पारदर्शी बन्दै वैदेशिक रोजगार प्रक्रिया : रोजगारदातालाई विभागको सिस्टममा ‘एक्सेस’

 चैत ३, २०७९ शुक्रबार १३:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गन्तव्य देशका रोजगारदातालाई वैदेशिक रोजगार विभागले आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली) मा ‘एक्सेस’ अर्थात् पहुँच दिएको छ ।

पहिले रोजगारदाताले नेपालबाट कामदारको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो । त्यो प्रक्रिया रोजगारदाताहरुको लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । यस्तै भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ ।

नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले पनि एफईआईएमएसमा रोजगारदातालाई प्रवेश दिनुपर्ने माग राख्दै आएका थिए । एफईआईएमएसमा रोजगारदाताहरुले आफूलाई नेपालबाट के कामको लागि कति जना श्रमिक चाहिए भनेर माग राख्नेछन् । त्यही अनुसार दूतावासले बाँकी प्रक्रिया अगाडि बढाउनेछ । विभागको यस सिस्टममा नेपालका म्यानपावर व्यवसायीहरुको पनि एक्सेस छ । कम्पनीहरुले पनि ती मागहरु सोझै हेर्न सक्नेछन् । 

यसले श्रमिक भर्ना प्रक्रियालाई सहज बनाउने विभागले जनाएको छ । माग प्रमाणीकरणसम्बन्धी थप प्रक्रियाबारे बुझ्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न रोजगारदाताहरुलाई विभागले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया