चीनमा ३ वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला, २ अर्ब जना मान्छे आवतजावत गर्ने

 पुस २४, २०७९ आइतबार १८:१७:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला गरेको छ । कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि खुला गरेको बीबीसीले जनाएको छ ।

अबदेखि चीन प्रवेश गर्ने पर्यटकले क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर चीनमा गएका पर्यटकले पुगेको ४८ घण्टाभित्र पीसीआर टेस्ट 'नेगेटिभ' भएको प्रमाण भने पेस गर्नुपर्ने छ । अब केही हप्ताभित्रै हङकङबाट चार लाख मानिस मुख्य भूमि चीन प्रवेश गर्ने तयारी छ । बेइजिङ र सियामेनलगायत चीनका अन्य प्रमुख सहरहरूका लागि हङकङमा उडानको लामो लाइन रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले नयाँ वर्षको भ्रमणको पहिलो चरण अर्थात् चुन युनको सुरुवातमा सीमा नाका खुला गरेको हो । कोरोना महामारी सुरु हुनुअघि यो अवसरमा विदेशबाट ठूलो सङ्ख्यामा चिनियाँ परिवार भेट्न स्वदेश फर्कन्थे । तर कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो ।

नयाँ वर्षको उपलक्ष्यमा यस वर्ष चीनमा दुई अर्ब मानिसले आवतजावत गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चीनमा अहिले पनि कोरोना सङ्क्रमण फैलिरहेको छ । चीनले सीमा नाका खुला गर्नुअघि नै अमेरिकालगायत विश्वका थुप्रै देशले चीनबाट आउनेहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिसकेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया