आहा ! मुस्ताङको सुन्दरता (फोटोफिचर)

 फागुन १३, २०७९ शनिबार ११:१२:४८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी –  मुस्ताङ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गर्दछन् । 

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेको छ ।      

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने ठाउँ), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारि ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको ठाउँ), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । 

त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लामान्थाङ गाउँ (माटोको सहर)को चिनिन्छ । नेचुङ–लिची भन्सार कार्यालय, छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्रहरु रहेका छन् । गएकाे वर्ष सन् २०२२ मा विदेशी पर्यटकहरु ६५ हजार ९ सय ४० जनाले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले बताउनुभयो । 

मुस्ताङमा खासगरी धार्मिक पर्यटकहरु कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्नान गर्न पुग्छन् । यसका साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाहरुको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । 

विश्वमै चर्चित ठाउँहरुमध्ये पर्ने मुस्ताङमा भारतसहित अन्य देशबाट प्रायजसाे पर्यटकहरु विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट पनि मुस्ताङ घुम्न जाने पर्यटकहरुको भिड लाग्ने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया