एन्फा महिला लिगमा वालिङकाे लगातार साताैं हार
माघ ६, २०८१ आइतबार
पर्वत – पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो ।
नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती शुरू गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो । याे कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उहाँले उल्लेख गर्नुभयो ।
बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि शहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको सुवेदीले बताउनुभयो । बाँझो जग्गालाई सदुपयोग गरी झन्डै दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उहाँले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गर्नुभयो ।
उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ । कोदोको नल झन्डै ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी चार सय रुपैयाँ कायम गरिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो । यो मूल्यअनुसार कोदोको कूल ८० हजार र नलको १६ हजार गरी नगरपालिकाले ९६ हजार रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।
बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताउनुभयो ।
स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताउनुभयो । यो कार्यक्रमबाट गाउँका झन्डै २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उहाँले जानकारी दिनुभयो ।
राज्यले प्रदान गरेको सःशर्त अनुदानलाई पालिकाले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्बर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको मेयर रामचन्द्र जोशीले बताउनुभयो । पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गर्नुभयो ।
कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालू आर्थिक वर्षदेखि यो कार्यक्रम शुरू गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।