कृषिमा आमाबुवाको लगाव देखेर परदेशी छोराले भने –‘म चाँडै घर फर्किन्छु’

 फागुन २५, २०७९ बिहिबार १५:४०:१९
unn.prixa.net

सञ्जीताकुमारी साह/ सर्लाही।

मलङ्वा नगरपालिका–११ की ४० वर्षीया सुशिला देवीको दैनिकी अचेल खेतबारी र हाटबजारमा बित्छ । उहाँलाई साथ दिनुहुन्छ, उहाँका श्रीमान् र छोराछोरीले । सुशिलाका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुनुहुन्छ । 

घरमा आम्दानीको स्रोत केही नभएपछि एक वर्ष पहिले सुशिलाले २१ वर्षको छोरालाई परदेश पठाउनुभयो । मनले त मानेको थिएन । तर अभाव र बाध्यताको अगाडि आमाको मन पनि कठोर भइदियो । छोरा कमाउन थालेपछि आत्मविश्वास पनि बढ्यो । त्यसैले त अहिले परदेशबाट पठाएको पैसाले घरपरिवारको खर्च मात्र चलेन, सुशिलाले व्यवसाय गर्ने आँट पनि गर्नुभयो । 

अहिले उहाँको दैनिकी नै बदलिएको छ । पहिले घरायसी कामबाहेक फुर्सदको समयमा गफगाफमै बित्थ्यो उहाँको समय । अहिले उहाँलाई समय र परिश्रम दुवैको महत्व थाहा छ । छोराले परदेशमा दुःख गरेर मात्रै हुँदैन आफैले पनि केही गर्नुपर्छ भन्ने लागेसँगै उहाँको व्यस्तता बढेको छ ।

सल्लाह उहाँका श्रीमान्को हो । हौसला उहाँले दिनुभयो । लगानी छोराको । मिहेनत घरका सबै सदस्यको । यति भएपछि अहिले आफ्नै ५ कट्ठा खेतमा सुशिलाको तरकारी खेती मौलाएको छ । 

‘सिजन अनुसारको तरकारी फलाउँछौँ’, सन्तुष्ट भावमा सुशिला भन्नुहुन्छ, ‘म र मेरो श्रीमान् गएर हाट बजारमा तरकारी बिक्री गर्छौँ, आम्दानी राम्रै छ ।’ 

अहिले उहाँको वार्षिक आम्दानी झण्डै डेढ लाख रुपैयाँसम्म हुन्छ । आफूले तरकारी खेती सुरु गरेदेखि मनमा नकारात्मक भावना आउन छाडेको र भाग्य भन्दा कर्ममा विश्वास लाग्न थालेको उहाँको अनुभव छ । चाह्यो भने पुरुषले मात्र होईन महिलाले पनि मेहनत गरेर पैसा कमाउन सक्ने उहाँ बताउनुहुन्छ ।

‘ज्याला मजदुरी, व्यापार व्यवसाय हामी महिला छोरीचेलीले पनि गर्न सक्छौँ । मात्र आफूमा भएका पूराना सोचहरु त्याग्नुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘पहिले काम नहुँदा गफगाफ बढी हुने, विवाद र झगडा हुने गर्दथ्यो, अहिले त्यस्तो केही छैन । यो भन्दा राम्रो काम के हुन्छ ?’

 उहाँले व्यवसाय गर्नुभएको देखेर गाउँमा अरुहरुले पनि केही गर्नुपर्छ भन्ने आँट गर्न थालेका छन् । उहाँको छोराले पनि परदेशबाट घर फकेर त्यही तरकारी खेतीलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएका छन् । सानै उमेरमा छोरालाई परदेश पठाए पनि अब आफ्नै गाउँठाउँमा केही गर्न सक्ने वातावरण बनाएकोमा सुशिलालाई पनि खुसी लाग्छ ।

‘दुई वर्षको एग्रिमेन्ट सकेपछि म पनि विदेश नफर्किने गरी घर आउँछु र आफ्नै तरकारी फलपूmलको व्यवसायलाई अझै राम्रोसँग सञ्चालन गर्ने भनेर छोराले फोनबाट भनेको छ’, छोराको यही आश्वासनले पनि सुशिलालाई हौसला हुन्छ ।

वित्तीय साक्षरता कक्षाले दिएको ज्ञान

सुशिलालाई केही गर्नुपर्छ भन्ने प्रेरणा मिलेको वित्तीय साक्षरता कक्षाबाटै हो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत् मलङ्वा नगरपालिकाले सञ्चालन गरेको यस कक्षाले विशेषगरी रेमिट्यान्सको सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिकाउँछ ।

सुशीला पनि वित्तीय साक्षरता कक्षामा नियमित रुपमा सहभागी हुनुभयो । त्यहाँ उहाँले परिवार व्यवस्थापन, सुरक्षित विप्रेषण, वित्तीय लक्ष्य निर्धारण, वचतको महत्व, विपन्नताबाट सम्पन्नतातिर, लघु उद्यम व्यवसाय र व्यावसायिक योजना तथा वचत जस्ता विभिन्न विषयबारे बुझ्न पाउनुभयो ।

वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि उहाँले परिवार व्यवस्थापनका क्रममा कहाँनेर भ्वाङ्ग पर्छ भनेर थाहा पाउनुभयो । 

‘मानिसको चेतना र उपयुक्त सल्लाहको अभावले गर्दा परिवार नै कति समस्यामा पर्दो रहेछ’, सुशिला भन्नुहुन्छ, ‘वित्तीय साक्षरता कक्षामा सहभागी भइसकेपछि बल्ल मेरो आँखा खुल्यो ।’
 

(सञ्जीताकुमारी साह सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकामा वित्तीय साक्षरता सहजकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया