देशभरका सडकमा बाह्रै महिना गाडी चलाउन सक्ने गरी काम गर्छु : मन्त्री श्रेष्ठ

 चैत ३, २०७९ शुक्रबार १७:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताउनुभएको छ ।

शुक्रवार भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताउनुभएको हो । उहाँले सडक व्यवस्थित बनाउने अभियानअन्तर्गत नै भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद, खानेपानी निर्माण र तार भूमिगत गर्ने कामका कारण समस्या रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारकाे नयाँ रणनीतिक महत्त्वका राष्ट्रिय राजमार्ग र सडकहरूमा कतिपय ठेक्का भएका छन् । कतिपय ठेक्का हुन बाँकी छन् । ठेक्का भएर पनि काम नभएका आयोजनाहरू पनि रहेका छन् । ठेकेदारको ढिलाइ र जग्गा मुआब्जा विवादका कारण सडक कालोपत्र गर्न सकिएको छैन । अदालतको आदेश भएको ठाउँमा त्याेविरुद्ध सरकार जान सक्दैन । तर स्थानीयहरूको आफ्नै गुनासो छ । सडकको कालोपत्र सरकारले गराउँछ । अहिले भएका समस्याहरू समाधान गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने अन्तर्गत व्यवस्थित सडक बनाउनु सरकारको कर्तव्य हो ।’

मन्त्री श्रेष्ठले सरकारले चाँडै अदालत, अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताउनुभयो । उहाँले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भूमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने उल्लेख गर्नुभयाे । उहाँले काठमाण्डाै उपत्यका र उपत्यकाबाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिइएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सडक निर्माणमा कतिपय ठेकेदारको लापर्बाहीले गर्दा काम सम्पन्न नहुने तथा जग्गा मुआब्जा विवादका कारण सडक कालोपत्र गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भैँसेपाटी र बालाजु, जोरपाटी र मूलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया