क्यान इन्फोटेक : पूजापाठदेखि ‘डेटिङ' एपसम्म !

 माघ २५, २०७९ बुधबार ११:३७:५८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौमा मङ्गलवारदेखि सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा डेढसयभन्दा धेरै स्टल छन् । यी स्टलमा ल्यापटपदेखि डेस्कटप अनि माउस, किबोर्डदेखि टेलिभिजन सेटसम्म छन् । तर, सबैभन्दा बढी भिड भने ‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा छ ।

७ फेब्रुअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको यस नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इन्जिनियरहरुले तयार पारेका हुन् । कन्सेप्ट डेभलपर विजयराज ढुंगेललगायत टिममा दिपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इन्जिनियरहरु छन् ।

टिमका सफ्टवेयर इन्जिनियर दिपेश न्यौपाने एपका बारेमा भन्नुहुन्छ, ‘डेटिङ एप भन्ने बित्तिकै मान्छेको मनमा नकारात्मक वर्डस् मात्र जान्छ । तर, त्यसो नभइकन हाम्रा दिदीबहिनी तथा दाजुभाइले अनलाइन प्लेटफर्ममा सुरक्षितरुपले डेट गरेर साथी बनेर मित्रता कायम गर्न सक्नुुहुन्छ ।’

१८ वर्षदेखि ६५ वर्षमाथिसम्मका व्यक्तिले एप चलाउन सक्नेछन् । एप सुरक्षित, भरपर्दो र चलाउन सजिलो रहेको पनि न्यौपानेको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘१८ वर्ष उमेर पुगेको, नागरिकता लिइसकेको र जसले आफ्नो बारेमा आफैँ जजमेन्ट गर्न सक्छ र क्लिक्टन युजर बन्नको लागि डेट अफ बर्थ राखिएको हुन्छ । यो प्रोफाइल १८ वर्ष मुनिकालाई हैन ।’

अहिले तीन महिना एप्लीकेशनका लागि पैसा नलाग्ने र त्यसपछि नेपालीको क्षमता अनुसारको पैसा लाग्न सक्ने पनि न्यौपाने बताउनुहुन्छ ।

पूजापाठको स्टलले पनि आगन्तुकको ध्यान त्यसरी नै तानेको छ । पूजापाठमा धार्मिक कार्यमा चाहिने गोबर, रातोमाटोदेखि गाईको घ्यूलगायतका सामग्री बिक्रीका लागि राखिएका छन् ।

सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेलामा पूजापाठ कसरी समेटियो भन्ने जिज्ञासा अवलोकनकर्तालाई छ । यसबारे ‘पूजापाठ’ नामको एपका उत्तम खनाल भन्नुहुन्छ, ‘शौच, स्नान गरेदेखि धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउन सकिन्छ ।’

पूजापाठले धार्मिक कार्य तथा पितृकार्यको लागि आवश्यक सामग्रीको जानकारी दिने उपलब्ध गराउने बाहेक आवश्यक परेमा गुरुहरु पनि उपलब्ध गराउनेछ । त्यस्तै वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पनि एपबाट पाउन सकिन्छ ।

खनाल भन्नुहुन्छ, ‘पूजापाठ एप्लीकेशन डाउनलोड गरेपछि धार्मिक तथा पितृकार्यका चाहिने आवश्यक सामग्रीदेखि गुरुहरु पनि घरमा बसी बसी मगाउन सकिन्छ ।’

अहिले धेरैलाई पूजाका लागि के चाहिन्छ भन्ने थाहा नहुने तथा आफ्नो यस्तो खालको पूजा हो भनेपछि त्यसका लागि चाहिने सामग्रीको बारेमा जानकारी दिने काम एप्लीकेशनले गर्छ । पूजापाठमा न्वारन तथा श्राद्धका लागि चाहिने सामानको प्याकेट नै छ । जसमा तीर्थ जलदेखि गाईको गहुँतसम्म रहेका छन् ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै सहज बनाउने र नयाँ प्रविधिको बारेमा जानकारी तथा व्यापारसमेत गर्ने उद्देश्यले क्यान इन्फोटेक सुरु भएको हो । सूचना प्रविधि मेला हेर्न अवलोकनकर्ताको घुईंचो छ ।

यसैमध्येका एक हुनुहुन्छ विराटनगरका कृष्ण निरौला । क्यान इन्फोटेकका अघिल्ला मेलामा पनि आइरहनुहुने निरौलालाई यस पटकको मेला र अघिल्लो मेलामा खासै अन्तर लागेको छैन । उहाँ भन्नुहुन्छ, ‘निकै धेरै ठूलो फरक जस्तो त लागेन । मुख्य फरक लागेको भनेको यो पटक स्टलहरु धेरै छन् । युवाहरुको सहभागिता पनि धेरै देखिन्छ ।’

उहाँलाई पनि डेटिङ एप्लीकेशनको स्टलमा भएको युवाहरुको भिडले एकछिन तान्यो । उहाँ गएको दुई/तीन वर्षमा नयाँ एप डेभलप गर्ने, वेवसाइटहरु डेभलप गर्ने, अनलाइन मार्केटिङमा भएको विकासले खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अघि डेटिङ एपको बारेमा बुझेको थिएँ । उहाँहरुले राम्रो अन्तर्राष्ट्रिय स्तरको बनाउन खोज्नु भएको रहेछ त्यसलाई राम्रो मान्नुपर्छ ।’

प्रविधिमा भएको परिवर्तन र यससँग सम्बन्धित धेरै कुरा एकै थलोमा हेर्न सकिने एउटा माध्यमकोरुपमा मेला रहेको कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान) का अध्यक्ष रञ्जित पोद्दार बताउनुहुन्छ ।

प्रविधिको दुनियाँमा एक महिना, दुई महिना वा छ/छ महिनामा केही न केही कुराहरु परिवर्तन भइरहेको हुन्छ । ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा प्रविधिमा केही न केही परिवर्तन गरिरहेको हुन्छ चाहे त्यो हार्डवयर होस् वा सफ्टवयर होस् । यसलाई एकै ठाउँमा हेर्न पनि यस्ता मेला आयोजना गर्ने गरिएको पोद्दारले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘बजारमा प्रविधिको क्षेत्रमा हार्डवयर तथा सफ्टवयरको क्षेत्रमा के के नयाँ आइरहेको छ त्यसलाई हेर्नलाई, छुनलाई र चलाउनलाई यो इभेन्टमा आइसकेपछि एकै ठाउँमा पाइन्छ ।’

मेलामा कम्प्युटर तथा यससँग सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्था जस्ता प्रविधिमा बढी अभ्यस्त हुने संस्थाहरु तथा किताब, छालाका सामान, गमला घर, स्टेशनरीलगायत व्यापारिक उत्पादन पनि बिक्रीका लागि राखिएका छन् ।

सूचना तथा प्रविधिसँग सम्बन्धित मेला भए पनि मेला भएपछि व्यापारिक उद्देश्य पनि रहने भएका कारण प्रविधिसँग सम्बन्धित र व्यापारिक प्रयोजनका हिसाबले पनि स्टलहरु रहेको पोद्दारले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘मेला लगाएपछि सोच त व्यापारकै हुन्छ । यत्रो स्टल लगाएको छ, भाडा तिरेको छ त्यो त्यत्तिकै त होइन व्यापारकै लागि हो । व्यापार आज नै हुन्छ भन्ने छैन । आजका लागि भन्दा पनि भोलिको व्यापार हेरेर मेलामा सहभागी हुन्छन् ।’ भृकुटीमण्डपमा चलिरहेको मेला माघ २९ गतेसम्म अवलोकन गर्न सकिने क्यानले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया