लघुवित्त पीडित भन्छन्– ‘सुरुमा छोराछोरीजस्तो बनेर आए, अहिले उठीवास लगाए’

 फागुन १६, २०७९ मंगलबार २०:६:० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीकाे धुर्कोटका राजन भण्डारी अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ घरमा कुखुरापालन गरी जीवन निर्वाह गर्दै आइरहनुभएकाे छ । तिनै राजन हातले लट्ठी टेक्दै त्यसैको सहारामा मङ्गलवार सदरमुकाम तम्घास आइपुग्नुभएकाे छ । उहाँ तम्घास आउनुको मुख्य उद्देश्य भनेको लघुवित्त संस्थाहरूविरुद्धकाे आन्दोलनमा ऐक्यबद्धता जनाउनुथियो । 

राजनले कुखुरापालनका लागि भनेर चार वटा लघुवित्तबाट तीनदेखि चार लाख रुपैयाँसम्म ऋण लिनुभएकाे छ । यसबीचमा आगलागी हुँदा उहाँका सबै कुखुरा मरे । फेरि उहाँले तम्घासबाट एक सय वटा कुखुरा लगेर पाल्न सुरु गर्नुभएकाेमा २० वटा मरेपछि अहिले ८० वटा मात्र छ । राजनले लघुवित्तबाट लिएकाे ऋणको आठौँ किस्तासम्म बुझाइसक्नुभएकाे छ । बाँकी किस्ता तिर्न उहाँसँग कुनै उपाय छैन । तर किस्ता रकम नबुझाएको भन्दै लघुवित्तका कर्मचारी पटक–पटक घर धाउने र उहाँलाई किस्ता रकम तिर्नका लागि दबाब दिन थालेपछि उहाँ तनावमा हुनुहुन्छ ।

लघुवित्त संस्थावाट पीडित हुनु भएकी गुल्मीदरबार गाउँपालिका १ बलीथुमकी सिमाकुमारी रेश्मीमगरको पीडा पनि उस्तै छ । उहाँले पसल सञ्चालन गर्नका लागि घर नजिककाे एउटा लघुवित्तबाट ऋण लिनुभएकाे थियाे । समयमा किस्ता बुझाउन नसेकेपछि उहाँले ९० हजार रुपैयाँमा किनेर ल्याएको भैँसी ४५ हजार रुपैयाँमा बेचेर ऋण तिर्न बाध्य बन्नुभयो । समयमा किस्ता नबुझाएको भन्दै रातिराति लघुवित्तका कर्मचारी घरमै आएर दबाब दिन थालेपछि आफू बाध्य बनेर आधा मूल्यमै भैँसी बेच्न बाध्य भएकाे सिमाकुमारीले बताउनुभयो । उहाँ पनि सात वटा लघुवित्त संस्थामा आबद्ध हुनुहुन्छ । 

त्यसैगरी वीरवासकी सावित्रा रजाली पनि अहिले १० वटाभन्दा बढी लघुवित्त संस्थामा आबद्ध हुनुहुन्छ । सुरुमा संस्थाका कर्मचारी छोराछोरीजस्तो बनेर आएको भन्दै उहाँले कर्मचारीले नै आफूहरूकाे जागिर जाेगाइदिनु न दिदी भन्दै धेरै संस्थामा आबद्ध गराएको बताउनुभयो । उहाँले गएकाे तीन वर्षअघि एक लाख रुपैयाँ ऋण लिएकोमा अहिले तीन लाख रुपैयाँ पुर्‍याएकाे भन्दै आफूले सकिनसकी त्यसको किस्ता रकम तिर्न बाध्य बनेको गुनासो गर्नुभयो । 

भण्डारी, रेश्मी र रजाली प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरूजस्तै लघुवित्तमा आबद्ध धेरैकाे व्यथा उस्तै छ । उहाँहरू हातमा राष्ट्रिय झण्डा समाउँदै लघुवित्तविरुद्धको आन्दोलनमा सहभागि हुन सदरमुकाम तम्घास आइपुग्नुभएको हो ।

कार्यक्रममा लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिका जिल्ला अध्यक्ष मनिराम ज्ञवालीले राष्ट्र बैंकको निर्देशिकाभन्दा बाहिर गएर गाउँ–गाउँमा एउटै सदस्यलाई दर्जनौँ संस्थाले लगानी लगाएर अनावश्यक ऋणको भारी बोकाएर वित्तीय संस्थाहरूले घरबारविहीन बनाएको आरोप लगाउनुभयाे । गुल्मीमा वित्तीय संस्थाको सङ्ख्या २८ रहेको र देशभर ५८ लाख व्यक्ति लघुवित्तमा आबद्ध रहेको सङर्ष समितिका अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया