चीनमा काेराेनाबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाको ज्यान गयो

 माघ १, २०७९ आइतबार ७:९:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनमा कोभिडबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९ सय ३८ जनाको कोभिड सङ्क्रमण तथा त्यससँग सम्बन्धित अरु कारणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको हो ।

ज्यान गुमाउने यो तथ्याङ्क रेकर्ड गरिएको सङ्ख्या मात्र भएकाले अझ धेरै नागरिकले ज्यान गुमाएका हुनसक्ने अनुमान समेत गरिएको छ । जियाओका अनुसार रेकर्ड सङ्ख्यामध्ये ५ हजार ५ सय ३ जनाको कोभिड सङ्क्रमण तथा ५४ हजार ४ सय ३५ जनाको कोभिडसँग जोडिएका अन्य समस्याबाट ज्यान गएको हो ।

गएको डिसेम्बरमा शून्य कोभिड नीति हटाएपछि चीनमा सङ्क्रमण थप फैलिएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले ज्यान गुमाउनेहरु ६५ वर्षमाथि उमेर समूहका ९० प्रतिशतभन्दा धेरै रहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ । चीनमा ६० वर्षभन्दा माथिका लाखौँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया