हिमाली वनमा डढेलो : जैविक सम्पदा र हिउँमा क्षतिसँगै बाढीको पनि जोखिम

 फागुन २९, २०७९ सोमबार ११:२६:४० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा लागेको डढेलो । तस्बिर : रासस

गएको वर्षको फागुनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने वनमा लागेको डढेलो निभाउन चार दिन लाग्यो । स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको प्रयासका साथै हेलिकोप्टरबाट पानी खन्याएर डढेलो निभाउनु अघि कैयाैँ क्षेत्रको जङ्गल नष्ट भयो । अघिल्लो वर्ष मनाङको ङिस्याङ गाउँपालिका–२ को जङ्गलमा लागेको डढेलो एक महिना भन्दा बढी समय रह्यो ।

गएको वर्ष रसुवाको उच्च पहाडी तथा हिमाली क्षेत्रको जङ्गलमा फैलिएको डढेलोले झण्डै दुई सय हेक्टर क्षेत्रका वनस्पति नष्ट भए । गएको माघ अन्त्यतिर रामेछापको उमाकुन्ड गाउँपाालिका वडा नम्बर १ गुम्देलको जङ्गलमा लागेको डढेलो तीन दिनपछि नियन्त्रणमा आयो । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने घनाजङ्गलमा लागेको डढेलोले थुप्रै हिमाली वनस्पति नष्ट गरेको छ । यस वर्ष म्याग्दीको हिमाली क्षेत्रमा २५ भन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।

यी उदाहरण मात्रै हुन् । पछिल्लो वर्षहरुमा देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रका जङ्गलमा डढेलो लाग्ने क्रम बढिरहेको छ । एक दशक अघिसम्म पनि फाट्टफुट्ट मात्रै डढेलोको घटना हुने गरेको हिमाली क्षेत्रमा पछिल्ला वर्षहरुमा डढेलो बढिरहेको स्थानीय बताउँछन् । सोलुखुम्बुको चौरीखर्कका पाल्देन शेर्पा भन्नुहुन्छ ‘पहिले पहिले डढेलो फैलिएको थाहै थिएन, हिजोआज त जङ्गलै सखाप हुन थालेको छ ।’

हिमाली डढेलो : अप्रत्याशित सङ्कट

जलवायुविज्ञ ङमिन्द्र दाहाल हिमाली जङ्गलमा देखिएको डढेलोलाई अप्रत्यासित आउन थालेको संकट मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हिमाली क्षेत्रमा डढेलो देखिन थालेको धेरै वर्ष भएकै छैन, पहिले पहिले डढेलो कमै देखिन्थ्यो, जङ्गलमा आगो फैलिहालेमा पनि थोरै क्षेत्रमा फैलिएपछि निभ्थ्यो तर अहिले कैयौँ क्षेत्र डढेको देखिन्छ ।’

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेल सहितको विज्ञहरुको समूहले नेपालमा डढेलोको जोखिमका बारेमा एउटा अध्ययन गरेको छ । त्यो अध्ययनमा पनि हिमाली क्षेत्रमा डढेलोको जोखिम बर्सेनि बढ्दै गएको उल्लेख छ । डा. पोखरेल मनाङलगायतका हिमाली क्षेत्रमा औसत भन्दा धेरै डढेलो देखिएको बताउनुहुन्छ । पछिल्लो २० वर्षको तथ्याङ्कमा गरेको अध्ययनमा पछिल्लो समय हिमाली क्षेत्रमा डढेलो बढेको प्रष्ट देखिन्छ । 

सुक्खा बढ्नु र पशुपालन घट्नुले जोखिम बढ्दै

संसारभर नै तापक्रम बढिरहेको छ । हिउँदमा पर्ने हिउँ र पानी घट्दा माटो र जङ्गलमा थुप्रिएको इन्धन सुक्खा भएको छ । यसले डढेलो फैलने क्रम पनि बढाएको छ । ग्लोबल फरेस्ट फायरको प्रतिवेदन अनुसार यस अघि हिमाली क्षेत्रमा डढेलो औसतमा एक हेक्टरसम्म फैलने गरेकोमा अहिले ५ देखि १० हेक्टर टाढासम्म फैलिने गरेको छ । चाँडो बल्ने सल्ला लगायतका वनस्पति भएको हिमाली क्षेत्रको जङ्गल यसअघि पनि डढेलोको जोखिममै थिए । तर पछिल्लो समय पशुपालन घट्दा जङ्गलमा थुप्रिएको इन्धन र हिउँ कम पर्नुले सुक्खा बढ्दा डढेलोको जोखिम पनि बढाएको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ ।

यसअघि हिउँदको सुरुमा परेको हिउँ जङ्गलमा वर्षायाम सुरु हुनेबेलासम्मै रहन्थ्यो । त्यसले गर्दा चिस्यान भइरहने भएकोले डढेलो फैलन सक्दैनथ्यो । जङ्गलमा आगो लागिहालेमा पनि त्यो चिसोका कारण निभ्थ्यो । तर पछिल्ला केही वर्षदेखि हिउँ तथा हिउँ कम पर्न थालेको छ । यसले गर्दा डढेलो फैलिएको पाइन्छ । यस्तै पछिल्लो समय हिमाली क्षेत्रमा पशुपालन घटेकोले पनि डढेलोको जोखिम बढिरहेको पाइन्छ । डढेलोविज्ञ सुन्दर शर्मा भन्नुहुन्छ ‘पशुपालन बढी हुँदा घाँसपात पशुहरुले खान्थे, गोठालाहरुले दाउराको प्रयोग पनि गर्थे, यसले गर्दा जङ्गलमा इन्धन कम हुन्थ्यो । तर पछिल्लो समय जङ्गलमा सुकेका पातलगायतको इन्धन थुप्रने क्रम बढेको छ यसले गर्दा पनि जङ्गलमा डढेलोको जोखिम बढिरहेको पाइन्छ ।’

हिमाली डढेलोको प्रभाव समुद्रसम्म

हिमाली क्षेत्रका जङ्गलमा हुने डढेलोको असर तल्लो क्षेत्रसम्म पर्ने विज्ञहरु बताउँछन् । जहाँको जङ्गल डढ्छ त्यहाँको वनस्पति, जीवजन्तु लगायतलाई असर त गर्ने नै भयो । त्यो सँगै डढेलोबाट निस्कने धुवाँ र खरानीले हिउँ चाँडो पगाल्न भूमिका खेल्ने मौसमविद् डा. पोखरेल बताउनुहुुन्छ । जब हिउँ चाँडो पग्लिन्छ त्यसले गर्दा पानीको स्रोतमा नकरात्मक असर पर्न जान्छ ।

जलवायुविज्ञ ङमिन्द्र दाहाल जलवायु परिवर्तनको असरले माथिल्लो क्षेत्रमा सर्दै गएका बोटविरुवा, जीवजन्तुलाई हिमाली क्षेत्रमा लाग्ने डढेलोले संकटमा पार्ने बताउनुहुन्छ । सँगै हिउँ चाँडो पग्लिँदा त्यसको असर समुद्रसम्मै पर्ने दाहालको भनाइ छ । केही वर्ष हिमालमा मुहान भएका नदीमा पानीको मात्रा बढ्ने र हिउँ सकिदै गएपछि सुक्खा आउने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा अत्यन्तै संवेदनशील पारिस्थितिकीय प्रणाली हुने भएकोले डढेलोले ठूलो हानी गर्ने विज्ञहरु बताउँछन् ।

मनाङको नासो गाउँपालिकामा लागेको डढेलो । तस्बिर ः रासस 
 

डढेलोले बाढीको जोखिम पनि बढाउँदै

डढेलो मात्र हैन पछिल्ला दशकमा हिमाली क्षेत्रमा बाढीको समस्या पनि बढिरहेको छ । विज्ञहरुले हिमालय क्षेत्रमा बाढीको संख्या र क्षति बढ्नुमा विकासका त्रुटिपूर्ण योजनालाई पनि कारण देखाएका छन् । हिमाली पखेरा र जङ्गल हुँदै खनिएका सडकहरुले पनि बाढी बढाएका छन् । तर बाढी बढाउन डढेलोले पनि भूमिका खेल्छ ।

जलवायु विपतविज्ञ डा. धर्मराज उप्रेती भन्नुहुन्छ ‘वनको भुइँ वनस्पति र पातपतिङ्गरले ढाकिएको हुन्छ । जनावर र कीराफट्याङ्ग्रा त्यसमाथि ओहोरदोहोर गर्दा माथिल्लो पत्रबाट भित्र हावा छिर्छ र त्यसले हावापानी सोस्छ । यस्तो अवस्थामा ठूलो वर्षा हुँदा पनि त्यहाँ थुप्रिएका वस्तुले पानीलाई सोस्छन् । तर डढेलो लागेपछि यि सबै बस्तु नष्ट हुन्छन् । वनको भुइँमा रहेका जैविक गुणले भरिएको तह नष्ट भएपछि बाढी भूक्षयको संभावना धेरै हुन्छ ।’

विज्ञहरु वन क्षेत्रमा जैविक गुणले भरिएको राम्रो सतह बन्न दुई सयदेखि तीन सय वर्षसम्म लाग्ने बताउँछन् । यति लामो समय लागेर बनेको सतह डढेलोले क्षणभरमै नष्ट गरिदिन्छ । माटोलाई हावापानी केही छिर्नै नसक्ने गरी जाम गरिदिनु डढेलोको सबैभन्दा ठूलो असर हो । डढेको जमीनमा माटोका कण कसिलो गरी बाँधिने र पानी माथिल्लो सतहबाटै तर्किने हुँदा त्यसले बाढी र भूक्षय बढ्नमा सहयोग गर्ने विज्ञहरु बताउँछन् । तापक्रम बढ्नु, हिउँ तथा हिउँदे वर्षा नहुँदा सुक्खा हुनु, पशुपालन घट्दा जङ्गलमा जल्ने बस्तु बढ्नु, संरक्षित क्षेत्रहरुमा स्थानीयको अपनत्व घट्दा चाँडो नियन्त्रणको पहल नहुनु लगायतका कारण हिमाली जङ्गलमा डढेलो बढिरहेको छ । 

जोखिम घटाउने उपाय

भारतीय अनुसन्धानकर्ताको एक समूहले सन् २०२२ को अगष्टमा वन डढेलोबारे दून घोषणापत्र प्रकाशित गरेका छन् । यसले तीनवटा मुख्य सुझाव दिएको छ :

१. वन डढेलो रोक्न तयारी र प्रतिकार्यमा सुधार गर्ने (उदाहरणका लागि, वन डढेलोसम्बन्धी कार्ययोजनामा सबै सरोकारवालाको जिम्मेवारी प्रस्ट पार्ने, वन विभागलाई आवश्यक कोषको व्यवस्था गर्ने, वनरक्षक र अग्रपंक्तिमा खटिने अन्य कर्मचारीलाई चाहिने उपकरण प्रदान गर्ने र वन डढेलो न्यूनीकरणका लागि खट्न दृढ संकल्पित युवा समूहहरू गठन गर्ने) 

२. वन डढेलो रोक्नका लागि एक छुट्टै निकाय गठन गर्ने जसले आगो नियन्त्रणमा प्रभावकारी आधुनिक प्रविधिको प्रयोग गरी वनरक्षकहरूसँग सहकार्य गर्छ ।

३. नीति निर्माणमा सहयोगका लागि डढेलो लाग्नुका कारण र त्यसका असरबारे थप अध्ययन गर्ने ।

डढेलोविज्ञ सुन्दर शर्मा नेपालमा पनि डढेलो नियन्त्रणका लागि यिनै सुझाव प्रभावकारी उपाय भएको भन्दै यसको लागि प्रयास गर्नुपर्छ भन्नुहुन्छ । नेपालमा डढेलोबारे छुट्टै जवाफदेही निकाय नहुनु, डढेलो नियन्त्रण तथा न्यूनीकरणका गतिविधि सरकारको प्राथामिकतामा नपर्नु, पर्याप्त बजेट विनियोजन नहुनु, जङ्गलमा लागेको डढेलो बस्तीमा नपुगेसम्म जङ्गल जलेर के हुन्छ र भन्ने धारणा पर्याप्त रहनु लगायतका कारण नेपालमा डढेलोको जोखिम बढिरहेकोले यी समस्याहरुलाई सुधार गर्नुपर्ने उहाँको सुझाव छ । सङ्घीय र प्रदेश सरकारसँगै नजिकको सरकारका रुपमा रहेका पालिका सरकारले डढेलो नियन्त्रणका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा डढेलो लागिसकेपछि निभाउन अत्यन्तै जटिल हुने भएकोले त्यहाँ डढेलो लाग्नै दिन नहुने उहाँ बताउनुहुन्छ ।

हिमाली क्षेत्रमा लाग्ने डढेलोको समस्या समाधानको लागि स्थानीय समुदायलाई सशक्तीकरण गर्ने गरी पालिकास्तरमा गरिने सामाजिक अभियान सबैभन्दा प्रभावकारी हुने डढेलोविज्ञ शर्मा बताउनुहुन्छ । गाउँलेमा पनि जङ्गलप्रति जिम्मेवारीबोध र अपनत्वको भावना विकास हुने र डढेलोका घटना हुँदा जङ्गल जोगाउन सहयोग पुग्छ ।

पछिल्लो समय राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रको नाममा स्थानीयलाई वन क्षेत्रमा प्रतिबन्ध लगाउने तथा कडाइ गर्ने क्रम बढेपछि पनि स्थानीयले डढेलो नियन्त्रणका लागि आवश्यक रुचि नदेखाएको पाइन्छ । यस्तै हिमाली क्षेत्रमा बढ्दै गएको सल्लाका रुखका कारण जोखिम बढ्दै गएकोले सल्लालाई नियन्त्रण गरेर अरु वनस्पति बढाउने तथा सल्लाका बीउ, पातलगायतलाई समयमै वनक्षेत्रबाट निकाल्ने काम पनि गर्नुपर्ने डढेलोविज्ञ शर्मा बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया