खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन : राष्ट्रपति पौडेल

 चैत ३, २०७९ शुक्रबार १६:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ । आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउनुभएको हो ।

राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्व कपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन । यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया