सरकारले विश्वासको मत पाउँछ : अध्यक्ष ओली

 पुष २४, २०७९ आइतबार २०:२:१६ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । 

पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आइतवार आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उहाँले आउँदो मङ्गलवार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईँहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, ओलीले भन्नुभयो । 

अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताउनुभयो । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झन्ड दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उहाँले भन्नुभयो । उहाँले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताउनुभयो । 

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताउनुभयो । ‘चुनावअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना चुनावपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली नागरिक खुसी छन्’, उहाँले भन्नुभयो । 

एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँको धारणा थियो । भोलि सोमवारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया