बाग्मती प्रदेशमा ५ सय जनालाई रोजगारी दिने गरी तालिम सुरु

काठमाण्डौ उपत्यकाबाहेकका १० जिल्लाका युवा सहभागी हुन पाउने

 चैत २, २०७९ बिहिबार ११:२९:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश युवा परिषद् हेटौँडाले पाँच सय जनालाई रोजगारी दिने गरी तालिम दिन थालेको छ । प्रदेशको काठमाण्डौ उपत्यकाबाहेकका दश जिल्लामा रहेका युवालाई रोजगारी दिने गरी तालिम सुरु गरिएको हो ।

तालिमका लागि तालिमभन्दा पनि रोजगारी दिने गरी तालिमका कार्यक्रमहरू भइरहेको प्रदेश युवा परिषद् हेटौँडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । परिषद्ले चितवनमा ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम दिइरहेको छ । धादिङमा मोबाइल मर्मत र सिलाइबुनाइ, नुवाकोटमा मन्टेस्वरी र सिलाइबुनाइ, काभ्रेमा होमस्टे, सिन्धुलीमा ब्युटिसियन, मकवानपुरमा इन्डस्ट्रियल इलेक्ट्रिसियन र मन्टेस्वरी, रसुवामा मोबाइल मर्मत र मन्टेस्वरी सम्बन्धी तालिम, सिन्धुपाल्चोकमा होमस्टे सम्बन्धी तालिम, दोलखा र रामेछापमा होमस्टे सम्बन्धी तालिम दिने काम भइरहेको उहाँले बताउनुभयो ।

पाँच सय जनाले तालिम लिइसकेपछि दुई सय ५० जना पूर्ण रोजगार बनाउने कार्यक्रमकाे उद्देश्य छ । यस्तै अन्य दुई सय ५० जनालाई तालिमपछिको रोजगारीका लागि सिप परीक्षणसमेत गराएर तालिमअनुसारको काम गर्नका लागि सम्पूर्ण सामग्री परिषद्ले उपलब्ध गराउने छ । हरेक व्यक्तिलाई ५० हजार रुपैयाँ मूल्य बराबरको सामग्री हस्तान्तरण गरेर काम गर्नका लागि प्रोत्साहित गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंले बताउनुभयो । तालिम प्रदायक संस्थासँगको सहकार्यमा परिषद्ले विभिन्न समयमा तालिम दिनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Manoj bhandari

    March 16, 2023, 1:48 p.m.

    कृषिमा आधुनिकीकरण सहितको तालिम अनि बजार ब्यबस्थापन साथै सुरक्षित भन्डारण को ज्ञान दिने हो भने अझ प्रभावकारि हुन्छ कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया