अब पाइलटले दैनिक ८ घन्टा उडान र ८ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था लागू गरिँदै

 माघ १८, २०७९ बुधबार २०:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आउँदाे ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताउनुभयो । विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनका लागि परिर्माजन गर्ने गर्छाैँ । हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन के–के गर्न सकिन्छ भनेर हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँग छलफल गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार काम गरिरहेका छाैँ ।’

सूचना अधिकारी भुलले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ । उहाँले आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्न नपाइने बताउनुभयो । पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्ने उहाँले बताउनुभयो । 

सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको जानकारी पनि दिनुभयाे । वायु सेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया