मलेसियामा समस्यामा परेका श्रमिकको अनुभव : काम गर्न आएका हौँ, पिटाइ खान होइन भन्दा अनकन्टार कोठामा थुन्दियो

 पुष २७, २०७९ बुधबार १५:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ टिज इनरप्राइजेज कम्पनीमा २८ जना नेपालीहरूमाथि काम गर्ने सिलसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको छ । कुटपिट भएपछि कम्पनीबाट निकालेर अन्यत्र ठाउँमा राखेको गुनासो म्यानपावर कम्पनीका प्रतिनिधि र श्रमिकले दूतावासमा राखेका थिए । ३ जनवरीमा श्रमिकको समस्या आएपछि दूतावासले त्यसै दिन प्रहरीमा उजुरी गरेको थियो । श्रमिकमाथि कुटपिट गर्नेलाई मलेसियन प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । श्रमिकको समस्या समाधानमा भने दूतावासले रोजगारदाता र म्यानपावरका प्रतिनिधिसहिते छलफल गरेको थियो । छलफलमा श्रमिकको चाहना अनुसार घर फर्कन चाहनेलाई घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गर्ने प्रतिबद्धता रोजगारदाता कम्पनीले गरेको दूतावासले जनाएको छ । उनीहरू रोजगारीका लागि ८ सेप्टेम्बर २०२२ मा पुगेका थिए । कम्पनीमा भएको के हो त ? आफूहरूले भोगेको समस्याबारे समस्यामा पर्ने मध्येका एक ठाकुर रेग्मीले उज्यालोको फेसबुक म्यासेजमार्फत आफ्नो अनुभव साट्नुभएको छ । 

उहाँको भनाइ उहाँकै शब्दमा 

म्यानपावरले महिनामा ८० हजार कमाइ हुने प्रलोभन देखायो । हप्तामा एक दिन बिदा पनि पाउने भएपछि मलेसियामा पाइने काम राम्रो लाग्यो । खोजी म्यानपावरलाई तीन लाखदेखि तीन लाख १० हजार रुपैयाँसम्म बुझाइयो । करार पनि त्यही अनुसार नै गराएको थियो । 

तर यहाँ आएको एक हप्तादेखि नै कम्पनीका मालिकले कुटपिट र गाली गलौच गर्न थाले । यसबारेमा हामीले एजेण्टलाई जानकारी गरायौँ । ऋण काढेरै आएकाले परिवारको मुख हरेर भए पनि सहेर नै बस्यौँ । तर शारीरिक र मानसिक यातना दिन क्रम रोकिएन । 

एक दिन त एक जना साथीलाई कम्पनीका मालिकले कार्टुनमा टेप लगाउने मेसिनले नै झटारो हाने । उसको निधारमा चोट लाग्यो । हामीले यो कुरा नेपालमा म्यानपावरलाई जानकारी पनि गरायौँ । केही दिनपछि म्यानपावरका व्यक्ति नै कम्पनीमा आउनुभयो । चोट देखेपछि उहाँले अब आइन्दा यस्तो नहोस् भनेर कम्पनीसँग सम्झौता गरिदिएर जानुभयो । तर उहाँ गएपछि पनि यो क्रम रोकिएन । करार अनुसार तलब पनि दिएन ।  फेरि म्यानपावरका व्यक्ति आउनुभयो र सान्त्वना दिनुभयो । 

मसहित नेपाली साथी जसोतसो काम गरिरहेकै थियौँ । तर यही जनवरी १ का दिन कम्पनीको मासु डेलिभरी गर्ने क्रममा कम्पनीले २५ २५ किलोको मासुको दुई वटा झोला एउटा एउटा हातले झुन्डाएर एकै पटक लैजान भनेछन् । मेरो साथीले नसकेपछि एउटा एउटा गर्दै बाेकेछन् ।

तर कम्पनी साहुले मैले तँलाई पैसा तिरेर ल्याएको हो मैले जे भन्छु त्यो तैँले गर्न पर्छ भन्दै दुई थप्पड हानेछन् । साथीलाई जङ्गलमा लगेर पनि कुटपिट गरेछन् । बाटो भरी पनि त्यसरी नै पिट्दै ल्याएछन् । मेरो साथीले ज्यान जोगाउन साहुको खुट्टा ढोग्दै यो कुरा कसैलाई भन्दिन तर मलाई केही नगर्नु भनेपछि बल्ल कोठामा ल्याइदिएछन् । साथीले आउनासाथ यो कुरा सुनाए । हामी सबै जना तर्सियौँ ।

अब यसरी सहेर हुँदैन भन्ने निधो गरी हामी सबै जना नेपाली मिलेर हाम्रो साथीलाई किन यसरी कुटपिट गरेको भनेर कम्पनी मालिकसँग सोध्यौँ । यही क्रममा भनाभन भयो । हामीले काम गरेर परिवार पाल्न आएको हौ । तर अन्याय सहँदैनौँ भनेपछि साहुले केही पनि कुरै नसुनी हामीलाई कम्पनीबाट बाहिर निकालियो ।

कम्पनीका साहु, मलेसियन प्रहरी र चाइनिज एजेण्टले हामीलाई गाडीमा हालेर झण्डै १५ किलोमिटर टाढा अनकन्टार बन्द कोठामा पानी, बत्ती केही पनि नभएको ठाउँमा थुनिदियो । यो कुरा हामीले मलेसियामा रहेको हाम्रो दूतावासलाई जानकारी गरायौँ ।

४ दिनपछि दूतावासका कर्मचारी आएर हाम्रो अवस्थाको अवलोकन गर्नुभयो । म्यानपावर कम्पनीलाई सुरक्षित रूपमा राख्न भन्नुभयो होला सायद भोलिपल्ट लिन मान्छे आउनुभयो । तर हामीले दुई ग्रुपमा बस्नु पर्ने भयो । झोलाबाट नाम लिस्ट निकाल्दै बोलाइयो र ९ जनालाईलाई लिएर जानुभयो । 

हामीलाई पनि लिन आउनुहुन्छ होला भन्दै हामी तयारी अवस्थामा बस्यौँ । निकै बेरसम्म नआएपछि हामीले नै फोन गर्‍यौँ । तर मलाई सन्चो छैन सोमबार मात्र आउँछु भन्दै फोन काटिदिनुभयो । पछि साथीहरूसँग बुझ्दा लगेका ९ जनालाई पनि कुनै अर्को कोठामा होइन कम्पनीमा लगेर छाडेको रहेछ ।

उनीहरूलाई सहमतिमा काममा लगाइयो या जबरजस्ती यसबारेमा हामी १९ जनालाई जानकारी छैन । तर हामीले नेपाल फर्कने भन्यौ । जसअनुसार आज ७ जना स्वदेश फर्कनुभएको छ । हामी पनि नेपाल फर्कन चाहन्छौँ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया