुनिक धाराहरु बस्तीहरुमा बनाइए । तर राजनीतिक सन्निकट विद्रोहको सम्भावित संकटमा परेको जुद्ध शासनमा बनाइएका कलधाराहरु प्रतिष्ठा गर्नका लागि टोखामा राखिएको शिलापत्रमा कुँदिएका हरफहरुले पद्म कुमारी देवीको शासकीय महत्वाकाङ्क्षा अभिव्यक्त भएको रुपमा देख्न सकिन्छ।

महाभूकम्पपछि श्री ३ जुद्धकै निर्देशन अनुसार बनाइएको सहायता कोषमा पनि रकम सहयोग प्रदान गरेकी पद्म कुमारी देवीको नाम जुद्धले महाभूकम्पको स्मृतिमा बनाइएको अभिलेखीय स्तम्भमा पनि उल्लेख गरिनुले पद्म कुमारी जुद्धको शासकीय काममा निकट हुन् भन्ने निश्चित छ । १९९७ सालमा राणा शासनका विरोधमा नागरिकलाई जागरुक गर्दै सङ्गठित गरेकोमा चार युवाहरुलाई मृत्युदण्ड दिइएपछि नागरिकको परिवर्तनको चाहनासामु टिक्न नसकिने अवस्था आएर २००५ साल मंसिरमा मातृभूमि नै त्याग्दै सदाका लागि भारततर्फ प्रस्थान गरेका जुद्ध शम्शेरको जीवन इतिहासमा उनकी पत्नी पद्म कुमारी देवीको जीवन मात्रै नभइ टोखाको पानी पनि जोडिएको छ । जसको साक्षी–प्रमाण टोखामा अद्यापि सुरक्षित राखिएको छ । 

कलधारा निर्माणपछि प्रयोजनहीन हुँदै विस्मृतिमा पुगेको ८५ वर्षपछि पुरिएको अवस्थामा भेटिएको इनार आकृतिले सांस्कृतिक संरक्षित क्षेत्र टोखामा पुरातत्वप्रति चासो राख्नेहरुमा उत्सुकता जगाएको छ । त्यसले उच्च भूभागमा अवस्थित टोखाका बासिन्दाले खानेपानीका लागि गरेको सङ्घर्षको इतिहास झल्काइरहेको छ साथै राणाकालीन नेपालको सामाजिक, आर्थिक र राजनीति पनि प्रतिविम्बित छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया