‘समस्या सडकमा नआउँदै सम्बोधन हुनुपर्छ’

 फागुन ३, २०७९ बुधबार ८:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्वत कुश्माका रामबहादुर थापा श्रीमतीलाई अस्पतालमा जँचाउन भनेर सोमवार काठमाण्डौ आउनुभयो । अस्पतालको काम सकेर घर फर्कनको लागि मंगलवार बिहानै नयाँ बसपार्क पुग्नु भयो । तर, बसपार्क पुग्दा कुनै गाडी थिएन । 

ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार आन्दोलन गरेका थिए । आन्दोलनमा सहभागी विभिन्न यातायातसम्बद्ध संस्थाहरुले विरोधस्वरुप मंगलवार सार्वजनिक यातायातका साधन नचलाउने घोषणा गरे । जसका कारण सडकमा यात्रुहरु अलपत्र परे । 

अरुजस्तै अलपत्र परेका पर्वतका थापालाई यातायात मजदुरहरुले विरोध गरेकोमा कुनै आपत्ति छैन । तर, विरोध गर्ने शैलीमा भने उहाँको आपत्ति  छ । उहाँ भन्नुहुन्छ, ‘नारा लगाउने, विरोध गर्ने सही हो । तर, उचित तरिकाले गर्नुपर्छ । मान्छेहरु टाढाटाढाबाट आएका हुन्छन् तिनीहरुलाई केही मर्का नपरोस केही नहोस् भनेर राम्रो, सभ्य तरिकाले विरोध गरेको राम्रो ।’

यस्ता विरोध कार्यक्रमले कसैलाई पनि मर्का नपरोस् र विरोध गर्नेको पनि विरोध देखियोस् भन्ने ढंगबाट कार्यक्रम हुनुपर्ने उहाँको भनाइ छ उहाँ भन्नुहुन्छ, ‘नागरिकले आफ्नो काम गर्न पनि पाउन् । काम पनि नरोकियोस् । नागरिकलाई बाटोमा आउँदा जाँदा कतै वाधा नहोस् । यस्ता रचनात्मक विरोध पनि हुन्छन् । यसो गर्दा भने कसैलाई मर्का पर्दैन ।’

सरकारसँग सहमति भएपछि मजदुरहरुको आन्दोलन फिर्ता भए पनि मंगलबार दिनभर नै धेरै सार्वजनिक गाडी ठप्प भए । त्यसको असर असक्त, महिला, बिरामी र टाढाटाढा गन्तव्यमा पुग्ने यात्रुलाई पर्यो । 

रुकुम पश्चिम स्थायी घर भइ अहिले काठमाण्डौको घट्टेकुलो बस्ने एमपी गौतम घरिघरि यसरी बन्द हुनु वा सार्वजनिक सेवा अवरुद्ध हुनुलाई राम्रो मान्न नसकिने बताउनुहुन्छ । ‘काठमाण्डौ जस्तो ठाउँमा यसरी विभिन्न बहाना बनाएर बन्द गर्ने गर्दा त्यसले ठूलो क्षति हुन्छ । अस्ति डाक्टरले अस्पताल बन्द गर्दा अनि आज यातायात बन्द हुँदा नागरिकहरु ठूलो मर्कामा परेका छन् । यसको अन्त्य गरिनेतर्फ सोचिनुपर्छ’ उहाँले भन्नुभयो ।

जुनसुकै बन्द, विरोध वा सडक अबरुद्ध गरेर गरिने कार्यक्रमले सबैभन्दा धेरै मारमा पर्ने भनेको आम नागरिक नै हो । सार्वजनिक यातायात बन्द गरेर गरिने विरोध कार्यक्रमले त हिँडडुलमा नै समस्या पर्छ । यसले दैनिक जीवनमा पनि प्रत्यक्ष असर पर्छ । रोजीरोटीदेखि स्वास्थ्य, शिक्षा लगायतका हरेक क्षेत्रमा यातायात बन्दको प्रत्यक्ष असर पर्छ । 

यातायात व्यवसायी तथा मजदुरले गरेको हड्तालले पनि मारमा नागरिक नै पर्ने भएकोले उनीहरुको माग नागरिकलाई असर पर्ने तरिकाले भन्दा पनि त्यससँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायमा गएर गर्नुपर्ने गौतमको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘जहाँ गएर हड्ताल गर्नुपर्छ त्यहाँ जानुपर्‍यो । जहाँ गएर अनशन बस्नुपर्ने हो त्यहाँ गएर अनशन बस्नुपर्‍यो । प्रत्यक्ष सरोकार राख्ने निकायमा गएर आन्दोलन गर्नुपर्‍यो ।’

गौतम यस्ता हड्ताल तथा बन्दले बाटोमा सामान्य नागरिकलाई दुःख दिनेभन्दा पनि सम्बन्धित निकायमा गएर यसको समाधान खोज्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसले सानो स्तरमा केही गरी खाने वर्गलाई प्रत्यक्ष मारमा पारेको छ । अस्ति डाक्टरको हड्ताल, अहिले यातायातकर्मीको हड्ताल अनि कहिले बिदाले गर्दा गरिखाने मान्छेले त गरिखान पाएन नि ।’

गौतम यसमा दोष हड्ताल गर्ने पक्षको मात्र देख्नुहुन्न । उहाँ हड्ताल गर्ने परिस्थिति नआउन र त्यस्ता परिस्थिति आइहालेमा त्यसलाई सम्बन्धित सरकारी निकायले बेलैमा सम्बोधन गरेर यसले आम नागरिकले दुःख नपाउने गरीको समाधान निकाल्नमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘व्यवसायीका कतिपय माग जायज होलान् अनि कति पूरा गर्न नसकिने पनि होलान् त्यसमा विचार गरेर जब आन्दोलनको कुराको सूचना जारी हुन्छ त्यसबेला सम्बादमा रहेर वार्ताद्वारा छिटोभन्दा छिटो समाधान निकाल्नु पर्‍यो ।’

यातायात मजदुरहरुको आन्दोलनले यात्रुलाई सास्ती मात्रै भएन, प्रहरीको गाडीमा तोडफोड र आगजनी तथा मोबाइल पसलमा लुटपाटसमेत भयो । यस्तो अवस्था दोहोरिन नदिन आन्दोलनकारी र सरकार तथा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आमनागरिकको माग छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया