किवी खेतीमा रमाउँदै भार्षेका कृषकहरु

 माघ १२, २०७९ बिहिबार १५:१२:४३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको भार्षेका कृषकहरु यतिबेला किवी खेतीमा आकर्षित हुँदै  जान थालेका छन । किवी खेतीवाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आकर्षण बढेको हो । जिल्लाको सत्यवती गाउँपालिका ८ भार्षेका कृषकहरु सामूहिक फर्म र व्यक्तिगत लगानीमा किवी खेती गर्दै आइरहेका छन । विगत दस वर्षदेखि किवी खेतीको सुरुवात गरेका त्यहाँका कृषकहरुले यतिबेला किवीको व्यवसायिक उत्पादनमा जोड दिन थालेका छन । त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक ४० लाख भन्दा बढी आम्दानीको जोहो गर्न थालेका छन । 

गुल्मी जिल्लामा सबैभन्दा बढी किवी खेती गर्ने पालिकामा सत्यवती गाउँपालिका रहेको छ । सत्यवतीको भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यवसायिक उत्पादन गरिँदै आएको छ । २२ हेक्टर क्षेत्रफलमा गरिएको किवी खेतीबाट यस पटक त्यहाँका कृषकहरुले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । भार्षेमा उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाण्डौसम्म पुग्ने गर्दछ । बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औसत मूल्य २ सय ५० रुपैँयासम्म रहेको छ । किवी यहाँका कृषकको मुख्य आम्दानीको स्रोत बनेको छ ।

किवी फलमा धेरै पौष्टिक तत्व हुने हुँदा सबै उमेर समूहका व्यक्तिहरुका लागि यो फल निकै राम्रो मानिन्छ । किवी खेतीको लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग गर्दै आएको छ ।

व्यवसायिक किवी खेतीको उत्पादनमा स्थानीयहरुको रुचि बढेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो । कृषकहरुलाई किवी खेती गर्न प्रोत्साहित गर्नको लागि ज्ञानकेन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरी आउँदो दिनमा पोल निर्माणमा अनुदान उपलब्ध गराउने योजना ज्ञान केन्द्रले बनाएको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो ।

सत्यवती गाउँपालिकाले भार्षे गाउँलाई यस अघि नै किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीको व्यवसायिक उत्पादन गर्दै कृषकहरुलाई पनि आत्मनिर्भर बनाउन गाउँपालिकाले प्राविधिक कृषकहरुलाई प्राविधिक सहयोगदेखि विरुवा वितरण, पोल निर्माण र सिँचाइलगायतका क्षेत्रमा सहयोग पुर्‍याउँँदै आएको सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो । उहाँले भार्षेमा उत्पादित किवीको बजारीकरणमा मुख्य समस्या रहेको र कृषकहरुले उत्पादन अनुसारको मूल्य नपाएको भन्दै त्यसको व्यवस्थापनको विषयमा पनि गाउँपालिकाले केही सोचेको बताउनु भयो ।

भार्षेका शिवलाल थापा पनि व्यवसायिक कृषक हुनुहुन्छ । उहाँले सुरुदेखि नै किवी खेती गर्दै आउनु भएको छ । उहाँले किवी उत्पादन गरेर वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताउनु भयो । अन्य खेतीको तुलनामा किवी खेतीवाट राम्रो आम्दानी हुने थापाको अनुभव छ । सिजनमा भार्षेका बारीहरु किवीले ढपक्कै ढाकिएका हुन्छन । किवी विरुवाले रोपेको तीन वर्षबाट फल दिन सुरु गर्दछ । यसले एउटै बोटवाट ६० देखि एक सय किलोसम्म फल दिने गरेको स्थानीय नविन छन्तेलले बताउनु भयो ।

बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्यान्न बाली जोगाउन हैरान भएको अवस्थामा किवी खेती त्यहाँका कृषकहरु लागि वरदान बनेको छ । किवीमा बढी झुस हुने भएका कारण पनि बाँदर, बदेल र अन्य चराचुरुङ्गीहरु यसबाट टाढै बस्ने गरेका छन् । गुल्मीमा सत्यवती गाउँपालिका लगायत कालीगण्डकी, मदाने, मालीका र धुर्कोट गाउँपालिकाले १२ सय मिटरदेखि २ हजार मिटर उचाइसम्ममा किवीको व्यवसायिक खेती गर्न सुरु गरेका छन ।

 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया