पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - दुई दशकभन्दा बढी समयदेखि हिमाली क्षेत्रमा फोटो खिच्दै आउनुभएका वाइल्डलाइफ फोटोग्राफर टासी आर घलेले केही समयअघि सङ्घीय राजधानी काठमाण्डौमा फोटो प्रदर्शनी गर्नुभयो । जसको शीर्षक थियो ‘पग्लिरहेको स्वर्ग’ । हिन्दु धर्ममा स्वर्गको रुपमा हिमालय क्षेत्रकै बयान गरिएको छ भने हिमाललाई धेरैले स्वर्गको उपमा दिने गरेका छन् । घले भन्नुहुन्छ ‘हो त्यही स्वर्ग अहिले पग्लिरहेको छ।’
आफूले देख्दादेख्दै हिमरेखा माथितिर सरेको, मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लामा बाढीपहिरोको जोखिम बढेको, केही ताल पुरिएको, केही ठाउँमा नयाँ ताल बनेको जस्ता थुप्रै उदाहरण समेटिएका तस्बिरसहित उहाँले हिमाल पग्लिरहेको बताउनुभएको छ । उहाँले कैद गरेका तस्बिरहरुले हिमाली क्षेत्रमा देखिएको सङ्कट प्रष्ट देखाउँछन् ।
यतिबेला हिमाल मात्रै हैन हिमाल नजिकका पहाड पनि हिउँले ढाकेर सेतै देखिनुपर्ने हो । तर यो वर्ष हिमाल पनि कालो पहाड जस्तै देखिएका छन् । यो हिउँदमा धेरैजसो हिमाली क्षेत्रमा हिउँ परेकै छैन । यसपालि हिउँ नपर्दा हिमाली क्षेत्रमा समस्या थपिएको हो भने हिउँ घट्ने क्रम बितेका केही दशकदेखि निरन्तर बढिरहेको छ । लामो समयदेखि हिमाली क्षेत्रमा गइरहेकाहरु आफूले देख्दादेख्दै हिमालको स्वरुप नै फेरिन थालेको बताउँछन् । टन्न हिउँ हुने ठाउँ अहिले कालो स्वरुपमा देखिन थालेको हिमालमा जानेहरु बताउँछन् ।
हेर्दाहेर्दै हिमाल बदलिसक्यो
नेपाल सरकारका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठ झण्डै दुई दशकदेखि बर्सेनि जस्तो सगरमाथाको आधारशिविरमा गइरहनुभएको छ । पर्यटन विभागबाट आधारशिविर सम्पर्क अधिकृतको रुपमा खटिँदै आउनुभएका श्रेष्ठले हिमालमा देखिएका परिवर्तनलाई नजिकबाटै नियालिरहनुभएको छ ।
सगरमाथा आरोहण समेत गर्नुभएका ज्ञानेन्द्र श्रेष्ठको जस्तै अनुभव पर्वतारोही पीके शेर्पाको पनि छ । तीन दशकअघि भरिया हुँदै पर्वतारोही र अहिले हिउँ जोगाउने अभियानमा सक्रिय शेर्पा हिउँले भरिएका थुप्रै टाकुराहरु आफूले देख्दादेख्दै काला पत्थरमा परिणत भएका बताउनुहुन्छ ।
पर्वतारोही सानु शेर्पाले बितेको दुई दशकमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको दोहोर्याएर आरोहण गर्नुभएको छ । सबैजसो आरोहणमा विभिन्न हिमालमा गइरहने शेर्पा हिमालमा हिउँको मात्रा निकै घटेको बताउनुहुन्छ । आफू जाँदाजाँदै कतिपय ठाउँमा त हिउँमा प्रयोग गरिने उपकरण नै नचाहिने अवस्था देखिएको उहाँको भोगाइ छ ।
२ हजार वर्षमा बनेको हिउँ ३० वर्षमै पग्लियो !
नेचर जर्नलको क्लाइमेट एन्ड एट्मोस्फेयरिक साइन्समा गएको वर्ष प्रकाशित एक अध्ययन प्रतिवेदनले सगरमाथामा पछिल्लो ३० वर्षमा हिउँ पग्लिने क्रम तीव्र बनाएको उल्लेख छ । अमेरिकाको युनिभर्सिटी अफ मेन अन्तर्गतको क्लाइमेट चेन्ज इन्स्टिच्युटका वैज्ञानिक सहभागी अध्ययनले हिउँ पग्लिने क्रम सन् १९९० को दशकयता बढेको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा सगरमाथाको आठ हजार २० मिटर माथि रहेको साउथ कोल ग्लेसियर र आसपासको हिमनदीमा झण्डै दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ २५ वर्षमै पग्लिएको उल्लेख छ । साउथ कोल ग्लेसियरमा ३० वर्षमै हिउँको तह ५४ मिटरले घटेको प्रतिवेदनमा दाबी गरिएको छ । साउथ कोल ग्लेसियरमा हिउँ जम्न लागेको समयभन्दा पग्लिने गति ८० गुणाभन्दा बढी छ ।
यो शताब्दीमा एक तिहाइ हिउँ पग्लिन सक्छ !
जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्था आईपीसीसीले डेढ वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा पनि तापक्रम वृद्धिका कारण हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने क्रम विगतका वर्षहरूमा भन्दा बढेको उल्लेख छ । यही गतिमा तापक्रम बढ्ने र हिउँ पग्लने हो भने हिमाल नाङ्गा हुने र समुद्री सतह तीन मिटरसम्म बढ्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रतिवेदन ‘दी हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ मा पनि यही शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिइसकेको छ ।
त्यसअघिको अर्को प्रतिवेदनले सन् २१०० सम्ममा सगरमाथाबाट ९० प्रतिशत हिउँ पग्लिने चेतावनी दिएको थियो । हिउँ पग्लिएपछि हिमाली क्षेत्रका २५ करोड र यसको आसपासका १ अर्ब ६५ करोड मानिसमा प्रतिकूल असर पर्ने प्रतिवेदनमा उल्लेख छ ।
डढेलो पनि हिउँ पग्लिनुको कारण
हिउँ पग्लिनुको मुख्य कारण विश्वव्यापीरुपमा भइरहेको तापमान वृद्धि हो । योसँगै हिमाली क्षेत्रमा बढेको डढेलो र हिमालमा भइरहेको मानिसको उपस्थिति पनि मुख्य कारणका रुपमा रहेको विज्ञहरु बताउँछन् ।
नेपाल, भारत, भुटान र पाकिस्तानका हिमाली क्षेत्रमा फैलिएका डढेलोलाई समेटेर ग्लोबल फरेस्ट फायरले सार्वजनिक गरेको सन् २००१ देखि २०२१ सम्मको तथ्याङ्क अनुसार हिमालय शृङ्खलामा ३५ हजार हेक्टरभन्दा बढी रुखले ढाकेको क्षेत्र डढेलोले ध्वस्त बनाएको छ । यस्ता डढेलोले हिउँ पगाल्ने गरेको डढेलोविद् सुन्दर शर्मा बताउनुहुन्छ।
हिमालमा हुने मानवीय गतिविधिले पनि हिउँ पग्लिने क्रम बढिरहेको हिउँ संरक्षण अभियानकर्मी पीके शेर्पाकाे भनाइ छ । उहाँ भन्नुहुन्छ ‘हिमालमा मानिस पुग्दा मानिसको पैतालाको छापका कारण पनि हिउँ पग्लिन्छ । यस्तै मानिसहरु हिमालमा जाँदा त्यहाँ फ्याँकिने फाेहरले पनि हिउँ पगालिरहेको हुन्छ । एउटा चकलेटको खोलले एउटा नाङ्लोले समेट्ने क्षेत्र बराबरको ठाउँमा हिउँ पगालेको देखिएको छ।’
हिउँको सिधा सम्बन्ध पानीको उपलब्धतासँग हुन्छ भने पानीको उपलब्धता मानिसको जीविकासित जोडिन्छ । हिमाली क्षेत्रका किसान सिँचाइका लागि हिउँ र हिमताल पग्लिएर आउने पानीमा निर्भर छन् । हिउँ कम पर्नु र चाँडो पग्लिनुले पानीको उपलब्धता, पारिस्थितिक प्रणाली र जलविद्युतको उत्पादनलाई असर गर्दछ । हरेक वर्ष पर्ने हिउँमा आइरहेको कमीका बारेमा खासै अनुसन्धान त भएका छैनन् तर हिउँ पर्ने क्रम पनि उस्तै गरी घटिरहेको हिमाली क्षेत्रका बासिन्दाहरु बताउँछन् । हिउँ पर्ने क्रम घट्नु र पग्लिने क्रम बढ्नुले जोखिम बढाइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।