राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

 माघ २२, २०७९ आइतबार ९:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षका जबराको काठमाण्डौमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको उहाँका ज्वाइँ तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले  जानकारी दिनुभयो ।

जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गरेका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँ २९ वर्षको मात्रै हुनुहुन्थ्यो ।

प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उहाँ राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । जबराको नेतृत्वमा राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अरु वित्तीय सुधारका कामहरु पनि उहाँकै पालामा भएको थियो ।

जबराले संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया