म्याग्दी : मंगला इन्द्रेणी पार्क तथा सङ्ग्रहालयको उद्घाटन (तस्बिरहरू)

 फागुन ७, २०७९ आइतबार २०:२७:२३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा नवनिर्मित मंगला इन्द्रेणी पार्क तथा मंगला खड्ग नन्द सङ्ग्रहालयको आज (आइतवार) उद्घाटन भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका र मंगला युथ क्लबको आर्थिक सहयोगमा निर्मित पार्क र सङ्ग्रहालयको उद्घाटन गरिएको हो । 

पार्क निर्माण गर्न तथा सङ्ग्रहालय बनाउनका लागि यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यसैगरी मंगला युथ क्लब बाबियाचौरले दुई लाख, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले एक लाख र बाँकी बजेट मंगला गाउँपालिका आफैँले लगानी गरेको जनाएको छ । मंगला–२ बाबियाचौर स्थायी घर भई अहिले काठमाण्डाै बस्दै आउनुभएका क्या. ईन्द्रबहादुर अधिकारीले झन्डै चार रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क तथा सङ्ग्रहालय निर्माण गरिएको हाे ।

नवनिर्मित पार्क र सङ्ग्रहालयको आज गाउँपालिकाका अध्यक्ष रोका र जग्गादाता क्या. अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोकाले बालिबालिका र ज्येष्ठ नागरिकलाई भुलाउन पार्क निर्माण गरिएको बताउनुभयो । उहाँले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकको समेत सङ्गमस्थल बनाउने उद्देश्यसहित मंगला इन्द्रेणी पार्क निर्माण गरिएको जानकारी दिनुभयो । 

त्यही अवसरमा जग्गाधनी अधिकारीको नवनिर्मित अर्धकदको शालिकको पनि अनावरण गरिएको थियो । अर्धकदको शालिक, भवन र पार्कको उद्घाटन गर्दै जग्गादाता क्या. अधिकारीले बालबालिका र ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिलाउने संरचनाहरू बनाउनका लागि आफूले निःशुल्क जग्गादान गरेको बताउनुभयो । 

बजार क्षेत्रमा रहेका बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन र ज्येष्ठ नागरिकले समेत सहजरूपमा समय बिताउन पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ । गएको आर्थिक वर्षमा निर्माण सम्पन्न इन्द्रेणी पार्क र सङ्ग्रहालय निर्माणमा एक करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा सहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ र स्वच्छ हावा लिनका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माणको अवधारणा अगाडि सारिएको हाे । 

मंगलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिका पार्कमा पुगेर रमाउन थालेका छन् । पार्कभित्र बालबालिकालाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्ने लगायतका फनपार्कका संरचनाहरू जडान गरी सञ्चालन गरिएको छ ।  

पार्क सञ्चालनमा आएपछि बालबालिकालाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकलाई पनि सहज भएको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्याराफिट निर्माण गरिएका छन् । मंगला इन्द्रेणी पार्क परिसरभित्र सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गर्नुका साथै पार्कमा आउनेहरूलाई लक्षित गरेर पक्की शौचालयसमेत बनाइएको छ । यसैगरी पार्कमा अपाङ्गमैत्री वाक–वे तथा बाल उद्यानहरू निर्माण गरिएको छ भने पार्कको वरिपरि घेराबार लगाइएकाे छ । 

इन्द्रेणी पार्कमा खेल्न आउने बालबालिकाका लागि खेलकुदका थप सामग्री तथा सङ्ग्रहालय सञ्चालन र ज्येष्ठ नागरिकले व्यायाम गर्नका लागि आवश्यक पर्ने उपकरणसहितका सामग्रीहरू खरिद गरिने मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । उहाँले बाबियाचौरमा निर्मित इन्द्रेणी पार्क मंगला गाउँपालिकाको गौरवको योजना रहेकाले विभिन्न संरचना बनाइएको बताउनुभयो । 

इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्ध आउने फलफूलका बिरुवाहरू रोपिएको छ । सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्ने गरी पार्क निर्माण गरिएको हो । बाबियाचौरमा पार्क निर्माणसँगै पालिकाभित्र रहेका अन्य पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

उद्घाटन कार्यक्रमको अवसरमा इन्द्रेणी पार्क र सङ्ग्रहालय बनाउनका लागि जग्गादान गर्ने तथा आर्थिक सहयोग गर्नेहरूलाई सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्वजनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: चैत २२, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया