ऐतिहासिक पौलस्त्य–पुलहाश्रम (फोटोफिचर)

 फागुन २०, २०७९ शनिबार १३:२६:० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरु थुप्रै छन् । जिल्लाको बेनी नगरपालिका क्षेत्रभित्र पौलस्त्य–पुलहाश्रम, डढेकोट तथा ढोल्ठान राजदरबार, ज्यामरुककोट दरबार, गलेश्वरधाम शिवालयलगायत प्रमुख धार्मिक क्षेत्रहरु पर्दछन् । 

तीनै मध्येको एक पवित्र धार्मिक तीर्थस्थल पौलस्त्य–पुलहाश्रम बेनी नगरपालिका–५, पुलाचौरमा पर्दछ । पौलस्त्य पुलहाश्रम म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा अवस्थित छ । पौलस्त्य पुलहाश्रम पौराणिक ऋषि पुलत्स्यको तपोभूमी रहेको स्थानलाई पछै भनिन्छ । त्यस्तै साख्यदर्शनका महामूनि कपिलको तपोभूमी पनि यही स्थानमा रहेको छ । 

निज ऋषिहरुले होमकुण्डमा चढाएको प्राचीन चरुको अवशेष अझै पनि देख्न सकिन्छ । पौराणिक मतअनुसार लंकाधिपति रावणले यस स्थानमा प्रथमपटक धार्मिक पाइला टेकेका थिए । पौराणिक मान्यताअनुसार असुरराज रावण ऋषि पुलत्स्यको नाति हुन् भन्ने विश्वास गरिएको पाइन्छ । श्रीमद्भागवत् महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ । 

श्रीमद्भागवत् महापुराणमा कुरू क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र धार्मिक तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ । पुराण प्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तन–मनन् गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको पौलस्त्य पुलहाश्रम मन्दिरका पुजारी जगदिश सुवेदीले जानकारी दिनुभयो । 

पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) समेत रहेको छ । पौलस्त्य पुलहाश्रम मन्दिरको गजुर पित्तलको बनाएर राखिएको छ । यस आश्रममा शिवरात्री, अक्षयतृतीया, श्रीकृष्णजन्माष्टमी आदि पर्वहरुमा विशेष पूजा आराधना गर्ने गरिन्छ । पौलस्त्य मन्दिरमा अहिले दैनिक रुपमा पूजाआजा हुँदै आएको छ । पुलहाश्रमको नाउँमा साविक पुला गा.वि.स.मा गुठी जग्गा समेत रहेको छ । पूलस्त्य ऋषिको नामले परिचित पुलहाश्रम क्षेत्रले मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर क्षेत्रलाई पनि समेट्छ । 

पौलस्त्य मन्दिरमा पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग समेत निर्माण थालिएको छ । राउण्ड धौलागिरी बेसक्याम्पसम्म पु¥याउने लक्ष्य राखिएको पदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउनका लागि निरन्तरता दिइने भएको छ । पौलस्त्य पुलहाश्रम क्षेत्रबाट म्याग्दी सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र बेनी नगरपालिकाको लागत साझेदारीमा अहिले पौलस्त्य पुलहाश्रम मन्दिर परिसरमा रावणपार्क निर्माणकार्य अगाडि बढाइएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया