बेनी-जोमसोम सडक खण्ड भाेलिदेखि दैनिक छ घण्टा बन्द हुने

 चैत २, २०७९ बिहीबार १४:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रवार भाेलिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले भाेलिदेखि चैत १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायातकाे आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । 

'चैते दशैँको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,' उहाँले भन्नुभयो 'पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।'

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने गाडीले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक गाडीको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । 

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधवारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म गाडी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो । 

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया